गए राति आएको हावाहुरीका कारण झापा र मोरङमा विद्युत् सेवा अवरुद्ध भएको छ।
विराटनगर तथा बिर्तामोड क्षेत्रका विभिन्न ठाउँमा पोल ढलेपछि विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। गए राति करिब १०-११ बजे आएको तीव्र गतिको हावाहुरीले गर्दा विद्युतका पोलहरू ढलेका, भाँचिएका तथा उच्च भोल्टेज लाइनमा ठूला–ठूला रुखहरू ढलेर क्षति पुगेपछि प्रणालीमा अवरोध आएको विराटनगर वितरण केन्द्रले जनाएको छ।
वितरण केन्द्रका अनुसार लाइन चालु हुनेबारे अहिले कुनै टुङ्गो छैन। सबै क्षेत्रमा क्षति पुगेकाले के कति समय लाग्छ भन्ने टुङ्गो लगाउन नसकिएको जनाएको छ।
वितरण केन्द्रको प्राविधिक तथा मर्मत टोली बिहानैदेखि फिल्डमा खटिएको छ। वितरण केन्द्रले सम्भावित दुर्घटनाबाट बच्न र मर्मत कार्यलाई तीव्र बनाउन ग्राहकलाई सहयोगको अपिल गरेको छ।

गए रातिको हावाहुरीका कारण घरका छाना उडेका छन्। यो क्षेत्रमा मकै, केरा, आँप र लिचीमा पनि क्षति पुगेको छ।
रुख ढलेकाले केही भित्री सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। यातायात नै अवरुद्ध हुने अवस्था नआएको भए पनि केही ठाउँमा रुखहरू ढलेको तथा विराटनगर लगायतका आसपासमा विभिन्न ठाउँमा पोल ढलेको प्रहरीको भनाइ छ।
विराटनगर वितरण केन्द्रले राति आएको अत्यधिक हावाहुरी तथा पानीले गर्दा ३३ केभी विराटनगर, ३३ केभी मल्टिफ्युल, ३३ केभी कटहरी र ३३ केभी विराटनगर औद्योगिक फिडरहरू फल्ट भएको जनाएको छ। मर्मत सम्भारको काम भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ।
Shares

प्रतिक्रिया