हेटौँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बुधबार हेटौँडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित पूर्व-पश्चिम सडकखण्डमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुर्घटना भएको हो। हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा-९ की १८ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
दुर्घटनामा प्रदेश ३-०२-००७ प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँडा-४ कर्राका १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन्। उनको पछाडि बसिरहेकी एकताको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, दुई वटा मोटरसाइकल ठोक्किँदा घाइते भएकी एकता सोही दिशाबाट सिमेन्ट बोकेर नवलपरासीबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा समेत ठोक्किन पुगेकी थिइन्।
त्यस्तै, दुर्घटनामा अर्को मोटरसाइकलका चालक चितवनको इच्छाकामना गाउँपालिका-५ बदेलटारका २१ वर्षीय पुष्पलाल गुरुङ घाइते भएका छन्।
तीनै जनालाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। गम्भीर घाइते एकतालाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका-१४ का ३३ वर्षीय बद्री गडरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया