समाज


भारतीय बुवा र भियतनामी आमाका छोरा कसरी बने ‘बिकिनी किलर’?

१९ वर्षको जेल जीवनपछि नेपाल छोडे शोभराजले
भारतीय बुवा र भियतनामी आमाका छोरा कसरी बने ‘बिकिनी किलर’?

नेपालबाट डिपोर्ट हुँदै गर्दा कतार एयरवेजको जहाजमा चार्ल्स शोभराज। तस्बिर : सामाजिक सञ्जाल


नेपालखबर
पुस ८, २०७९ शुक्रबार २१:१०, काठमाडौँ

केही दिनयता संसारको चासो एकजना नामुद हत्यारातर्फ एकोहोरिएको छ। 

नेपालमा लामो समय जेल सजाय काटेका फ्रान्सेली अपराधी चार्ल्स शोभराजलाई सर्वोच्च अदालतले बुधबार रिहा गर्ने आदेश दिएपछि संसारभरका मिडियाको ध्यान नेपालतर्फ आकर्षित भएको हो। 

पूरैजसो जीवन आफ्नै कुकर्मका कारण विभिन्न देशको जेलमा बिताएका शोभराजलाई संसारले अनेक उपनामले चिन्छ। ‘सिरियल किलर’, ‘सर्पेन्ट किलर’, ‘द स्प्लिटिङ किलर’ र ‘बिकिनी किलर’ उनले कमाएको कुख्याति हो।

एकपछि अर्को हत्याको शृंखला चलाएकाले उनलाई ‘सिरियल किलर’, थाइल्यान्डमा बिकिनी (महिला पहिरन)धारीहरुको हत्या गरेकाले ‘बिकिनी किलर’ र प्रहरीहरुबाट जोगिन लुक्नसक्ने सर्पको जस्तो क्षमता वा विश्वासमा लिएर घात गर्ने गरेकाले ‘सर्पेन्ट किलर’को रुपमा चिनिन्छ। 

कयौँ अपराधमा जोडिएका उनै ७८ वर्षीय फ्रान्सेली नागरिक शुक्रबार साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै पेरिसका लागि उडेका छन्। उनी शनिबार बिहान ६ बजेर ३५ मिनेटमा कतारको जहाजबाट पेरिसमा उत्रिने तालिका छ।

शोभराजबारे धेरै फिल्म, डकुमेन्ट्री बनेका छन्। उनीबारे थोमस थम्प्सनले सन् १९७९ मा 'सर्पेन्टाइन', रिचार्ड नेभिली र जुलि क्लार्कले सन् १९८० मा 'द लाइफ एन्ड क्राइम्स अफ चार्ल्स शोभराज', रिडर्स डाइजेस्ट कलेक्सन ग्रेट केसेस अफ इन्टरपोल (१९८२) मा नोइल बार्बरले द बिकिनी मर्डरर्स लेखेका छान्।

सन् २०१५ मा उनीबारे मेँ और चार्ल्स नामक हिन्दी फिल्म बनेको थियो। त्यस्तै आठ भागको बीबीसीले मिनिसिरिज द सर्पेन्ट सन् २०२१ जनवरीमा बेलायतमा प्रसारण गरेको थियो। यो सन् २०२१ अप्रिलमा नेटफ्लिक्समा पनि प्रसारण भएको थियो। 

लथालिंग परिवार, सानैदेखि अपराध
७८ वर्षका शोभराजको जन्म भियतनामको साइगोनमा भएको थियो। जुन फ्रान्सेली प्रशासनिक क्षेत्र थियो। उनी सन् १९४४ अप्रिल ६ मा भारतीय व्यवसायी बुबा र भियतनामी पसल सहयोगी आमाको कोखबाट जन्मिएका थिए। यद्यपि बुबा र आमाले विवाह नगरेकोले उनले पितृत्व पाउन सकेनन्।  

हुर्किँदै जाँदा उनी न आमाको भए, न बुबाको। बुबाले छाडिदिएपछि शोभराजको आमाले एक फ्रान्सेली सैनिकसँग विवाह गरिन्, उनीहरुसँगै उनी पनि फ्रान्स पुगे। तर आमा र नयाँ बुबाका अन्य सन्तानका कारण आफू बेवास्तामा परेको अनुभव गर्नथाले। उनी परिवारसँगै दक्षिण–पूर्वी एसिया र फ्रान्सको आवतजावत गर्नथाले।  

उनका बारे लेखिएका धेरै जीवनगाथा (बायोग्राफी) र समाचारहरुका अनुसार शोभराज बुबाले छाडिदिएपछि निकै आक्रोशित थिए भने आमाको नयाँ परिवारसँग पनि कहिल्यै सँगै बस्न सकेनन्। बरु, सानै उमेरमा ससाना अपराध गर्नथाले। त्योसँगै किशोरवयदेखि नै उनको जेल जाने र आउने क्रम सुरु भएको थियो। 

चोरीमा पहिलो पटक जेल, झण्डै दर्जन देशका ‘मोस्ट वान्टेड’
शोभराजले जीवनभर अपराधमै बिताए। पहिलोपटक उनी चोरी गरेको कसुरमा जेल गएका थिए। सन् १९६३ मा पेरिसको जेलमा उनी यही कसुरमा पुगेका थिए। 

समय बित्दै जाँदा उनको आपराधिक जीवन निकै सक्रिय रह्यो। झण्डै दर्जन देशका ‘मोस्ट वान्टेड’ भए। फ्रान्स, ग्रिस, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, थाइल्यान्ड र मलेसियालगायतका देशहरुमा उनको अपराध चलिरह्यो। 

सन् १९७० को दशकतिर दक्षिण एसियामा मौलाएको हिप्पी ट्रेलमा यात्रा गर्ने पश्चिमा पर्यटकलाई उनले आफ्नो आपराधिक निशाना बनाएका थिए। पर्यटकहरुलाई लुटपाटदेखि हत्या गर्नेसम्मका अपराध उनीबाट भए। 

सन् १९७६ देखि १९९७ सम्म उनले भारतमा जेलजीवन काटेका थिए भने सन् २००३ मा नेपाल गएको बेला पुनः जेल परेका थिए। त्यसयता १९ वर्ष जेलमा कोचिएका उनी सर्वोच्च अदालतको आदेशसँगै रिहा भएका छन्। 

जेलबाट उम्किन अनेक हत्कण्डा 
पटक–पटक जेल परेका शोभराज सजिलै त्यहाँबाट उम्किन्थे पनि। सन् १९७० मा फ्रान्समा पक्राउ पर्नबाट बच्न उनी झूठा कागजात बनाएर एसिया हानिएका थिए। भारत आएका उनलाई नयाँ दिल्लीको होटल अशोकामा एक गहना व्यवसायीमाथि लुटपाटको प्रयास गरेको आरोपमा पक्राउ गरिएको थियो। 

तर बिरामी भएको बहाना गरी भाग्न सफल भएका थिए। फेरि लगत्तै उनी पक्राउ परेका थिए भने बुबासँग धरौटी रकम सापटी लिएर उम्किन सफल भएका थिए। त्यसपछि काबुल हानिएका उनी त्यहाँ पनि पक्राउ परे। 

पहिलेजस्तै बिरामी भएको नाटक गरी त्यहाँबाट पनि उम्किए भने त्यसपछि इरान हानिएका थिए। उनले चन्ताल कम्पाग्नोन नामक एक युवतीसँग विवाह गरेका थिए। दुवै जना हिप्पी ट्रेलका पर्यटकलाई लुट्ने गर्थे। त्यसपछिका २ वर्ष भागेरै बिताएका उनले सो क्रममा १० भन्दा बढी चोरेका पासपोर्ट प्रयोग गरेका थिए। एथेन्समा पक्राउ परेका उनलाई ग्रिस प्रहरीले टर्की पठाएको थियो जहाँ उनले १८ वर्षको जेल सजाय पाएका थिए। 

पक्राउ पर्नु र छुट्नु उनको बानीजस्तै भएको थियो। सन् १९७६ मा भारतमा विद्यार्थीलाई पोइजन पिल्स खुवाएको आरोपमा शोभराज पक्राउ परेका थिए। सन् १९८६ मार्चमा उनको जेलजीवनको दशौँ वर्ष चलिरहेको थियो। 

शोभराजले जेलमै उनका गार्ड र अन्य केदी साथीहरुका लागि एक भव्य पार्टीको आयोजना गरे। उनीहरुलाई औषधिले लठ्याएर जेलबाट भागेका थिए। पछि उनी फेरि पक्राउ परेका थिए। सोही कारण उनको जेलजीवन १० वर्ष लम्बिएको थियो। पछि ५२ वर्षको उमेरमा सन् १९९७ फेब्रुअरी १७ मा पर्याप्त प्रमाण नभेटिएको, प्रत्यक्षदर्शी नभएकोलगायतको कारण देखाउँदै जेलमुक्त गरिएको थियो। त्यसपछि उनी फ्रान्स फर्किएका थिए। फेरि नेपाल पुगेर पक्राउ परेका थिए। 

आकर्षक व्यक्तित्वमा छद्म अपराधको शृंखला 
आकर्षक शरीर भएका शोभराज निकै धूर्त थिए। यसैलाई प्रयोग गरेर उनले आफ्नो आपराधिक करिअर विस्तार गरे। बदनाम कमाउन उनले सेलिब्रिटी स्टाटसको भरपूर प्रयोग गरेको बताइन्छ। 

जहाँ गए पनि अपराध गरिहाल्ने प्रवृत्तिका उनी प्रहरीबाट भाग्न आफूलाई कहिले गरगहना व्यापारी बनाउँथे त कहिले ड्रग डिलर। पर्यटकलाई उनी आफ्नो ‘आत्मीय’ साथी बनाउँदै ठगी गर्थे। एजेन्सीहरुका अनुसार उनले भारतीय अजय चौधरीलाई आफ्नो दाहिने हात बनाएका थिए। जसबाट सन् १९७५ मा पहिलोपटक हत्या भएको थियो। चौधरी र उनले मिलेर अन्य धेरैलाई हत्यामा संलग्न गराएका थिए। 

शोभराज ड्रग ओभरडोज गराई हत्या गराउँथे। उनीहरुले अमेरिकाको सियाटलकी एक युवतीलाई पहिलो निशाना बनाएका थिए। टेरेसा नल्टन नामकी ती युवती थाइल्यान्डको एक स्विमिङ पुलमा बिकिनी पहिरनसहित डुबिरहेको अवस्थामा फेला परेकी थिइन्। सुरुमा यसलाई दुर्घटनाको रुपमा हेरिए पनि पोस्टमार्टमपछि हत्या भएको पुष्टि भएको थियो। 

त्यसपछि एक टर्किश नागरिक उनको दोस्रो निशानामा परेका थिए, जसलाई पताया रिसोर्ट जाने सडकमा जलाइएको थियो। जहाँ शोभराज र उनका साथी बस्थे। त्यस्तै दुई डच विद्यार्थीलाई उनीहरुले थाईल्यान्ड बोलाएर विष लगाएका थिए। पछि आफैँले उपचार गरी आफ्नो विश्वासमा लिएका थिए। पछि उनीहरुको पनि हत्या गरिएको थियो। एक जना झुण्डिएको र अर्कोलाई जलाइएको थियो। यो घटना सन् १९७५ डिसेम्बर १६ मा भएको थियो।

त्यसपछि टर्किश नागरिकको केटी साथी पहिलो हत्याजस्तै बिकिनी पहिरनमा डुबिरहेको अवस्थामा मृत भेटिएकी थिइन्। एउटै हत्या प्रकृतिका कारण शोभराजले ‘बिकिनी किलर’को उपनाम पाएका थिए। 

एजेन्सीहरुका अनुसार ड्रग ओभरडोज, विषको प्रयोग, जलाउने, झुण्ड्याउने उनको हत्या गर्ने शैली थियो। यसरी उनले कम्तीमा पनि २० जनाको हत्या गरेको बताइन्छ। नेपालमा उनले क्यानडेली पर्यटक लाउरेन्ट क्यारायरसहित दुई जनाको हत्या गरेको अभियोग रहेको थियो। 
(विभिन्न विदेशी एजेन्सी, विकिपेडियालगायतको सहयोगमा)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad