समाज


पत्नीको हत्या र आफ्नै बुवामाथि गोली प्रहार गरेको १ वर्ष नबित्दै अर्को हत्या

मोटरसाइकल दुर्घटना हुँदा पक्राउ परे ‘मस्ट वान्टेड’ आरोपी, अर्का फरार
पत्नीको हत्या र आफ्नै बुवामाथि गोली प्रहार गरेको १ वर्ष नबित्दै अर्को हत्या

मृतक रामपुकार यादव


नेपालखबर
भदौ २, २०८२ सोमबार २२:७, काठमाडौँ

चार दिनअघि सर्लाहीको हरिपूर्वा नगरपालिका- ६ का रामपुकार यादवलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले हरिपुर्वा-५ घर भएका २६ वर्षीय धर्मेन्द्र रायलाई पक्राउ गरेको छ। 

गएको शुक्रबार राति धर्मेन्द्रसहित दुई जनाले गोली प्रहार गर्दा रामपुकारको मृत्यु भएको थियो। 

रामपुकार आफ्नै घर अगाडी बसिरहेको अवस्थामा शुक्रबार राति सवा ८ बजेतिर बीआर ३० एजी २३५४ नम्बरको भारतीय मोटरसाइकमा गएका धर्मेन्द्रसहित दुई जनाले रामपुकारमाथि कटुवा पेस्तोलबाट गोली प्रहार गरेका थिए। 

गोली लागेर गम्भीर घाइते भएका रामपुकारको तत्कालै मृत्यु भएको थियो। आफन्तले महोत्तरीको सोनामा गाउँपालिकास्थित जानकी हेल्थ केयर पुर्याउँदा स्वास्थ्यकर्मीले यादवको मृत्यु भइसकेको पुष्टि गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार रामपुकार यादवका छोरा सुमितसँग धर्मेन्द्रको झैझगडाको निहुँमा यो हत्या घटना भएको हो।

पक्राउ परेका धर्मेन्द्र यसअघि पनि आफ्नै पत्नीको हत्याका आरोपी भएका प्रहरीले जनाएको छ। पत्नीको हत्यापछि फरार रहेका धमेन्द्र  प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए। 

उनले २०८१ साल असोज १० गते हरिपुर्वा- ५ स्थित आफ्नै घरमा पत्नी २३ वर्षीया चित्रलेखा कुमारी यादव र बुवा  ५४ वर्षीय राम दिनेश यादवमाथि पनि गोली प्रहार गरेका थिए। 

गोली लागेर चित्रलेखाको घटनास्थलमा नै मृत्यु भएको थियो भने बुबा राम दिनेश घाइते भएका थिए। 

आफ्नै बुवा र पत्नीमाथि गोली प्रहार गरेपछि धर्मेन्द्र भने फरार थिए। 

उनीविरुद्ध बुवा राम दिनेश रायले २०८१ असोज १४ गते कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दिएका थिए। 

धिरेन्द्रको खोजी भइरहेको बेला उनले फेरि अर्को हत्याकाण्ड मच्चाएका प्रहरीले जनाएको छ। 

शुक्रबार रामपुकारमाथि गोली प्रहार गरेपछि उनीहरु मोटरसाइकल चढेर भागेका थिए। त्यस क्रममा उक्त मोटरसाइकल हरिपूर्वा-७ बसन्तपुर-बाँके-संग्रामपुर सडक खण्डमा दुर्घटनामा परेपछि धिरेन्द्र घाइते भएका थिए।

उनलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको भए पनि नाम सार्वजनिक गरेको थिएन।  दुर्घटनामा घाइते भएका धिरेन्द्रलाई प्रहरीले सुरुमा लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार गरेर थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगेको थियो। 

उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार रामपुकारको हत्या हुँदा मोटरसाइकल धिरेन्द्रले चलाएका थिए। उनको पछाडि बस्ने युवकले रामपुकारमाथि गोली चलाएका थिए। गोली प्रहारपछि उनीहरु तत्कालै फरार भएका थिए। मोटरसाइकलको पछाडि बस्ने युवकको परिचय भने प्रहरीले खुलाएको छैन। 

पत्नी हत्यापछि फरार रहँदै आएका धिरेन्द्र सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-९ स्थित सुशिल साहको घरमा डेरा गरि बस्दै आएको खुलेको छ। 

उनको कोठामा खानतलासी गर्दा नलकटुवा पेस्तोल एक थान र फायर भइसकेको गोलीको खोका एक थानसमेत बरामद भएको प्रहरीले जनाएको छ। 

धिरेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट सोमबार कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएकोजिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad