समाज


१५ लाख ‘ब्लडमनी’ तिरेका सुवास भन्छन्- साथीलाई बचाउन खोज्दा हत्याको अभियोग लाग्यो

१५ लाख ‘ब्लडमनी’ तिरेका सुवास भन्छन्- साथीलाई बचाउन खोज्दा हत्याको अभियोग लाग्यो

नेपालखबर
पुस १२, २०८० बिहिबार १३:४८, झापा

‘ब्लडमनी’ तिरेर घर फर्किएका झापाको कनकाई–४ का ३३ वर्षीय सुवास राउत वैदेशिक रोजगारीका क्रममा बिताएका त्रासदीपूर्ण क्षणहरु बिर्सन चाहन्छन्। किनकि, उनी अब स्वदेशमै रोजगारीको लयमा फर्किएका छन्।

‘अब विदेश जान्न’, हालै स्वदेश फर्किएका राउतले भने, ‘गाउँकै पानी उद्योगमा सानो काम गर्न थालेको छु । भविष्य के–कस्तो होला भन्न सकिन्न, तर अब स्वदेशमै गरिखाने हो।’

पाँच वर्षअघि कतार गएका उनलाई केही वर्षमै साथी हत्याको झुठो आरोपमा अदालतले मृत्युदण्डको फैसला सुनायो। ब्लडमनीबापत ९० लाख तिर्नुपर्ने भनी अदालतले दिएको विकल्प असम्भव जस्तै थियो।

मृत्युको मुखमा पुगिसकेका राउतलाई गाउँलेहरुले बचाएर एक महिना अघि स्वदेश ल्याएका हुन्। गाउँलेले चन्दा उठाएर ब्लडमनी तिरेपछि मृतकका परिवारले उनलाई माफी दिएका थिए भने त्यसकै आधारमा अदालतले उनलाई स्वदेश फर्किन अनुमति दिएको थियो।

स्वदेश फर्केपछि उनले गाउँकै कनकाइ ‘वेभरेज’ नामक पानी उद्योगमा काम गर्न थालेका छन्। उनकी पत्नी कुमारी राउत घर निर्माणको काममा मजदुरी गर्दै आएकी छन्। राउत दम्पतीका एक छोरी र एक छोरा छन् । बाह्र वर्षीया छोरी र आठ वर्षीय छोरा स्थानीय विद्यालयमा क्रमशः सात र एक कक्षामा पढ्दैछन्।

राउत परिवारको आर्थिक अवस्था दयनीय छ । खेती किसानी गर्ने जग्गा जमिन केही नभएका कारण छोराछोरी पढाउने र घरको गर्जो टार्ने उद्देश्यका साथ सन् २०१७ मा उनी कतार गएका थिए। कतारमा उनले पानी र फर्निचर उद्योगमा श्रमिकको काम गरे। 

विदेशको आर्जन घर पठाउन थालेको केही अवधिमै राउत जेल परे। त्यसपछि बाँचेर घर फर्किन पाइएला भन्ने आश नै उनले मारेका थिए। उनकी पत्नी कुमारी राउतले ज्याला मजदुरी गरेर छोराछोरीको पालनपोषण र पढाइको जोहो गर्दै गइन्। गाउँलेले सहयोग नजुटाएको भए परिवारले ब्लडमनी बुझाउने अवस्था थिएन।

बस्नका लागि कनकाई–४ को एक कठ्ठा ऐलानी जग्गामा सानो भुइँघर छ । त्यसको धनीपुर्जा कहिले पाइने हो टुङ्गो छैन । ‘वडा कार्यालयमा जग्गाको धनीपुर्जा भनिन्।

पति कतारको जेलमा परेपछि घर चलाउन रु चार लाख जति ऋणमा परेको उनले बताइन्। सुवास कतारको जेलमा परेको खबर सुनेर आमा दुर्गामाया राउतको मृत्यु भएको थियो। आमाको काजकिरिया राउतले स्वदेश फर्केपछि गरेका छन्।

रोजगारी दिने कनकाई बेभरेजका सञ्चालक किरण दवाडीले ब्लडमनी तिरेर आएलगत्तै आफूले रोजगारी दिएको बताइन्। ‘विदेश जानुभन्दा अगाडि पनि हाम्रो उद्योगमा काम गर्नुभएको थियो’, दवाडीले भने, ‘साह्रै सोझो र इमान्दार हुनुहुन्छ। त्यस्तो मान्छेलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँदा हामीलाई पत्यार लागेको थिएन। उहाँ निर्दोष हो भनेरै सबै गाउँलेहरु ब्लडमनी रकम सङ्कलन अभियानमा जुटेका थियौँ।’

यसरी सम्भव भयो पुनर्जीवन
कतारस्थित आफ्नो डेरामा २०७६ सालको चैततिर साथीहरुको जमघटमा झगडा हुँदा खोटाङ जिल्लाको ऐँसेलुखर्क–५ का लामाकाजी राईको दुःखद् निधन भएको थियो। राई र राउत एउटै कोठामा बस्ने अत्यन्त मिल्ने साथी थिए। 

नुहाएर कोठामा आउँदा राईको शरीरमा छुरी गाडिएको अवस्था थियो भने अरु साथीहरु भागिसकेका थिए । साथी बचाउन खोज्दा लागेको फिङ्गर प्रिन्टका आधारमा अदालतले राउतलाई मृत्युदण्डको फैसला सुनाएको थियो।

कहिल्यै मदिरा नखाने र झैझगडा नगर्ने स्वाभावका राउतलाई यस्तो अभियोग लागेको विषयमा गाउँलेलाई पत्यार लागेको थिएन । कतारमा सम्पर्क गर्दा राउतले आफू निर्दोष रहेको बताएपछि कनकाई–४ का तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा बचाउने अभियान सुरु गरिएको थियो।

सोही अभियानले खोटाङ गएर मृतकको परिवारसँग सम्पर्क गरेको कनकाई–४ का वर्तमान वडाध्यक्ष रोशन सुवेदीले बताए। ‘अभियानका साथीहरुले मृतकका परिवारलाई भेटेर ब्लडमनीबापतको रकम १५ लाख बुझाउने सहमति गर्नुभयो,’ वडाध्यक्ष सुवेदीले भने, ‘राउत निर्दोष थिए भन्ने कुरा राई परिवारलाई पनि महसुस भएको रहेछ । एउटा साथीको मृत्यु भयो, अर्को साथीलाई पनि किन जेलमा सडाउने भन्ने कोणबाट छलफल हुँदा राई परिवारसँग सहमति भएको हो।’

ब्लडमनी जुटाउन ‘राउत बचाउ अभियान’ले स्वदेश र विदेशमा रहेका नेपालीबाट रकम सङ्कलन गरेको थियो। अभियानबाट रु २० लाख २४ हजार छ सय ५० सङ्कलन भएको र ब्लडमनी बुझाएर बचत रहेको रु दुई लाख ५० हजार स्थानीय कनकाई बालविकास केन्द्रलाई सहयोगबापत हस्तान्तरण गरिएको अभियानका सचिव किरण दवाडीले बताए।

सुवासलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन कनकाई नगरपालिका, स्थानीयवासी, एनआरएन, कतार दूताबास लगायतबाट सहयोग प्राप्त भएको कनकाइ नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल बताउछन्। 

‘उहाँ निर्दोष हुनुहुन्थ्यो, त्यसैले ब्लडमनी जुटाएर फर्काउन केही सहज भयो”, नगरप्रमुख पोखरेल भन्छन्, ‘नत्र ब्लडमनी जुटाउन नसकेर विदेशको जेलमा अहिले पनि कष्टपूर्ण जीवन बिताइरहेका थुप्रै नेपाली छन्। 

तीन वर्ष तीन दिन कतारको जेलमा बसेर घर फर्किएका सुवास राउतको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनी पानी उद्योगको नियमित कामकाजमा लागेका छन्। उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .