समाज


प्रहरी कार्यालय पुग्दा पनि नटुटेको विवाहेतर सम्बन्धले लियो प्रमिलाको ज्यान

कुमारले छाड्न पनि सकेनन्, बिहे गर्न पनि मानेनन्
प्रहरी कार्यालय पुग्दा पनि नटुटेको विवाहेतर सम्बन्धले लियो प्रमिलाको ज्यान

उजिर कार्की
माघ २९, २०८० सोमबार १९:४, काठमाडौँ

काठमाडौँको गौशालास्थित होटलमा महिलाको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ। गत शुक्रबार बेलुका काठमाडौँ महानगरपालिका ९ गौशालाको रुन्चेडाँडास्थित सिरहा धनुषा होटल एन्ड लजमा एक महिलाको हत्या भएको थियो। 

हत्या भएकी महिलाको तत्काल पहिचान हुन सकेको थिएन। अनुसन्धान गर्दै जाँदा हत्या भएकी महिला रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ घर भई हाल सिनामंगल भिमसेनगोलामा बस्ने प्रमिला दमाई भएको खुलेको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रमिलाको हत्या गरेको आरोपमा सोमबार दोलखाको बैतेश्वर गाउँपालिका ७ घर भई हाल काठमाडौँ बस्दै आएका ३८ वर्षीय कुमार श्रेष्ठलाई सार्वजनिक गरेको हो। 

उनले नै प्रमिलाको हत्या गरेको र हत्याको कारण विवाहेतर सम्बन्ध रहेको खुलेको छ। 

कन्ट्रोलरुमदेखि हत्यारासम्म यसरी पुग्यो प्रहरी
गत शनिबार अपराह्न गौशालाको रुन्चेडाँडास्थित सिरहा धनुषा होटल एन्ड लजमा एक अपरिचित महिलाको शव रहेको खबर प्रहरीको १०० नम्बरमा आयो।  

खबर पाएलगत्तै जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाबाट टोली घटनास्थलतर्फ खटियो। 

भुइँतले घरको पश्चिमतर्फको कोठा नम्बर १०८ मा एक जना अधबैँसे महिला मृत अवस्थामा थिइन्। कोठाको खाटमा रहेको महिलाको शव घाँटीमा नाइलनको डोरीले कसिएको र अनुहार रगताम्मे थियो। 

घटनास्थलमा शवबाहेक मृतकको पहिचान खुल्ने कुनै पनि कागजपत्र र मोबाइल फोन समेत फेला परेन। 

त्यसपछि प्रहरीले होटलको इन्ट्री बुक हेर्‍यो। तर त्यहाँ पनि वास्तविक नाम उल्लेख नभएकाले शव सनाखत हुन सकेन।  

प्रहरीले विभिन्न स्थानका सीसी क्यामेरा र भौतिक रुपमा सोधीखोजी गर्दै पत्ता लगायो मृतक महिला रामेछापको लिखु तामाकोसी गाउँपालिका ५ की प्रमिला दमाई रहिछन्। 

प्रमिला भिमसेनगोलामा श्रीमान् नसे दमाईसँग डेरा गरी बस्दै आएको खुल्यो। 

होटलको १०८ नम्बर कोठा माघ २४ गते र २६ गते नक्कली नाममा बुक गरेको खुल्यो। 

त्यसपछि प्रहरीले उनका श्रीमान् नसे दमाई र बहिनी शर्मिला दमाईलाई घटना स्थलमा लगेर शवको सनाखत गरायो। 

मृतकको पहिचान भएपछि प्रहरीले उनीहरुसँगै शंकास्पद व्यक्तिबारे पनि जानकारी लिइसकेको थियो। थप पुष्टि गर्न सीसीटिभी हेर्‍यो। सीसीटीभीमा प्रमिला माघ २६ गते एक पुरुषसँगै होटलमा गएको देखियो।

तर मास्क र टोपी लगाएकाले ती पुरुषको यकिन पहिचान भने हुन सकेन। प्रमिलाको मोबाइल नम्बरका आधारमा प्रहरीले फोन कनेक्सन र परिवारले दिएको सूचनाका आधारमा ती पुरुषको पहिचान खुल्यो। उनी थिए– कुमार श्रेष्ठ।

प्रहरी कार्यालयमै पुगेको थियो विवाद
व्यक्तिको पहिचान भएसँगै प्रहरीलाई अन्य कुरा खुलाउन मेहनत गर्नु परेन। प्रमिला र कुमारको सम्बन्धले दुई परिवारबीच पटकपटक लफडा भएको थियो। 

प्रमिला र कुमार विगत एक वर्षदेखि प्रेम सम्बन्धमा थिए। प्रमिला र कुमार दुवैले पहिल्यै विवाह गरेका थिए। उनीहरुका आआफ्ना छोराछोरी पनि थिए। 

तर यी दुईको सम्बन्धले परिवारमा भने पटकपटक लफडा भएको थियो। २०८० मंसिर ७ गते उनीहरुको सम्बन्धको विवाद रामेछापको इलाका प्रहरी कार्यालय धोबीडाँडामा पुगेको थियो। 

प्रमिलाको घरमा कुमार गएर बसेको थाहा पाएपछि उनका श्रीमानले कुमारलाई पक्राउ गराए। पछि मिलापत्र गराएर प्रहरीले छाडेको थियो। 

यी तथ्य फेला परेसँगै कुमारको खोजी प्रहरीले थालेको थियो। दोलखामा उनको घरदेखि काठमाडौँको डेरासम्म प्रहरी पुग्यो। तर कुमारलाई फेला पार्न सकेन। 

तर आइतबार खोजी गर्नेक्रममा उनलाई बुद्धनगरको लक्ष्मी चोकमा फेला पार्‍यो र पक्राउ गर्‍यो। 

रेडियोबाट चिनजानदेखि हत्यासम्म 
प्रमिला र कुमारको चिनजान भने रेडियो कार्यक्रममार्फत भएको थियो। २०७९ मंसिरमा स्थानीय रेडियोको साथी बनाउने कार्यक्रमले प्रमिला र कुमारको चिनजान गराएको थियो। त्यही चिनजानपछि उनीहरु एकअर्काका साथी बने। 

साथी बन्ने क्रममै उनीहरुलाई थाहा थियो एकअर्काको विवाह भएको र सन्तान समेत रहेको। तर उनीहरुको साथीको सम्बन्ध प्रेमी–प्रेमिकामा बदलियो। निरन्तर कुराकानी गर्न थाले। 

यही क्रममा कुमार श्रेष्ठ प्रमिला दमाईलाई भेट्न २०७९ सालको पुसमा उनको घरमै पुगे। प्रमिलाले श्रीमान् नसे दमाई काठमाडौँ गएको मौकामा कुमारलाई बोलाएकी थिइन्। 

काका बनेर कुमार प्रमिलाको घरमै बसे एक हप्तासम्म। त्यसपछि पनि बेलाबेला उनी प्रमिलालाई भेट्न जान थाले। जुन कुरा श्रीमान् नसेले थाहा पाए। पटकपटक आएको थाहा पाएपछि उनले शंका गरे। 

नसेले उनीहरुविरुद्ध प्रहरी कार्यालयमा उजुरी गरे। इलाका प्रहरी कार्यालयले दुवै पक्षलाई झिकाएर छलफल गरायो। 

छलफलमा उप्रान्त पारिवारिक सम्बन्धमा खलल नपुर्‍याउने कागज गरेर छाडियो। 

सहमतिपछि कुमारलाई उनकी श्रीमती सविना श्रेष्ठले र प्रमिलालाई उनका श्रीमान् नसेले जिम्मा लिएर फर्किएका थिए। 

२०८० मंसिरमा नसे दमाई श्रीमती र छोरो लिएर काठमाडौँ आए। काठमाडौँमा उनी भिमसेनगोलास्थित सुकुम्बासी टोलमा बस्दै आएका थिए। 

प्रमिला काठमाडौँ आएको कुमारले थाहा पाए। कुमार पनि पुसमा काठमाडौँ नै आए। बुद्धनगरमा छोरीसँग डेरामा बस्न थाले। 

त्यसपछि प्रमिला घर छाडेर हिँडिन्। कुमार र प्रमिला भक्तपुरको लोकन्थलीमा अलग्गै डेरा लिएरै झण्डै एक महिना बसे। 

पुस २८ गते कुमार घरायसी कामले दोलखा फर्किए। कुमार दोलखा गएपछि प्रमिला आफ्नै श्रीमानसँग फर्किइन्। 

तर माघ ४ गते कुमार दोलखाबाट काठमाडौँ फर्किए र प्रमिलालाई भेटे। 

माघ २४ गते दिउँसो २ बजे उनीहरु त्यही सिराहा–धनुषा होटल एन्ड लजको कोठा नम्बर १०८ मा बसेका थिए। तर त्यसदिन प्रमिलाले कुमारलाई सधैँ यसरी बाहिर बसेर हुँदैन, अब विवाह गरेर भित्र्याऊ भनिन्। 

तर घरमा श्रीमती हुँदाहुँदै भित्र्याउने नमिल्ने भन्दै कुमार मानेनन्। त्यो दिन होटलमै चर्काचर्की परेर उनीहरु आ–आफ्नो बाटो लागे। 

फेरि २६ गते बेलुका ६ बजे उनीहरु पुनः त्यही होटलमा कोठा लिएर बसे। प्रमिलाले विवाह गर्न भन्न थालिन्, कुमार इन्कार गरिरहे। त्यही क्रममा उनीहरुको कुटाकुट नै चल्यो। 

हातपात हुने क्रममा कुमारले प्रमिलाको कन्चटमा मुक्का प्रहार गरे। प्रमिला ढलिन्। प्रमिलाले त्यसपछि होहल्ला गरेर मान्छे बोलाउने डरले हतारहतार नाइलनको डोरीले घाँटी कसेर हत्या गरेको कुमारले प्रहरी समक्ष बताएका छन्। 

तर उनले पहिल्यै डोरी लिएर जानुले भने उनको हत्या योजनाबद्ध नै रहेको देखिने प्रहरीको भनाइ छ।

बेलुका साढे ७ बजेतिर कुमार प्रमिलाको पनि मोबाइल लिएर गेस्टहाउसबाट फरार भएका थिए। 

दुई दिनदेखि फरार भएका कुमारलाई प्रहरीले आइतबार दिउँसो साढे २ बजेतिर बुद्धनगरस्थित लक्ष्मी चोकबाट पक्राउ गरेको काठमाडौँ परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए। 

कुमारको साथबाट प्रहरीले प्रमिलाको मोबाइल, होटलमा झगडा हुँदा च्यातिएको टिसर्ट लगायत बरामद गरेको छ। प्रहरी वृत्त गौशालाले अदालतबाट म्याद लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .