गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीले खण्डहर बनाएको कुलेखानी-सिस्नेरी सडक अहिले पनि खण्डहरकै अवस्थामा छ।
हेटौँडालाई छोटो दुरीमा काठमाडौँ जोड्ने यो सडक गएको असोज १२ गते खुलेखानी नदीमा आएको बाढीले क्षतविच्छेद भएको थियो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने हेवी ज्यामिरे क्षेत्रमा सात सय मिटर र सिस्नेरी बजार क्षेत्रमा पाँच सय मिटर सडक पूर्ण रुपमा बगरमा परिणत भएको छ।
यो सडकखण्ड हुँदै हेटौँडा–काठमाडौँ आवतजावत गर्ने सवारी अहिले सिस्नेरीको बगरबाट गुड्ने गरेका छन्। हिउँदमा जसोजतो गुडे पनि बर्खाको बेला बगरबाट सवारी सञ्चालन गर्न पक्कै पनि सहज हुने छैन।

कुलेखानी जलाशयको पानी घटाउने क्रममा ड्यामबाट छाडिएको पानीले ठूलो बाढीको रुप लिँदा पुलसहितका सडक बगाएको थियो। आठ महिनाअघि बाढीले बगाएको सडक कहिले बन्ला ठेगान छैन।
जसको कारण यो सडक भएर यात्रा गर्ने यात्रु चिन्तामा छन्। स्थानीय बासिन्दा पनि यो सडकको काम बर्खा अघि नै सकिए हुन्थ्यो भन्ने चाहन्छन्। हिउँदमा खोलाको बगरबाटै सवारी गुडे पनि अब बर्खा लागेपछि सवारी नचल्ने पिरलो उनीहरुमा छ।
यता, बर्खा लाग्नु अघि नै यस सडकखण्ड निर्माणको काम सकेर सवारी आउजाउ गर्न सहज बनाउने भन्दै बागमती प्रदेश सरकारले दुईवटा प्याकेजमा काम गरिरहेको छ।
हेवी ज्यामिरे क्षेत्रको सात सय मिटर सडक मर्मत गर्न चार करोड ४५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बागमती प्रदेशको प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालयका प्रमुख देवनारायण प्रसाद यादवले जानकारी दिए।
उनका अनुसार दोस्रो प्याकेजमा सिस्नेरी बजार क्षेत्रको पाँच सय मिटर सडक निर्माणका लागि २ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ।

लाल जेभी निर्माण कम्पनीसँग ज्यामिरे क्षेत्रको सडक निर्माण कार्यको ठेक्का सम्झौता भएको हो। हालसम्मको अवस्थामा ४२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीका प्रतिनिधि इञ्जिनियर ऋषीराज पोखरेलले जानकारी दिए। उनका अनुसार आगामी दोस्रो सातातिर नै निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई सडक बुझाउने तयारी छ।
प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना कार्यालय मार्फत उक्त सडक निर्माणको ठेक्का आव्हान गरेर काम भैरहेको हो।
आउँदो बर्खामा डाइभर्सनको बाटोबाट हिँड्न नपर्नेगरी सडक निर्माणको काम भैरहेको कार्यालयका प्रमुख यादवले बताए। ‘खण्डहर बनेका दुवै सडक निर्माणको काम असार दोस्रो साता भित्र पूरा गर्ने लक्ष्यका साथ काम भैरहेको छ,’ नेपालखबरसँग उनले भने, ‘सिस्नेरी खण्डमा जाली लगाउने र ग्राभेल गर्ने काम हुने छ भने हेवी ज्यामिरे खण्डमा सडकको ट्र्याक निर्माण गर्ने काम भैरहेको छ।’
अहिले खोलाबाट डाइभर्सन गरेर हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सवारीसाधन सञ्चालन गरिएका छन्। प्रदेश सरकारले बाढीले क्षति पु¥याएको कुलेखानी ड्याममुनीको सिम खोलाको पुल भएको स्थानमा बेलिब्रिज हाल्ने कार्य पनि बर्खा अगाडि नै हुने गरी काम अघि बढाएको जनाएको छ।
त्यसका लागि यातायात पूर्वाधार निर्देशनालय मार्फत ठेक्का सम्भौता गरिएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केले जानकारी दिए।
मन्त्री मास्केका अनुसार आउँदो मनसुन सुरु हुनु अगावै हेटौँडा–काठमाडौँ आउजाउ गर्ने सडक सञ्चालनमा ल्याउने तयारीमा प्रदेश सरकार जुटेको छ।

विशेषगरी धेरै क्षति भएको हेवी–ज्यामिरे सडक क्षेत्र र सिस्नेरी बजार क्षेत्रको सडक निर्माणको कार्य छिटो सक्न मन्त्रालय र सम्बन्धित सरोकारवाला निकायहरु तदारुकताको साथ लागिपरेको मन्त्री मास्केको दाबी छ।
‘हामीले आउँदो बर्खा अगाडि नै सडक सूचारु गर्ने तयारीमा जुटेका छौं,’ आइतबार उक्त सडकखण्डको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले नेपालखबरसँग भने, ‘जसका लागि दुईवटा प्याकेजमा काम भइरहेको छ। हेवी ज्यामिरे क्षेत्रको काम आधा सकिने चरणमा छ भने सिस्नेरी बजार क्षेत्रको काम पनि छिट्टै सुरु हुन्छ। आउँदो मनसुनमा खोलाको बाटोबाट हिड्नु पर्दैन।’
कुलेखानीको बाढीले हेटौँडा–काठमाडौँ सडक खण्डमा करिब ३० करोड बढीको सडक संरचनामा क्षति पुगेको मन्त्रालयले जनाएको छ। जसमा हेटौँडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक खण्डमा करिब २० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ भने हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा ६ करोड रुपैँया बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ।

गत असोजको ११ र १२ गते परेको भारी वर्षाले कुलेखानी जलाशाय भरिएपछि ‘ओभर फ्लो’ रोक्न बाँधको ढोका खोल्दा सिर्जना भएको ठूलो बाढीले सिस्नेरी क्षेत्रको सडक बगरमा परिणत भएको थियो।
त्यतिबेला बाढीले ४० घर बगाएको थियो भने दुईदर्जन भन्दा बढी घर डुबानमा परेका थिए। बाढीले बगाउँदा ६ बालककाे मृत्यु भएकाे थियाे।
Shares

प्रतिक्रिया