ad ad

समाज


पूर्वम्यादी मायाको हत्या : हात काटिएको आलो घाउले पक्राउ परे सशस्त्रका जवान

भारततिर भाग्दा भाग्दै समातिए
पूर्वम्यादी मायाको हत्या : हात काटिएको आलो घाउले पक्राउ परे सशस्त्रका जवान

पूर्वम्यादी मायाको हत्या अभियोगमा पक्राउ सशस्त्रका जवान। तस्बिर : गोकुल जोशी/नेपालखबर


गोकुल जोशी
मंसिर १८, २०७९ आइतबार १५:४, कञ्चनपुर

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या घटनाका आरोपी सशस्त्र प्रहरीका जवान २२ वर्षीय भरतराम कोलीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ। 

आइतबार बिहान करिब १० बजेतिर महेन्द्रनगरको बसपार्कबाट कोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

घटनास्थल बैतडी भएकाले पक्राउ परेका कोलीलाई बैतडी प्रहरीको जिम्मा लगाउन पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए।

पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा गत मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। 

त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

घाइते नेहाले कोलीको नाम किटान गरेपछि पीडीत परिवारले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको थियो।

घटनापछि फरार रहेका कोलीको खोजीका लागि जिल्ला प्रहरीले सबै जिल्लामा उनको हुलिया पत्राचार गरेको थियो। 

बैतडीमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। यता अन्य जिल्लका सीमानाकामा निगरानी पनि कडा पारिएको थियो।

प्रहरीको खोजी सूचीमा रहेका कोली यसबीचमै पटक पटक सामाजिक सञ्जालमा सक्रिय भइरहेका थिए। 

उनले प्रयोग गर्ने मोबाइल फोनको अन्तिम लोकेसन डडेल्धुरा आसपासको क्षेत्र देखाएको थियो। त्यसपछि मोबाइल ‘स्विच अफ’ गरेर उनी बेपत्ता भएका थिए।

प्रहरीको टाउको दुखाइ बनिरहेका कोली आइतबार कञ्चनपुरबाट पक्राउ परे। बैतडीको घटनापछि कञ्चनपुर प्रहरीले पनि सीमाक्षेत्रमा अपरिचित र शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको थियो।

आइतबार बिहान बसपार्क क्षेत्रमा आरोपी कोलीको हुलियासँग मिल्ने व्यक्ति देखा परे। सादा पोसाकका प्रहरीले उनलाई निगरानीमा राखे। 

बसपार्कमा हिँडिरहेका उनलाई रोकेर चेकजाँच गरे। प्रहरीले दायाँ हातमा आलो घाउ भेट्टायो। त्यसपछि उनीप्रति प्रहरीको शंका झनै बढ्यो।

प्रहरीले उनलाई केरकार गरे। बैतडी प्रहरीसँग समन्वयमा उनी फरार आरोपी कोली नै भएको एकीन गरियो। आरोपी कोली भारततर्फ भाग्न गड्डाचौकीतिर जाँदै गर्दा समातिएका थिए।

‘गड्डाचौकी भएर भारततिर जान खोजेका रहेछन्, हिँडिरहेको अवस्थामा शंका लागेर केरकार गर्दा आरोपी नै रहेको एकिन भयो,’ प्रहरी स्रोतले भन्यो। कोली घटनापछिको राति शिवनाथ गाउँपालिका–४ स्थित घरमै थिए। 

अर्को दिन उनी घरबाट हिँडे। त्यसपछि डडेल्धुरामा एक रात बिताएका उनी कैलालीको अत्तरियामा केही दिन बसे।

आइतबार बिहान गाडीबाट महेन्द्रनगर पुगेका कोली भारततिर भाग्ने प्रयासमा थिए। त्यही क्रममा प्रहरीको फन्दामा परे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .