ad ad

समाज


बेवास्ताले अर्को विनाश : दुई वर्षदेखि पश्चिमतिर सर्दै थियो कोसीको धार

बालुवा थुप्रिएर बस्तीकै तहमा पुग्दा पनि थिएन पूर्वतयारी
बेवास्ताले अर्को विनाश : दुई वर्षदेखि पश्चिमतिर सर्दै थियो कोसीको धार

सुमन पुरी
साउन १८, २०७९ बुधबार १४:४, काठमाडौँ

सप्तकोसी नदीले धार परिवर्तन गर्दा सुनसरीको वराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका ६ वटा वडाका वासिन्दा संकटमा परेका छन्। यो पटक धार फेरिँदा चर्चित श्रीलङ्का टप्पुबासीमाझ विपत्ति आएको छ।

जोखिममा रहेको श्रीलङ्का टप्पुका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ। अहिलेसम्म ५ हजारजतिलाई सुरक्षित स्थानमा सारिएको छ।

श्रीलङ्का टप्पुको पूर्व र पश्चिम दुवैतर्फबाट सप्तकोसी नदी बग्ने गर्छ। बुधबार बिहान सप्तकोसीले पश्चिमतर्फ धार परिवर्तन गर्नुअघि त्यसतिर पानीको मात्रा कम थियो।

धार परिवर्तनसँगै पश्चिमतर्फ पनि पानीको मात्रा बढेर उदयपुरका २३ सय र सुनसरीका १३ सय परिवार जोखिममा परेका छन्।

२२ सालको बाढी 
२०२२ सालमा आएको बाढीपछि पश्चिमतर्फभन्दा पूर्वको भङ्गालोबाट सप्तकोसी नदीको धेरै पानी बग्ने गरेको थियो।

२०२२ साल अगाडि भने पश्चिमतर्फको भङ्गालोमा पानीको मात्रा बढी थियो। २०२२ साल जेठ २८ गते बुधवार आएको बाढीपछि विस्तारै नदीको बहाव पूर्वतर्फ बढेको स्थानीय बताउँछन्।

 

नदी पूर्वतर्फ सर्दा पश्चिमतर्फ नदी उकास जमिन निस्किएको थियो। नदी उकास जमीन निस्किएपछि मानिसहरु पहिलेको भङ्गालो आसपासमै बस्न थालेका थिए।

नदी उकास जमिन भएकाले उब्जाउ बढी हुने भएकाले मानिसहरु बसाइँ सरेर टप्पुमा आउने क्रम बढेको हो।

मानिसहरुले नदीको भङ्गालोकै सतहमा खेतीपाती गर्न थाले। अहिले पुरानै धारमा सप्तकोसी नदी फर्किएपछि हजारौँ बिगाहा खेतीयोग्य जमिन मासिने अवस्थामा पुगेको छ।

नदीले धार परिर्वतन गर्दा त्यस क्षेत्रका २० हजार मानिस प्रभावित हुने बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताएका छन्। 

सुनसरीतर्फ पनि ५ हजार भन्दाबढी मानिसहरु प्रभावित हुने वराहक्षेत्र नगरपालिकाका पूर्व मेयर निलम खनाल बताउँछन्।

सप्तकोसीको पानी कति पश्चिमबाट बग्छ भन्ने अहिले नै टुङ्गो लागिसकेको छैन। नदीको बहाव पश्चिमतर्फ निरन्तर बढ्दो छ।

यसरी बस्यो श्रीलङ्का टप्पुमा बस्ती
श्रीलङ्का टप्पु क्षेत्रमा २००१ सालमा खड्ग निशान लालमोहरबाट नेपालका ६६ भाइ भारदारले जग्गाको स्वामित्व प्राप्त गरे।

यहाँ २००१ बाट वस्ती बस्न थालेको सप्तकोसी बाढीपीडित संघर्ष समितिका उपाध्यक्ष जोनी लिम्बुले बताए। उनका अनुसार २०१० सालदेखि हकभोग सुरु भएको थियो  

कोसी सम्झौता हुनुअघि चतराको पुल्ठेगौडा र सुन्दर-गुन्दर क्षेत्रमा २००९ सालसम्म जग्गा दर्ता भइसकेको थियो।

प्लटिङवालाहरुले समय समयमा दर्ता भइसकेका जग्गामा आफ्नो भनी दावी गरिरहने त्यसबेलाका बुढापाकाहरु बताउँछन्।

२०३५ सालमा तत्कालीन भूमिसुधार राज्य मन्त्री मरिचमान सिंह श्रेष्ठले नापी गरी लालपुर्जा दिएको प्रकाशपुरका दुर्गाप्रसाद पौडेल बताउँछन्।

नयाँ होइन धार परिवर्तन
नेपालकै सबैभन्दा ठूलो सप्तकोसीले धार परिवर्तन आज मात्रै होइन। २०२२ साल जेठ २८ गते बुधवार सिन्दुरे टप्पुको तटबन्ध  फुटाएर कोसी नदी बस्तीमा पसेको थियो। 

त्यहीबेलादेखि स्थानीयको दुःख र दुर्भाग्यका दिन सुरु भएको मानिन्छ। रातको समयमा अचानक उर्लेर गाउँ पसेको कोसीले सबै मानव बस्तीलाई नदी र बगरमा परिणत गरेको थियो। नदी गाँउ पसेपछि  मानिसहरु चक्रघट्टीमा रुखमुनि आश्रय लिएर बसेका थिए।

कात्तिकसम्म पानीको मात्रा घटे पनि मानिसहरु गएर बस्न सकेनन्। त्यही साल आएको महामारीले  सयौँ मानिस मरेका त्यो बेला विस्थापित भएका झमकलाल गिरीले सम्वाददातालाई केही वर्षअघि बताएका थिए।

२०२५ सालमा आएको बाढीका कारण टप्पुमा ठूलो क्षति भएको थियो। त्यतिबेला बाढीसँगै धेरै चौपायाहरू बगेको तत्कालीन पीडितहरू बताउँछन्।  २०३५ असोज १७ गते राति फेरि कोसी गाउँतिर पसेको थियो।

२०३७ मा पनि सप्तकोसीले अर्को पटक धार परिवर्तन गरेको थियो। त्यो बेला नदीले धार परिवर्तन गर्दा पुल्ठेगौँडा सिन्दुरे टप्पुको तामाङ बस्ती, सुन्दर गुन्दर जब्दी बगाएको थियो।

त्यसपछि २०३९ सालमा नदीले धार परिवर्तन गरेर तत्कालीन महेन्द्रनगर गाविसको ५ र ६ नम्बर वडामा  पसेको थियो।

२०४१ र २०४३ सालमा आएका बाढी र धार परिवर्तनले चतरा आसपास (वराहक्षेत्र) र महेन्द्रनगरका केही पीडितहरू हालको बागेस्थित वन क्षेत्रमा बसोबास गरेका थिए।

तर वन मासेको भन्दै तत्कालीन कोसी अञ्चलका अञ्चलाधीश सूर्यप्रसाद सेन ओलीले हात्ती लगाएर टहरा भत्काइदिएको कोसीपीडित संघर्ष समितिका सचिव बाबुराम कार्की बताउँछन्।

२०६५ साल भदौमा ५ गते पनि सप्तकोसी नदी तात्कालीन पश्चिम कुसाहा गाउँपालिकामा पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको थियो। 

नदी गाउँ पस्दा तत्कालीन पश्चिम कुसाहा, हरिपुर श्रीपुर र लौकही गाँउपालिका डुबानमा परेको थियो। ५० हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए। उनीहरुको राहात र पुनर्स्थापनाका लागि सरकारले अर्बौँ रुपैयाँ खर्च गरेको थियो।

बेवास्ताले विनाश
सप्तकोसीको बहाव दुई वर्षयता पश्चिमतर्फ सरेको थियो। दुई वर्षयता नदी पश्चिमतर्फ सर्दा बस्तीमा जोखिम बढ्दै गइरहेको थियो।

तर, समयमै रोकथाम नगर्दा विनाश भएको श्रीलङ्का टप्पुका श्याम सुब्बा बताउँछन्। नदी पश्चिम सर्दा यसअघि नै १५० भन्दाबढी परिवार विस्थापित भएका थिए।

एउटा विद्यालयसमेत सार्नु परेको थियो। तर नदीको धार परिवर्तन रोकथाममा पहल नभएको उनले गुनासो गरेका छन्। ०६५ सालमा तटबन्ध भत्काएपछि पूर्वी तटबन्ध मर्मत भएको थियो।

समय समयमा पूर्वतर्फ  तटबन्ध र स्पर मर्मत भएको थियो। तर पश्चिमतर्फ सरकराले ध्यान नदिएका कारण बेलकाको डुम्रीबोटेबाट नदीले धार परिवर्तन गरेको हो।

बालुवा थुप्रिएका कारण नदीको सतह बढ्न गई बस्ती समान भएको थियो। नदीको सतह र बस्तीको सतह बराबरी अवस्थामा आएपछि नदी पहिलेकै बाटोमा बग्न थालेको हो।

याे पनि : ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .