केही दिनदेखि गर्मी बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले विद्यालयको पठनपाठन बन्द गरेको छ।
बुधबार महानगरको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरी असार ११ र १२ गते सबै विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले विरगञ्जका विद्यालय असार १४ गतेसम्म बन्द रहनेछन्।
अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी स्वरूप केही दिनका लागि पठनपाठन बन्द गरिएको शिक्षा महाशाखाले जनाएको छ। बिदा अवधि वार्षिक बिदाबाट समायोजन गरिने पनि सूचनामा उल्लेख छ।
पछिल्ला केही दिनयता तराई–मधेसमा तापक्रम निरन्तर बढ्दै गएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ।
यससँगै महानगरले अभिभावकलाई गर्मीको समयमा बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन, पर्याप्त पानी पिउन लगाउन तथा अत्यधिक घाममा बाहिर ननिस्कन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
Shares

प्रतिक्रिया