लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढिरहेको छ। चालु आर्थिक बर्ष २०८१\०८२ को साउन १ गतेदेखि असोज ३० गतेसम्मको अवधिमा बागमती प्रदेशमा ७ हजार बढी मानिस डेंगी संक्रमणबाट पीडित भएका छन्।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमतीमा चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ७ हजार ३९३ जनामा डेंगी संक्रमण भएको छ।
प्रदेशका १३ वटै जिल्लामा डेंगीको प्रकोप फैलिएको मन्त्रालयले जनाएको छ।
तीन महिनाको तथ्यांक अनुसार सबैभन्दा धेरै असोज महिनामा डेंगु संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.खगेश्वर गेलालले जानकारी दिए। उनका अनुसार गत असोज महिनामा मात्रै ३ हजार ९९० जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
यसअघि भदौमा २ हजार १६२ जनामा डेंगी पुष्टि भएको थियो भने साउनमा ८ सय ४७ जना संक्रमित भएका थिए।
प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैधन्दा धेरै डेंगीका बिरामी फेला परेका छन्। काठमाडौँमा अहिलेसम्म २ हजार ६५० जनामा डेंगी संक्रमण भएको स्वास्थ्य मन्त्रालय बागमतीको तथ्यांक छ।
जसमा गत साउन महिनामा १५७ जनामा डेंगु संक्रमित भएका छन् भने भदौमा ७५१ जना संक्रमित भएका छन्। असोजमा १ हजार ७४२ जनामा डेंगी संक्रमित भएका मन्त्रालयको तथ्यांक छ।
यस्तै, चितवनमा १ हजार ८४६ जनामा डेंगी संक्रमण भएको छ। साउन महिनामा ३८९ जनामा डेंगी संक्रमित भएको चितवनमा भदौ महिनामा ७३७ र असोजमा ७२० जनामा डेंगीका बिरामी भेटिएका छन्।
यस्तै, मकवानपुरमा हालसम्म ९१२ जनामा डेंगु संक्रमण भएको छ भने धादिङमा ११४, ललितपुरमा ८३८, भक्तपुरमा ३५६, काभ्रेमा १४३, नुवाकोटमा ७१, दोलखामा २८, रामेछापमा १३, सिन्धुपाल्चोकमा ४९, सिन्धुलीमा ३७२ र रसुवामा १ जनामा डेंगु संक्रमण पुष्टि भएको प्रदेश स्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चालु आर्थिक वर्षको हालसम्मको अवधिमा डेंगीका कारण दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्ष २०८०र०८१ मा ६ जनाको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो। सो अवधिमा ११ हजार ९०६ जना डेंगी संक्रमित भएका मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए।
Shares

प्रतिक्रिया