सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। छाेराले प्रहार गरेकाे गाेली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ।
गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ।
प्रहरीले घटनास्थलमा प्रयोग भएको दुई राउन्ड गोलीको खोका र एक राउन्ड मिस फायर भएको गोली बरामद गरेको छ । हतियार भने फेला नपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
‘टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको छ,’ डीएसपी दीपक श्रेष्ठले नेपालखबरसँग भने, ‘हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।’
धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत)बाट फर्किएको पाइएको प्रहरीले जनाएको छ। उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन।
‘घरायसी विवादमा हत्या भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्यापछि उनी फरार छन्। हामी खोजी गरिरहेका छौँ।’
मध्यराति घरमा पुग्नासाथ उनले गोली प्रहार गरेर पत्नीको हत्या गरेका हुन्।
बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीले गरेको छ। गोली लागे पनि युवकका बुवाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घिरेन्द्र र चित्रलेखाका एक छोरी छन्। उनी भने सकुशल छिन्।
प्रहरीका अनुसार धिरेन्द्रले पत्नी र बुवामाथि तीन गोली प्रहार गरेका पाइएकाे छ। एउटा गोली भने मिसफाइर भएको प्रहरीले जनाएको छ। गोली प्रहारपछि उनी मोटरसाइकल चढेर भारततिर भागेको आशंका स्थानीयले गरेका छन्।
Shares

प्रतिक्रिया