सिरहाको लहान नगरपालिका-१३ घलेटोलमा सोमबार दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।
प्रहरीको प्रारम्भिक विवरणअनुसार, आगलागीबाट स्थानीय २५ किसानको करिब एक करोड १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईका अनुसार दिउँसो उखुबारीको मध्यभागबाट आगो सल्किएको थियो।
आगालागी भएको खबर पाउने वितिक्कै प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय बासिन्दाको सहयोगमा आगो मानव बस्तीमा फैलिन नदिइएको डीएसपी राईले बताए।
गोलबजार नगरपालिकाबाट आएको दमकलको सहयोगमा करिब चार घन्टापछि आगो निभाइएको थियो। लहान नगरपालिकाबाट गएको दकमलको पानी फाल्ने मोटर बिग्रिएपछि गोलबजारबाट सहयोग मगाइएको थियो।
उखुबारीको मध्यभागबाट आगो सल्किएकाले कसैले चुरोट वा बिँडी पिएर ठुटो फालेको वा नियतवश आगो लगाएको हुनसक्ने प्रहरीको आशंका छ। घटनाबारे अनुसन्धान थालिएको डीएसपी राईले बताए।
पीडित किसान रामलखन मण्डलले उखु बेचेर घरायसी खर्च र ऋण तिर्ने योजना रहेको दुःखेसो पोखे। ‘लागतसमेत डुब्यो, दोषी पत्ता लगाएर क्षतिपूर्तिसहित कारबाही हुनुपर्छ,’ उनले भने।
अर्का किसान कपिलदेव यादवले उखुमा आगो लगाउने जोसुकै भए पनि किसानमाथि अपराध गरेको बताए। उनले आगो लगाउनेलाई कारबाही गर्न माग गरे।
उनका अनुसार, उखु रोप्नुअघि र रोपेपछि मलखाद र सिँचाइ उपलब्ध हुँदा प्रतिकट्ठा औसत ३० देखि ३५ क्विन्टल उत्पादन हुन्छ। चिनी उद्योगलाई बेच्दा प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी ६९० रुपैयाँ आम्दानी हुनेगर्छ।
यस आधारमा ३० बिघा क्षेत्रफलमा करिब १८ हजार क्विन्टल उखु जलेको अनुमान गर्दा क्षति एक करोड २४ लाख २० हजारसम्म पुग्ने देखिएको किसानको भनाइ छ।
Shares

प्रतिक्रिया