समाज


मनी ट्रान्सफर सञ्चालकलाई गोली हानेर रकम लुट्ने ३ भारतीय किशोर पक्राउ

मनी ट्रान्सफर सञ्चालकलाई गोली हानेर रकम लुट्ने ३ भारतीय किशोर पक्राउ

नेपालखबर
चैत ५, २०८० सोमबार २०:४७, रौतहट

मनी ट्रान्सफर सञ्चालकलाई गोली हानी रकम लुटेर फरार भएका ३ जना भारतीय किशोरलाई रौतहट प्रहरीले हतियारासहित पक्राउ गरेको छ। 

रौतहटको परोहा नगरपालिका - ९ मा रहेको शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानेर फरार भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना चिरैया दिपही गाउँ वडा नम्बर- २ घर भएका १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँमा १८ वर्षीय राजकुमार पासवान र २० पर्षीय चन्द्रभान सिंह छन्। 

उनीहरुले यही चैत २ गते दिउँसो मनी ट्रान्सफरमा पुगेर साहलाई गोली प्रहार गरी रकम लुटेर फरार भएका थिए। गोली लागेर गम्भीर घाइते भएका साहको अहिले बाराको परवानीपुरमा रहेको एलएस न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना लगत्तै सबै नाकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव निरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन्।

घटना लगत्तै उनीहरुको खोजीमा रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठ आफैँ खटिएका थिए। 

जिल्ला प्रहरी कार्यालयबाट एसपी श्रेष्ठको कमाण्डमा ३० जना र घटनास्थल वरपरका विभिन्न प्रहरी युनिटहरुबाट ३० जना गरी ६० जना प्रहरी टोली उनीहरुको खोजीमा तत्कालै भारतीय सीमा क्षेत्रका विभिन्न नाकामा परिचालन भएको थियो। 

उनीहरु भारत भाग्न सक्ने सम्भावित नाकाहरुमा खोजी गर्ने क्रममा तीनै जनालाई पक्राउ गरिएको डीएसपी गिरीले जानकारी दिइन्। 

प्रहरीले उनीहरुको साथबाट बीआर ०६सीएल९७९६ नम्बरको भारतीय मोटरसाइकल, एक राउन्ड खोका लोड भएको घरेलु हतियार जस्तो देखिने कटुवा पेस्तोल १ थान, कटुवा पेस्तोलमा प्रयोग हुने ८ एमएमको गोली एक थान, ७.६२ एमएमको गोली लाग्ने अर्धस्वचालित पेस्तोल एक थान र त्यसमा लाग्ने एक थान म्यागजिन र पाँच राउन्ड गोली तथा फायर भएको बुलेट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। 

उनीहरुले मनी ट्रान्सफरबाट बरामद गरेको रकम पनि प्रहरले बरामद गरेको छ। रौतहट प्रहरीले पत्रकार सम्मेलन गरेर तीनैजना किशोरलाई सार्वजनिक गरेको छ। 

उनीहरुलाई ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाका सम्बन्धी कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी गिरीले जानकारी दिइन्। 

गोली प्रहारबाट घाइते भएका साहको चिन्ताजनक अवस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .