सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ। अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरेकाे पीडितपक्षकाे गुनासाे छ।
सिराहाकाे औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पले डसेपछि आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए। तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो। अन्ततः अन्यत्र रेफर गरिएपछि उनकाे मृत्यु भएको पीडितपरिवारले आरोप लगाएका छन्।
यस घटनापछि सिराहा विकास मञ्चसहित पीडित परिवार र स्थानीयवासीले बुधबार अस्पताल परिसर र सिरहा बजार क्षेत्रमा विरोध प्रदर्शनसमेत गरेका थिए।

मञ्चका संयोजक रामरिझन यादवले भने, ‘उपचार गर्न आग्रह गर्दागर्दै बिरामी बेहोस भए, अनि रेफर गरियो। समयमै उपचार भएको भए ज्यान बच्थ्यो। अस्पतालको चरम लापरबाहीको नतिजा हो यो।’
प्रदर्शनकारीले तीन बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। मागमा कार्यक्षेत्रमा रहेका चिकित्सकमाथि कारबाही, अस्पतालमा सर्पदंश उपचारको उचित व्यवस्था र एक हप्ताभित्र सघन उपचार कक्ष (आइसियू) तथा भेन्टिलेटर स्थापना गर्नुपर्ने उल्लेख छ। गरिब किसानहरू उपचार नपाएर ज्यान गुमाउने अवस्था आएको संयोजक यादवले गुनासाे गरे।
यसबीच, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिलप्रसाद कुशवाहाले अस्पतालमा बिरामीलाई राख्नको लागि भेन्डिलेटर नभएकाले अन्यन्त्र रेफर गर्नुपरेको जानकारी दिए। उनले भने, ‘बिरामीलाई तत्काल १० भाइल एन्टिस्नेक भेनम दिइएको थियो । तर, अवस्था गम्भीर भई भेन्टिलेटरको आवश्यकता देखिएपछि रेफर गर्नुपरेको हो।’
Shares

प्रतिक्रिया