मिथिलाको महाकुम्भ मानिएको१५ दिने मिथिला मध्यमिकी परिक्रमा आज जनकपुरधाम आइपुगेको छ ।
यही फागुन ४ गतेदेखि विधिवत रुपमा सुरु भएको परिक्रमामा सहभागी सोमबार बिहान जनकपुरधाम आइपुगेका हुन्।
परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले सोमबार राति जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहान पूजापाठ गरी जनकपुरधामको अन्तगृह परिक्रमा गरेपछि परिक्रमा विधिवतरुपमा सम्पन्न हुनेछ।
अन्तगृह परिक्रमामा जनकपुरधाम नगरको परिक्रमा गरिन्छ, जसलाई पञ्चकोसी परिक्रमा समेत भनिन्छ। अन्तगृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरुले समेत भाग लिने गर्दछन् । परिक्रमा सम्पन्न भएपछि मधेशमा होली मनाउने चलन छ।
मिथिला महात्मयका अनुसार वृहत, मध्यमा एवं लब्धि गरी तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमालाई भनिएको छ।
फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरुवात हुन्छ।
१८ औं शताब्दीको प्राचीन समयमा सियालालजी शरण नाम गरेका सन्तले मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ परिक्रमा सुरुवात गरेका थिए।
नेपाल र भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीकको रुपमा यो परिक्रमा अन्तर्गत नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थलसहित १ सय ३३ किलोमिटर पैदलयात्रा सहभागीहरूले तय गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया