दसैँको माहोल थियो। सबै जना वर्षदिनको मुख्य चाडमा रमाइरहेका थिए। मेरो मोबाइलमा फोनको घण्टी बज्यो।
विदुर दाइ (विदुर खरेल)को फोन रहेछ। उठाएँ।
‘दाइ नमस्कार!’
फोनकल रिसिभ गर्दै मैले औपचारिकता दर्साएँ।
‘तपाईँले यता आउँछु भन्नु भएको होइन?,’ फोन उठाउनासाथ उनले प्रश्न गरे।
असोजको दोस्रो साता काठमाडौँमा भेट हुँदा उनले ‘दसैँमा घर आएका बेला मेरो कृषि फार्ममा आउनु है,’ भनेका थिए। मैले उनको आग्रहलाई स्वीकार्दै भनेको थिएँ, ‘हुन्छ दाइ म आउँछु!’
‘दसैँको रमाइलोमा मैले त झण्डै बिर्सेछु। म आइहालेँ दाइ!’ मैले फोन राखेँ।
दसैँको नवमीको दिन। दिउँसो चार बज्नै लागेको थियो। म मोटरसाइकल स्टार्ट गरेर घुर्कौलीतिर अघि बढेँ।
सर्लाहीको हरिवन-६ घुर्कौली (रामनगरेटोल)मा विदुर खरेलको कृषि फार्म छ। हरिवन बजारस्थित पूर्वपश्चिम राजमार्गबाट दक्षिण झण्डै ५ किलोमिटर कालोपत्रे सडक पार गरेपछि खरेलको कृषि फार्ममा पुगिन्छ।

जहाँ सबा बिघा जमिनमा ड्रागन फ्रुटको खेती छ भने १० कठ्ठामा अम्बाको बगैँचा। नजिकै छ- ३६ वटा भैँसी पालिएको लम्बेतान गोठ। जसमा दूध दिँदै गरेका, व्याउने बेला भएका भैँसी र तिनका पाडापाडी उघ्राइ रहेका छन्। भैँसी र पाडापाडीलाई खुराकको लागि अलिक पर्तिर छ- एक बिघा जमिनमा घाँस खेती।
खरेलको ड्रागन फ्रुट बगैँचाकै छेउमै माछा पोखरी पनि छ। जहाँ माछा खेलिरहेका छन्।
मध्य दसैँमा पनि खरेल आफ्नै कृषि फार्ममा व्यस्त देखिन्थे।
‘भाउजू र नानीहरु दसैँ मान्न यता आउनु भएन?,’ कुराकानीको सुरुवात गर्दै मैले विदुर दाइसँग जिज्ञासा राखेँ।
‘उनीहरू उतै (काठमाडौँमा) छन्,’ खरेलको जवाफ थियो।
विदुर खरेलले झण्डै ४० वर्ष कम्युनिस्ट राजनीतिमा बिताए। किशोरावस्थादेखि नै तत्कालीन नेकपा (चौम) को विद्यार्थी मोर्चाबाट वामपन्थी राजनीति सुरु गरेका उनले पछि राजनीतिक जीवनको लामो समय किसान मोर्चामा बिताए।
सक्रिय राजनीतिमा रहँदा उनी सर्लाही पार्टीको इन्चार्ज र सेक्रेटरी भए। माओवादी निकट अखिल नेपाल किसान महासंघको महासचिवको जिम्मेवारीमा रहेर काम गरे।
मोहन वैद्यले प्रचण्डसँग मोहभंग गरेर नयाँ पार्टी गठन गर्दा खरेल प्रचण्ड र नारायणकाजीलाई छाडेर वैद्यतिर लागे। वैद्यको पार्टीका धेरै नेता फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किए। तर, त्यतिबेला भने खरेलले वैद्यलाई पनि छाडिदिए।
त्यसपछि उनी विश्वभक्त दुलाल (आहूति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा आवद्ध भए। अहिले पनि उनको वैचारिक निकटता आहूति नेतृत्वकै पार्टीमा छ। तर, उनी अहिले पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन्।
उनले भैँसी फार्म सुरु गरेको झण्डै १० वर्ष भयो। ड्रागन फ्रुट र अम्बाको बगैँचा भने उनले दुई वर्ष अघिबाट मात्रै सुरु गरेका हुन्। त्यसयता उनी सक्रिय राजनीतिमा छैनन्।
उनको बगैँचामा ११ सयवटा सिमेन्टका पिल्लरमा ४४ सयवटा ड्रागन फ्रुटका बिरुवा हुर्किरहेका छन्। दुई वर्षअघि मात्रै उनले झण्डै ४० लाख लगानी गरेर सुरु गरेको ड्रागन फ्रुट खेती यतिबेला रहर लाग्दो देखिन थालेको छ।
१० कठ्ठा जमिनमा लगाइएको पाँचसय वटा बोटमा यतिबेला लटरम्ब अम्बा फलेका छन्।

‘ड्रागनले रोपेको तीन वर्षमा मात्रै राम्ररी फल दिन्छ भन्ने सुनेको थिएँ,’ खरेलले खुसी हुँदै भने, ‘तर मेरो बगैँचामा ६ महिनामै ड्रागन फल्यो।’
रोपेको ६ महिनामै उनको बगैँचामा झण्डै दुईसय किलो जति ड्रागन फलेको थियो। चालु सिजनमा उनले २७ सय किलो ड्रागन फ्रुट र तीन हजार किलो अम्बा बजारमा पठाइसकेका छन्।
‘ड्रागन प्रतिकिलो न्यूनतम ३७५ र अम्बा एकसय पचासदेखि दुईसय रुपैयाँ सम्ममा बिक्री भयो,’ ड्रागन र अम्बा बेचेर भएको आम्दानीको हिसाब निकाल्दै खरेलले भने, ‘यो सिजनमा अझै झण्डै १५ सय किलो ड्रागन र तीन हजार किलो अम्बा उत्पादन हुन्छ भन्ने मेरो अनुमान छ।’
खरेलको बगैँचामा फलेको ड्रागन र अम्बाको मुख्य बजार काठमाडौँ हो।
खरेलको भैँसी गोठमा अहिले १४ वटा लैना भैँसी छन्। तिनले बिहान-बेलुका गरेर दैनिक करिब ८० देखि ९० लिटरसम्म दूध दिन्छन्। खरेलले उत्पादन गरेको भैँसीको दूध स्थानीय बजारमा प्रतिलिटर ९५ रुपैयाँको दरले बिक्री हुने गरेको छ।

खरेल आफैँ पनि कृषि फार्ममा बिहानदेखि साँझसम्म काम गर्छन्। उनीबाहेक उनको फार्ममा अरु ७ जनाले दैनिक काम गर्छन्। भैँसीको गोबरबाट उनले गँड्यौली मल पनि उत्पादन गर्दै आएका छन्। गँड्यौली मल प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुन्छ।
‘गरे हुने रहेछ,’ कृषि कर्मबाट सन्तुष्ट देखिएका खरेलले भने, ‘ड्रागन र अम्बाबाट मात्रै अर्को वर्षदेखि खर्च कटाएर वर्षिक ५० लाख आम्दानी हुने अपेक्षा छ।’
गत वर्ष उनले ड्रागन बगैँचामा अन्तरबालीको रुपमा सयपत्री फूल लगाएका थिए।
गएको तिहारको बेला सयपत्री फूल बिक्रीबाट उनले झण्डै सात लाख रुपैयाँ आम्दानी गरे। उत्पादित अधिकांश फूल काठमाडौँ गएको थियो। तर, यस वर्ष भने उनले फूलको ठाउँमा अन्तरबालीको रुपमा भैँसीको लागि घाँस हुर्काएका छन्।
‘बारीबाट घाँस आउँछ, घाँस भैँसीले खान्छ, भैँसीले गोबर दिन्छ, त्यो गोबर गँड्यौलाले खान्छ। गँड्यौलाले बनाएको कम्पोस्ट मल ड्रागन र अम्बाको बगैँचामा लगेर हाल्ने गरेको छु,’ खरेलले आफ्नो कृषि फार्मभित्रको पारिस्थितिकीय चक्रको वर्णन गरे।
उनको बगैँचामा १२ जातका ड्रागन फ्रुटका बिरुवा छन्। सेतो जातका तीन थरी छन्। बाँकी नौ थरी रातो जातका।
उनले मलेसियन रातो र भियतनामी रातोसहित नेपाल सरकारले परीक्षणको लागि सिफारिस गरेका ६ भेराइटिका ड्रागन फ्रुटका बिरुवा पनि आफ्नो बगैँचामा हुर्काइरहेका छन्। प्युठानबाट ल्याएको एउटा फरक जातको ड्रागन फ्रुट पनि उनको बगैँचामा फल्न ठिक्क परेको छ।

‘यो डागनको फल्ने प्रकृतिको विषयमा म आफैँ पनि अध्ययनमै छु,’ उनले भने, ‘यी बोटले गएको असारबाट फल दिन थालेका हुन्। अहिलेसम्म चार लट बजार पठाएँ। आगामी मंसिरसम्म थप अब दुईलट ड्रागन बजारमा जाने मेरो अनुमान छ।’
गत वर्ष झण्डै दुई दर्जन जति बोटमा मात्रै फल लागेको थियो। यो वर्ष भने सबै बोटमा धेरथोर फल लागेको उनले सुनाए। ‘एउटा बोटमा दुईदेखि पाँचवटासम्म फल लागेको छ,’ उनले भने।
पूर्ण क्षमतामा फल्न थालेपछि एउटा पिल्लर बराबर वर्षमा न्युनतम १० किलो ड्रागन फल्ने अपेक्षा उनले गरेका छन्। तर, राम्ररी मेहनत गरेका किसानले एउटै पिल्लरमा वर्षमा ४० देखि ५० किलोसम्म ड्रागन फलाएको उनले सुनेका छन्।

‘ड्रागनको विषयमा जानकारी राख्ने केही किसानले मेरो बगैँचाको निरीक्षणको क्रममा ‘यो बगैँचामा पनि एउटा पिल्लर बराबर ४० किलोसम्म फल फल्छ’ भनेका छन्,’ खरेलले भने, ‘ड्रागनको हुकाई र बढाई हेर्दा मलाई पनि त्यति फल्ला जस्तै लागेको छ।’
धेरैले अहिले पनि ड्रागनलाई महँगो मान्छन्। पैसावालले मात्रै खाने फल ठान्छन्। तर विदुर भने यो भनाई अहिले यथार्त नभएको दाबी गर्छन्। ‘अहिले त्यस्तो अवस्था छैन,’ उनले भने, ‘आजभोलि धेरै किसानले यसको खेती गर्न थालेकाले ड्रागनको मूल्य पहिला जस्ताे महँगाे छैन। सर्वसाधारणले पनि किन्न सक्ने गरी घटेको छ।’
सुरुमा खरेलले ड्रागन फ्रुटको खेती यूट्युवमा हेरेका हुन्। त्यहाँ हेर्दा उनी ‘यस्तै गरी खेती गर्न पाए हुन्थ्यो’ भनेर कल्पिन्थे। जुन कल्पना केही वर्षमै उनले यथार्थमा परिणत गरेका छन्।

खरेलले कुनै किटनाशक बिषादी र रासायनिक मलको प्रयोगबिनै ड्रागन उत्पादन गर्ने सोच राखेका छन्। ‘अहिलेसम्म मैले यहाँ प्रांगारिक मलमात्रै प्रयोग गरिरहेको छु। रासायनिक मल र कुनै पनि विषादी प्रयोग गरेको छैन,’ खरेलले भने।
उनी मर्निङ वाक गर्दा पनि ड्रागन र अम्बाको बगैँचामै गर्छन्। ड्रागन र अम्बा खेतीमा उनले सिँचाइको लागि थोपा सिंचाइ प्रणाली अपनाएका छन्।
अम्बामा सोचेको भन्दा धेरै फाइदा
दुई वर्षको अनुभवले अम्बामा जति फाइदा अरु खेतीमा हुँदैन भन्ने उनलाई लाग्न थालेको छ।
‘मैले १० कठ्ठा अम्बा बगैँचामा गरेको लगानी त गएको बर्खाको सिजनमा बेचेको अम्बाले नै उठाइसक्यो,’ खरेलले भने, ‘अब यहाँ जति पनि अम्बा उत्पादन हुन्छ, त्यो सबै लगानी कटाएर बचेको नाफा हो।’

गत वर्ष उनले परीक्षणको रुपमा ड्रागन बगैँचामा फर्सीको मुन्टा पनि लगाएका थिए। तर त्यसले ड्रागन फ्रुटलाई असर गर्ने देखेपछि यस वर्ष उनले त्यो हटाएका छन्।
उनको ड्रागन बगैँचामा अहिले अन्तरबालीको रुपमा भैँसीले खाने घाँस हुर्किरहेको छ। जुन घाँस खाएका भैँसीले सोचेभन्दा धेरै दूध दिइरहेका छन्। पाडापाडी सप्रिएका छन्।

ड्रागन फ्रुट बगैँचामा गफिने क्रममा मैले उनलाई सोधेँ, ‘समाज परिवर्तन गर्न भनेर जीवनका उर्जाशील चार दशक कम्युनिस्ट राजनीतिमा बिताउनु भयो, आजभोलि राजनीति छाडेर किन यता लाग्नु भयो?’
मेरो प्रश्नको जबाफमा उनले भने, ‘हामी हिँड्दा हिँड्दै कम्युनिष्ट पार्टी नै सकियो। विगतमा नेपाललाई नै फेर्नुपर्छ भनेर हिँडिएकाे थियाे। क्रान्तिकारी भूमिसुधारको नारा हामीले खुबै लगायौँ। तर अहिले लाग्छ, हामीले त्यसको फेदटुप्पो केही बुझेका रहेनछौँ। हिँड्दाहिँड्दै त्यो आन्दोलन कता हरायो कता!’
आजभोलि उनी विगतमा आफूले गरेको आन्दोलनलाई कम्युनिष्ट आन्दोलनको भाग- १ भन्न थालेका छन्।
‘अब कम्युनिस्ट आन्दोलन भाग-२ सञ्चालन गर्नुपर्छ। पुनासो सोच र चिन्तनको कम्युनिस्ट आन्दोलनले अबको समयको नेतृत्व गर्न सक्दैन,’ उनले भने, ‘अब मार्क्स, लेनिन र माओको युग सकियो। यो युग अनुकूलको समाज व्यवस्था निर्माण गर्नेगरी अब कम्युनिस्ट आन्दोलनको विकास गर्नुपर्छ भन्ने मलाई लाग्छ।’
आजभोलि उनलाई संसदीय राजनीति गरेर भ्रष्टाचारी बन्नु भन्दा खेती किसानीमा लाग्नु नै उत्तम लाग्न थालेको छ।
‘नेपालमा धेरैले राजनीतिको आडमा सम्पत्ति जोडेका छन्। त्यो भनेको कमाएको होइन, गुमाएको हो,’ उनले भने, ‘इमान बेचेर प्राप्त गरेको पैसालाई कमाएको भन्न मिल्दैन।’
खरेलको बुझाइमा राजनीतिमा लागेका नेपालका धेरै नेता इमान बेचेर, कसैको दलाली गरेर बाँचेका छन्, धनी भएका छन्। तस्करहरुले दिएको पैसाले सम्पत्ति जोडेका छन्।

‘कांग्रेस मात्रै होइन, आफूलाई कम्युनिस्ट दाबी गर्ने सबै पार्टीका धेरैजसो नेता यसैगरी इमान बेचेर चल्दै आएका छन्,’ नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘कुनै फ्याक्टी, उत्पादन र जागीर बिना कुनै नेताले सम्पत्ति जोडेको छ भने बुझ्नुस्, त्यहाँ इमान बिक्री गरिएको छ। फेरि यो संसदीय राजनीति भनेको भन्ने एकथोक, गर्ने अर्कैथोकवाला प्रणाली हो।’
करिब २० वर्षअघि खरेलले हरिवनमा सामुदायिक अस्पतालको स्थापना गरेका थिए। उनले लामो समयसम्म त्यसको नेतृत्व पनि गरे। अहिले पनि खरेलकाे अगुवाइमा स्थापना भएको १५ बेड क्षमताको नमूना सामुदायिक अस्पताल सर्लाहीका स्थानीय समुदायबीच एउटा विश्वाससहित चलिरहेको छ।

खरेल प्राकृतिक प्रेमी समूहमा आवद्ध छन्। त्यसको आजीवन सदस्य छन्। उनी योग र ध्यानको राम्रो प्रशिक्षक पनि हुन्। जसलाई उनी अहिले पनि निरन्तर अभ्यास गरिरहेका छन्। उनको कृषिफार्म भित्रै योग-ध्यान गर्ने छुट्टै कक्ष छ। दुई वर्षअघि नमूना अस्पतालमा पनि उनले केही महिना यसको अभ्यास गराएका थिए।
अहिले पनि योगध्यान सिक्न चाहनेलाई उनी आफ्नै कृषि फार्म भित्रको अभ्यास केन्द्रमा बोलाउँछन्।

ड्रागन फ्रुटको खेती कसरी गर्ने भनेर सिक्न चाहनेका लागि पनि उनले आफ्नो कृषि फार्म खुला राखेको छन्।
‘यसलाई ट्रेनिङ्ग सेन्टरकै रुपमा विकास गर्ने सोचसमेत मैले बनाएको छु,’ उनले भने, ‘अहिले पनि कतिपय मानिसहरु केही सिक्न, जान्न यहाँ आइरहेका छन्, म उनीहरुलाई आफूले जानेको सिकाएर पठाउँछु।’
व्यवसायकि कृषि कर्म गर्न चाहनेलाई उनकाे सुझाव छ, ‘अरुको हेर्नुस्, अध्ययन गर्नुस् र पढ्नुस्। त्यसमा थप आफ्नो बुद्धि लगाएर काम गरियो भने सफल भइन्छ।’

खरेलले दुईपटक संसदीय निर्वाचन पनि लडे। पहिलाे पटक ०५६ सालमा संयुक्त जनमोर्चाको तर्फबाट। दोस्रोपटक वैद्य नेतृत्वको पार्टीमा रहेकोबेला। पछिल्लाे निर्वाचन उनले स्वतन्त्र उम्मेदवार भएर लडेका थिए। तर, दुवै निर्वाचनको परिणाम उनको पक्षमा आएन।
खरेलको बिचारमा ‘मेरो सम्पूर्ण जीवन नै राजनीतिका लागि हो’ भन्ने मान्छेहरुबाट अब समाज बन्दैन।
‘हामी समाजवादतिर जाने हो भने सबै मान्छे समुदायको हितको लागि कुनै न कुनै उत्पादनमा जोडिएको हुनुपर्छ,’ उनले भने, ‘उत्पादन गर्ने, निर्माण गर्ने काममा ऊ लागेको हुनुपर्छ। गफ दिएर मात्रै हुँदैन। उसले गरेको काम, विधि र प्रणालीले धेरै मान्छेको कल्याण भएको हुनुपर्छ।’

माओवादीमा रहुन्जेल खरेल महोत्तरीको बर्दिबासमा रहेको आधारशीलाको सदस्य थिए। माओवादीका उपमहासचिव गिरीराजमणि पोखरेलले नेतृत्व गरेको आधारशीला माओवादीका पूर्णकालीन १५ परिवार (नेता कार्यकर्ता) को सामूहिक घर हो। ‘मैले पनि केही सम्पत्ति त्यहाँ लगानी गरेको थिएँ,’ खरेलले भने, ‘तर, अहिले म त्यहाँ छैन।’
विगतमा जनता र नेता समाजवादी, पार्टी चाहीँ साम्यवादी हुनुपर्छ भन्ने मान्यतासहित आधारशीला स्थापना गरेको तर, त्यसअनुसार नभएपछि आफूले आधारशीला छाडिदिएको उनको भनाई छ।
‘पछि हामीबीच राजनीतिक दृष्टिकोणमै भिन्नता भएपछि मैले त्यो संस्था छाडेको हुँ,’ उनले भने, ‘अहिले आधारशीला र माओवादी केन्द्रलाई मैले पुरानो घर भन्ने गरेको छु। त्यहाँ मेरो अब जन्ती र मलामीको सम्बन्ध मात्रै बाँकी छ।’

मध्य दसैँको बेला आफ्नो ड्रागन फ्रुट बगैँचाभित्र गफिँदै गर्दा खरेलले नेपालमा अब कम्युनिस्ट राजनीतिको एउटा अध्याय सकिएको बताए।
‘अब घिसिपिटी ढंगले कम्युनिस्ट नाम गरेका पार्टीमा लाग्नुको कुनै अर्थ छैन,’ कुराकानीलाई बिटमार्दै उनले भने, ‘त्यही निष्कर्षसहित आजभोलि म पूर्णरुपमा उत्पादनतिर, कृषि कर्मतिर लागेको छु।’
भिडिओ
Shares

प्रतिक्रिया