समाज


फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता डाक्टरको विषय ‘छक्का पन्जा ५’ सँग मिलेको दीपकको दाबी

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता डाक्टरको विषय ‘छक्का पन्जा ५’ सँग मिलेको दीपकको दाबी

डा. केशव श्रेष्ठको प्रोफाइल पिक्चर र दीपकराज गिरीको फाइल तस्बिर


नेपालखबर
असार २, २०८२ सोमबार १३:१६, काठमाडौँ

सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठको विषय  आफ्नो चलचित्र ‘छक्का पन्जा ५’को कथासँग मिलेको दाबी गर्दै उनलाई रोक्न अपिल गरेका छन्। 

रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा राम्रो काम गर्न खोज्दा सहकर्मी, स्थानीय र अस्पताल व्यवस्थापन पक्षले विभिन्न झुटा आरोप लगाएर सरुवा गरेको आरोप लगाउँदै डा. श्रेष्ठ सोमबार बिहान आफू बाँच्न नसक्ने अवस्थामा पुगेको कुरा फेसबुकमा लेखी बेपत्ता भएका हुन्। 

‘डा. नरेन्द्र झा, रेवती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाँचे भने न्याय पाउँछुजस्तो लागेन’, डा. श्रेष्ठले लेखेका छन्, ‘असत्यको जित भएको पनि मूकदर्शक भएर बस्न पनि मन लागेन।’ 

उनको स्टाटस सेयर गर्दै कलाकार गिरीले उनलाई आत्महत्या गर्नबाट रोक्न सबै पक्षसँग आग्रह गरेका हुन्।

साथै गिरीले उनको पीडा आफ्नो फिल्म ‘छक्का पन्जा ५’को विषयसँग मिलेको दाबी पनि गरेका छन्। 

‘म उहाँलाई चिन्दिनँ। तर देशले अनेकौँ तन्त्रहरूको अभ्यास गरे पनि थोत्रो सिस्टम फेर्ने अभ्यास कहिल्यै गरेन। भ्रष्टहरू पुरस्कृत हुने र इमानदार मानिसले सधैँ पीडा भोगिरहनुपर्ने बाध्यता कायमै रह्यो’, गिरीले फेसबुकमा लेखेका छन्, ‘छक्का पन्जा ५ मा देखाइएको विषयसँग पनि मेल खायो र पढेर सारै मन दुख्यो। आत्महत्या गर्दै छु भनेर लेख्नुभएछ उहाँले। मर्नुभन्दा बौलाउनु राम्रो भन्छन्। उहाँलाई रोकौँ। उहाँले लेखेको कुरामा सबैको ध्यान जाओस्।’

यस्तो छ, डा. श्रेष्ठले लेखेको पूरा कुरा:   

सबै जनालाई अलबिदा

मलाई माफ गरिदेऊ सानु, धेरै संघर्ष गरेर मम्मीले मलाई डाक्टर बनाउनुभयो। संघर्ष-संघर्षैमा डाक्टर पढे, करारको जागिर हुँदै नेपाल प्रहरी हुँदै अहिलेको बागमती प्रदेशको लोकसेवाबाट नाम निकाले।

करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिन्टेन्डेन्ट भएर चलाउने मौका पाएँ। दिनरात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे। म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो।

डा. गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गए पनि रामेछाप अस्पतालको कहिले डाक्टर त कहिले नर्स मेरोविरुद्ध लगाई नै राख्यो, तर म डटेर नै काम गरेँ। एउटा व्यवस्थित अस्पताल बनाए पनि, हरेक कुरालाई सिस्टममा लिएर आए। 

केदार कार्कीले (रामेछाप-०८) मागेको पैसा नदिँदा अनि उसले भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा उसको नेतृत्वमा मैले कार्बाही (स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरू २ जना महिला डाक्टर) गरेका डाक्टरहरूलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झुटा आरोपहरू लगाएर मेरो सरुवा गराए। एप्रन किन नलगाएको भनेर एकजना डाक्टरलाई प्रश्न मात्र गरेको थिएँ, ममाथि मुखमुखै लागेर मर्निङ कन्फेरेन्समा प्रस्तुत भई। त्यही डाक्टरले त्यही दिन केदार कार्कीलाई बोलाएर मेरो कार्यकक्षमा मलाई थर्कायो र मलाई धन्नै हात हालेन, हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाडि, ३ दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिँड्यो। 

केदारले भनेको बमोजिम अस्पताल चलाउनुपर्ने, उसले खाएको होटलको बिल तिर्नुपर्ने, विज्ञापन गर्दा उसको नै मान्छे राखिदिनुपर्ने। आफ्नो कार्यकक्षमा नबस्ने, आफ्नो बाउको राजनीति पावरको दम्भ देखाउने, बाहिर ल्याबसँग सीडी/आरपीडीको कमिसनको डिल गर्ने, पटकपटक भन्दा पनि आफ्नो कार्यकक्षमा नबस्ने गरेको पाएपछि लिखित स्पष्टीकरण सोधेँ। त्यही स्पष्टीकरण सोधिएकाहरूलाई प्रयोग गरेर, बदलाको भावनाले प्रतिशोध साँधेर मेरोविरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्न बाध्य बनाइयो।

अब भोलिको दिनमा स्पष्टीकरण खाएका, कार्बाहीमा परेका करारका ४/५ जना कर्मचारीले कार्यालय प्रमुखको विरुद्धमा निवेदन लेखे भने अरू अस्पतालको हाकिमलाई सरुवा गर्ने कि नगर्ने? मैले आफ्नो कुरा राख्न खोजेँ तर सुनुवाइ कतै भएन। न स्वास्थ्य मन्त्रालयको मन्त्रीले, न स्वास्थ्य मन्त्रालयको साचिवले नै सुन्नुभयो।

शरीरमा १६ ओटा टाँका अनि २ वर्षको छोरी र श्रीमतीलाई लिएर राति ९ बजे रामेछापबाट काठमाडौँ आउन बाध्य पारियो, बिहान ४ बजे काठमाडौँ आइपुगे अनि ८ बजे फेरि हाजिर हुन काठमाडौँबाट हेटौँडा लागे। नयाँ आएको निमित मेसुलाई हाजिर गराउन सीडीओ कार्यालयमा कल गर्ने स्वास्थ्य मन्त्रालयले मेरो सुरक्षाका लागि चाहिँ किन सीडीओलाई कल गरिएन? २०८२/०२/२८ गते दिउँसो ३ बजे छानबिन समिति अस्पताल आउने अनि १ घण्टापछि ४ बजेतिर मेरो सरुवाको पत्र अनि फेरि २४ घण्टामा मन्त्रालय हाजिर हुन आउनु भन्ने? यो कत्तिको न्यायोचित छ?

हेटौँडा पुगेपछि स्वास्थ्य मन्त्रालयको प्रमुख प्रशासकीय अधिकृतकुमार पोखरेलले पनि अमानवीय व्यवहार गरी मैले बर-बुझार्थ केही नगरी मन्त्रालयमा गाडी खोसेँ, हाजिर पनि नगरेकोलाई गाडीमा रामेछाप पठाइयो, मलाई अमानवीय व्यवहार गरेर हेटौँडामा अल्पत्र पारे। सरुवा गरिएको छ। हेटौँडा अस्पतालमा तर हाजिर गराइएको छ मन्त्रालयमा। मलाई धेरै दु:ख दिए, अहिले यो दु:ख/पीडा सहन अनि सोच्न पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाएँ। कतैबाट केही साथ/सहयोग पाउन सकिनँ।

डा. नरेन्द्र झा, रेवीती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाँचे भने न्याय पाउँछुजस्तो लागेन। असत्यको जित भएको पनि मूकदर्शक भएर बस्न पनि मन लागेन।

मैले बाँचेर यही सत्य कुरा लेखेको भए मलाई मन्त्रालयले कार्बाही गर्ने, का.स.मुमा थोरै अंक दिने गर्ने थिए होलान्, म सानो कर्मचारी भनेर मेरो आवाज दबाउने कोसिस गर्ने थिए होलान्। म मानसिक रूपमा कमजोर हुन पुगेँ, अहिले विक्षिप्त हुन पुगेको छ। वान म्यान आर्मी भनेर चिनिएको थिएँ। अहिले आएर हार खाएँ।

मलाई माफ गरिदिनु मम्मी, भावना अनि छोरी। हिम्मत नहार्ने मान्छे आज आएर हिम्मत हार्न पुगेँ। एक्लै लड़ने मान्छे। आज आएर गलिसकेको छु। मलाई साथ दिएर यहाँसम्म लिएर आउने डा अनिल कार्की, बद्री खड्का सर, माननीय उत्तम जोशी सर, हजुरहरूलाई धेरै धन्यवाद छ। तपाईंहरूले दिएको जिम्मेवारी इमानदारीका साथ निर्वाह गरी अस्पताल बनाएँ।

तर आज आएर मैले गल्तीबिनाको सजाय भोगेको छु। आज मलाई दु:ख दिने, आत्महत्या गर्न बाध्य पार्नेहरूले कानुनबमोजिम सजाय नपाएसम्म मेरो आत्माले शान्ति पाउने छैन। दुर्गममा २ वर्ष बसेर अस्पताललाई उत्कृष्ट बनाएँ। १५ बेडमा नेपालको उत्कृष्ट तेस्रो अनि अहिले ५० बेडको हुँदा बागमतीको दोस्रो) अहिले पुरस्कृत हुनु पर्नेमा कार्बाही खाएको छु।

नेपालमा नै केही गरौँ भनेर बसेको अहिले पश्चाताप लागेको छ। यथार्थ के हो भन्ने कुरा छवि सर (अस्पताल प्रशासन), वसन्त, डोरबहादुर सर तपाईंहरूलाई थाहा छ, भोलि परेको बेला यथार्थ कुरा बोलिदिनुहोला। यही हो यथार्थ कुरा, धेरैले बुझ्न, सुन्न नै खोज्नुभएन। मेरो लासमाथि राजनीति नहोस् तर यी अपराधीहरूलाई कानुनको कठघरामा लिएर आउन सबै लाई अनुरोध गर्दछु।

फेरि पनि मलाई माफ गरिदिनु मम्मी, भावना, छोरी, भाइ-बुहारी, बहिनी अनि भान्जी।

यस्तो लेखेर बेपत्ता डा. केशव श्रेष्ठको खोजीमा प्रहरी खटिएको छ। प्रहरीको साइबर ब्युरो प्रमुख डीआईजी नविन्द अर्यालले खबर पाउनासाथ उनको खोजी थालिएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad