कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई भोजपुर प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले अभियुक्त राईलाई ललितपुरमा बसोबास गर्दै गरेको अवस्थामा पक्राउ गरी भोजपुर ल्याइएको जानकारी दिए।
विसं २०५० मङ्सिर ३ गते राईसहितको संलग्नतामा साविक कोट गाविसका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्याका मुख्य प्रतिवादी शुक्रदेव राईको फरार रहेकै अवस्थामा मृत्यु भइसकेको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी राख्दै अन्य संलग्न प्रतिवादीको खोजी जारी रहेको प्रहरी प्रमुख पाठकले बताए।
विसं २०६१ भदौ २८ गते जिल्ला अदालत भोजपुरबाट पूर्णहाङलाई घटनामा संलग्न रहेको भन्दै तीन वर्ष कैदको सजाए भएको थियो । फरार रहेका मुख्य प्रतिवादी शुक्रदेवलाई भने अदालतले २० वर्षको कैद सजाए तोकेको थियो।
त्यसपछि मङ्सिर ३ गते विवाद मिलाउने क्रममा उनीहरुबीच राजधनमाथि कुटपिट भएको थियो। त्यसक्रममा शुक्रदेव राईले खुकुरी प्रहार गरी उनको हत्या गरेका प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया