समाज


सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान

सरकारी वकिल कार्यालयमा रविसँग तीन घण्टा बयान

उजिर कार्की
कात्तिक ६, २०८१ मंगलबार १९:४७, काठमाडौँ

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा मंगलबारबाट लामिछानेसँग बयान लिन सुरु गरिएको हो। 

मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकारीहरूले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर लामिछानेसँग तीन घण्टा बयान लिएका छन्। 

दिउँसो एक बजेदेखि अपरान्ह चार बजेसम्म लामिछानेसँग बयान लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले बताए। 

उनले भने, ‘आजबाट औपचारिक बयान सुरु भएको छ। हिजो विभिन्न बैंकहरूमा पत्राचार गर्ने काम भयो। भोलि बयान गर्ने कि नगर्ने भन्ने सरकारी वकिलसँग सल्लाह गर्छौं। हामीले पत्राचार गरेका बैंक तथा कार्यालयहरूले जवाफ पठाएपछि मागेका विवरण उपलब्ध गराएपछि त्यसमा आधारित भएर पनि बयान लिँदै जान्छौँ। उनको बयान सकिएको छैन। चरण–चरणमा भइरहन्छ।’

लामिछानेको बयान जिल्ला न्यायाधिवक्ता कमला काफ्लेको रोहबरमा भइरहेको छ। 

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत शुक्रबार नै काठमाडौँबाट पक्राउ गरेर कास्की लगेर बुझाएको थियो। शनिबार राति नै पुर्‍याए पनि सार्वजनिक विदाका कारण त्यसदिन अनुसन्धान अगाडि बढेन। उनलाई अदालतमा उपस्थित गराएर म्याद थपको काम पनि बाँकी थियो। 

आइतबार लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराउने बेलामा रास्वपाका कार्यकर्ताले अवरोध गरेका थिए। उनीहरूको आन्दोलनका कारण प्रहरीले ढिलो गरी मात्रै अदालतमा उपस्थित गराएको थियो। 

आइतबार जिल्ला अदालतले लामिछानेलाई पक्राउ परेको मितिबाट ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ। उक्त म्याद बुधबार सकिँदैछ। तर प्रहरीले बुधबारसम्ममा अनुसन्धान नसक्ने भएको छ। बयान नै बाँकी रहेको प्रहरी अधिकारीहरूले बताए।

‘भोलि नै बयान सकिँदैन। बिहीबार छविलाल जोशीसँगै अदालतमा म्याद थपका लागि फेरि उपस्थित गराउँछौँ। हामीसँग करिब एक महिना समय छ। त्यो समयभित्रमा हामीले सक्नुपर्छ। त्यसपछि अदालतमा मुद्दा लैजान्छौँ। अरु आरोपितहरूलाई पनि पक्राउ गर्ने अनुमति पाएका छौँ। उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने हुन्छ। यसअघि पक्राउ परेका र अब पक्राउ पर्ने सबैविरुद्ध एकसाथ मुद्दा अदालत जाने हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने। 

जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीहरूले यसअघि पनि लामिछानेसँग सोधपुछ कागज गरेका थिए। गोर्खा मिडिया नेटवर्क, नेचरहब्स र नेचर नेस्ट कार्यालयमा प्रहरीले छापा मारेको थियो। छापा मारेर केही कागजात नियन्त्रणमा लिइसकेपछि उनीसँग प्रहरीले सोधपुछ गरेको थियो। 

यस्तै सहकारीका समस्याबारे संसदीय छानबिन समितिले पनि उनीसहित छविलाल जोशी र अन्य आरोपितसँग बयान लिएको थियो। यसअघिका बयानमा उनीहरूले आफ्नो संलग्नता इन्कार गरेका थिए। यस्तै प्रमाणले पुष्टि गरेका विषयमा पनि आफूलाई थाहा नभएको जवाफ दिएका थिए। 

तर प्रहरीले अदालतमा मुद्दा लैजानुअघि सरकारी वकिलको रोहबरमा छुट्टै बयान लिन्छ। 

उनीमाथि सूर्यदर्शन, सुप्रिम, सहारा लगायतका ५ वटा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। त्यसमा पनि लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रुपैयाँ गएको र उक्त रकम अपचलन गर्दा अधिकांश चेक लामिछानेले नै जारी गरेको संसदीय छानबिन समितिको ठहर छ। 

सोही संलग्नताका आधारमा उनलाई कानुनी दायरामा ल्याउन संसदीय छानबिन समितिले सिफारिस गरेको थियो। समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। 

उनलाई गोर्खा मिडियामा रकम गएका भनिएका सबै सहकारी रहेका जिल्लामा लगेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ। यस्तै कसुरमा गत असोज ६ गते पक्राउ परेका छविलाल जोशीलाई इलाका प्रहरी कार्यालय बुटवल लगिएको छ। त्यहाँ उनीमाथिको अनुसन्धान बयान लगायतका काम सकेर पुनः पोखरा फर्काइने छ। 

यस्तै चितवनको सहारा सहकारीमा पनि उनीहरूको संलग्नता देखिएको छ। यसअघिकै अभियोगमा गोर्खा मिडियामा गएको रकम बारे पुनः अनुसन्धान गर्नु पर्ने सरकारी वकिल कार्यालयले उल्लेख गरेको छ। 

यही मुद्दामा पटकपटक पक्राउ गर्न नमिल्ने भएकाले प्रहरीले अहिले पक्राउ परेकै बेलामा सबै सहकारीको अनुसन्धान गर्ने भएको हो। एउटा जिल्लाको अनुसन्धान सकिएपछि अर्को जिल्ला पठाउने र अनुसन्धान गर्ने प्रहरीको तयारी छ। वीरगन्जको साना पाइला तथा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट पनि गोर्खा मिडियामा अवैध रुपमा बचतकर्ताको रकम गएको पाइएको छ। 

गोर्खा मिडियाको सञ्चालकमा रवि र छविसँगै जीबी पनि थिए। उनी सबै सहकारीको मुद्दामा मुख्य कसुरदार हुन्। तर उनी हाल भागेर मलेसियामा बसिरहेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी गराए पनि उनलाई नेपाल ल्याउने प्रयास सफल हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad