समाज


सालझण्डी-ढोरपाटन सडक: १४ वर्षमा ३० प्रतिशत मात्र काम

सालझण्डी-ढोरपाटन सडक: १४ वर्षमा ३० प्रतिशत मात्र काम

नेपालखबर
पुस २, २०८१ मंगलबार ७:२४, बागलुङ

बागलुङको सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो।

रुपन्देहीको सालझण्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङगरी पाँच जिल्लालाई जोडेको छ।

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यस खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन सकेको छैन।

सालझण्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यस खण्डअन्तर्गत हालसम्म १८ किमी मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ।

सोमध्ये रुपन्देहीमा ४.५ किलोमिटर र अर्घाखाँचीमा १३।५ किलोमिटर मात्रै सडक कालोपत्र भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इञ्जिनियर कृष्टिना थापाले जानकारी दिए।

अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताए।

इञ्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किमी ग्राभेल हुँदैछ भने रुपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किलोमिटर कालोपत्र भइरहेको छ।

उनले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किमी सडक पनि कालोपत्र भइरहेको जानकारी दिए।  

त्यस्तै अर्घाखाँचीको माटेबाट भण्डारासम्म सात किमी, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किमी, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको आठ दशमलव दुई किमीसडक कालोपत्र भइरहेको थापाले उल्लेख गरे।

अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात-सात गरी ३२ किमी सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले बताए। पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनको भनाइ छ ।

ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन-९ का बमबहादुर सुनारले बताए।

साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बीच बाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ।

बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुन नसक्ने सुनारले बताए।

‘यो विकट ठाउँमा सडक आएपछि ठूलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन् । टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन् तर बाटोको दूरावस्थाले गर्दा अर्को पटक आउने योजना सायद बनाउँदैनन्,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad