भारतबाट कपडा ल्याउँदै गरेको समूहले सप्तरीको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमण गरेको छ। उनीहरूले ढुंगामुढा गर्दा एक जना प्रहरी घाइते भएका छन्।
सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिक बिहीबार बिहान सामान ओसारपसार गर्ने समूहले प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ। आक्रमणबाट प्रहरी चौकी रामनगर कोदरकट्टीका इन्चार्ज असई रामकुमार यादव घाइते भएका छन्।
कपडा ल्याउँदै गरेको सूचनाका आधारमा रामनगर कोदरकट्टी प्रहरी चौकीबाट खटिएको टोली बिहान करिब ४ बजेतिर दशगजा क्षेत्रमा पुगेको थियो। सीमा स्तम्भ नं. २४३ नजिक पुगेर कपाडा ल्याउँदै गरेको समूहलार्य नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको जनाइएको छ।
प्रहरीका अनुसार, उनीहरूले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए। अचानक भएको आक्रमणमा प्रहरी चौकीका इन्चार्ज असई यादव घाइते भएका हुन्। घटनापछि केही समय सीमा क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो।
घटनाको जानकारी पाएलगत्तै थप सुरक्षा टोली परिचालन गरिएको थियो। सुरक्षा निकायको सक्रियतापछि अवस्था नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न व्यक्ति भागेका छन्।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले यसबारे बुझ्ने काम भइरहेको बताए। ‘प्रहरीमाथि कुटपिट भएको भन्ने कुरा जानकारी आएको छ, तर वास्तविक के हो बुझ्दै छु र वास्तविक कारण तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको छ,’ डीएसपी घिमिरेले भने।
Shares

प्रतिक्रिया