स्याङ्जाको भीरकोट नगरपालिका-८ को वडा कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ।
वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बालदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो। यो वडामा ११ वटा सामुदायिक विद्यालय छन्।
वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको वडाध्यक्ष नन्दलाल खनालले बताए। ‘वडा नं. ८ का जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे विद्यार्थीको वडाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो,’ खनालले भने।
स्वास्थ्य बिमा लागू भएका अस्पतालबाट बिमाअनुसार नै उपचार हुने र अन्य अस्पतालमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिए। यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गरि दिँदै आएको छ।
Shares

प्रतिक्रिया