समाज


जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसी सारिए

जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसी सारिए

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार ६:३२, मुस्ताङ

मुस्ताङको उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ।

भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो।

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन्।

गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए। लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैँ अगावै बेँसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहार लगत्तै जाडो छल्न बेँसी झरेको प्रशासन प्रमुख केशीको भनाइ छ। 

लोमान्थाङको छोन्हुप झिन्जु आधारभूतमा ५० जना, राष्ट्रिय आधारभूतमा २० जना र दिव्यदीप माध्यमिक विद्यालयका ६२ जना विद्यार्थीलाई घुम्ती कक्षा चलाउन बेँसीका विभिन्न स्थानमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केसीको भनाइ छ।

लोमान्थाङको दिव्यदीप माध्यमिक विद्यालयलाई पोखरास्थित विजयपुरमा रहेको निजी विद्यालय भवनमा स्थानान्तरण गरिएको छ । छोन्हुप झिन्जु आधारभूतको पनि पोखरा हेम्जामा रहेको आफ्नै निजी भवनमा घुम्ती कक्षा चलाउन झारिएको हो। 

यसैगरी लोमान्थाङको राष्ट्रिय आधारभूतका २० जना विद्यार्थीलाई पोखरा लेखनाथस्थित तालचोक किमबेँसीमा भाडाको भवनमा स्थानान्तरण गरिएको प्रशासन प्रमुख केशीले बताए। 

यसैगरी लोमान्थाङ गाउँपालिकाअन्तर्गतका मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि आफ्नै खर्चमा घुम्ती कक्षा चलाउन पोखराका विभिन्न स्थानमा रहेको प्रशासन प्रमुख केशीको भनाइ छ।

हिउँदयामको जाडो मौसममा साबिक स्थानमा शैक्षिक पठन/पाठनलाई निरन्तरता दिन कठिनाइ हुने भएकाले माथिल्लो मुस्ताङका विद्यालयलाई घुम्ती कक्षा चलाउन बर्सेनि यस प्रकारको परम्परा रहँदै आइरहेको छ।

सङ्घीय सरकारले घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन शीर्षकमा लोमान्थाङका तीन सामुदायिक विद्यालयलाई बर्सेनि शसर्त अनुदानस्वरूप प्रतिविद्यालय रु तीन लाख ५० हजार उपलब्ध गराउने गरेको छ । यसका अतिरिक्त साबिक स्थानमा रहेको सञ्चालन गर्दा उपलब्ध हुने सङ्घीय सशर्तबापतको हिमाली आवासीय छात्रावास  अनुदान कार्यक्रमअन्तर्गत कक्षा ४ देखि माथिका विद्यार्थीलाई जनही रु पाँच हजार उपलब्ध हुने सुविधा रहेको प्रशासन प्रमुख केशीले बताए।

लोमान्थाङको राष्ट्रिय आधारभूत, झिन्जु आधारभूत र दिव्य दीप माध्यमिक विद्यालयका तल्ला कक्षाहरूलाई गाउँपालिकाले प्रतिविद्यार्थी मासिक रु चार हजार अनुदान दिने गरेको उनको भनाइ छ।

माथिल्लो मुस्ताङको लोमान्थाङजस्तै लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई गुम्बा विद्यालय जाडो छल्न कात्तिक १० गते बेँसीमा झरेको त्यहाँका शिक्षा शाखा अधिकृत प्रचण्ड न्यौपानेले जानकारी दिए।

अधिकृत न्यौपानेका अनुसार लोघेकर दामोदरकुण्डको चराङ आधारभूत चराङका १६ जना, घमी आधारभुत घमीका ५६ जना र जनज्योति आधारभूत घिलिङका ८४ जना विद्यालयलाई शिक्षण सिकाइमा निरन्तरता दिनका लागि पोखराका विभिन्न स्थानमा झारिएको हो। 

चराङ आधारभूतको पोखरा हेम्जामा, घमी आधारभूतको पोखरा विजयपुरमा र जनज्योति आधारभूतको तनहुको शुक्लागण्डकी दुलेगौडामा स्थानान्तरण गरिएको जनाइएको छ। यहाँको चराङ र जनज्योति आधारभूत विद्यालयलाई घुम्ती विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यक्रम शीषर्कमा प्रतिविद्यालय रु तीन लाख ५० हजार प्राप्त हुने शिक्षा शाखा अधिकृत न्यौपानेले बताए। 

यसैगरी सङ्घीय सरकारले दिने अनुदान हिउँदको चार महिना बेँसीमा घुम्ती कक्षा चलाउन बजेट अभाव हुने भएकाले सामुदायिक विद्यालयका लागि एकमुष्ट २५ लाख रुपैयाँ बजेट गाउँपालिकाले विनियोजन गरेको अधिकृत न्यौपानेको भनाइ छ। यसैगरी लोघेकरमा तीन सामुदायिकसँगै चराङका दुई गुम्बा विद्यालय पनि जाडो छल्न बेँसी झरिसकेको अधिकृत न्यौपानेले उल्लेख गरे।

यहाँको वारागुङ मुक्तिक्षेत्रको छुसाङस्थित जननर्मल माध्यमिक विद्यालय गत वर्षसम्म जाडो छल्न बेँसी झर्ने गरेकोमा चालु शैक्षिक सत्रमा घुम्ती कक्षाका लागि बेँसी नझर्ने निर्णय भएको त्यहाँका शिक्षा शाखा अधिकृत रेखा पन्तले जानकारी दिइन् । तर, यहाँको कागबेनीस्थित कागछोदे गुम्बा विद्यालय भने घुम्ती कक्षा चलाउन बेँसीमा स्थानान्तरण भएको अधिकृत पन्तको भनाइ छ।

वार्षिक परीक्षामा एकरूपता ल्याउन घुम्ती कक्षाले असहज हुने, लगातार हिउँदमा कक्षा चलाउँदा शिक्षकहरूले पाउनुपर्ने बिदा कटौती गर्न गारो हुने र सङ्घीय सरकारले उपलब्ध गराउने अनुदान रु तीन लाख ५० हजारले घुम्ती खर्च धान्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाबाटै घुम्ती कक्षा नचलाउने निर्णय भएको अधिकृत पन्तको भनाइ छ।

माथिल्लो मुस्ताङका सरकारी तथा धार्मिक गुम्बा विद्यालयहरू घुम्ती कक्षाका रूपमा निरन्तर शैक्षिक पठनपाठन चलिरहने छ । साबिक स्थानमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूलाई चिसोका कारण रुघाखोकी र निमोनियाले बिरामी पर्ने हुन्छ भने हिउँदमा साबिक स्थानमा कक्षा चलाउँदा हिमपातको जोखिम हुने हुन्छ। 

त्यसो त माथिल्लो मुस्ताङमा विद्यालयका अधिकांश अभिवाकहरू जाडो छल्न र घुम्ती व्यापारमा बेँसी झर्ने परम्परा रहेकाले पनि माथिल्ला पालिकाहरूले आफ्ना विद्यालयलाई बेँसीमा झार्ने गरिएको हो। यसरी जाडो छल्न झरेका घुम्ती विद्यालयहरू चालु शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्र साबिककै स्थानमा सञ्चालन गर्न वैशाख महिनामा माथि उक्लिने गर्छन्।

माथिल्लो दुई गाउँपालिकाका विद्यालय घुम्तीमा झरे पनि वारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालय भने हिउँदको पुस र माघ महिना हिउँदे जाडो बिदा दिने गरिएको छ।

यसरी हिउँदमा बिदा भएका विद्यालयहरू फागुनको पहिलो साता सञ्चालन हुने गर्छन्। यहाँका तल्ला तीन पालिकामा शिक्षकहरूलाई ४५ दिने हिउँदे बिदा र १५ दिन सट्टा बिदा गरी दुई महिना शैक्षिक क्रियाकलाप स्थगित गर्ने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad