बैतडीको दशरथचन्द नगरपालिका-१० खडेनीका २५ वर्षीय जीवन बुडालको शव परिवारले अझै बुझेका छैनन्।
घटना भएको ६ दिन बित्दाप नि आफन्तले शव नबुझेका हुन्।
उनीहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र पठाउँदै अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बोलाउन माग गरेका छन्।
बुडाल पत्नी अनिषा कुलुमले दिएको ज्ञापनपत्रमा राजनीतिक दबाबले अनुसन्धान कार्य प्रभावित हुनसक्ने भन्दै विज्ञ टोली पठाइदिन अनुरोध गरिएको छ।
‘राजनीतिक चलखेलबाट अनुसन्धानसमेत फितलो हुन गई वास्तविक अपराधीले उन्मुक्ति पाउने र निर्दोष फस्न सक्ने भएकाले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई उम्किन नदिन केन्द्रीय अनुसन्धान व्युरो काठमाडौंबाट विज्ञ प्रहरी टोली झिकाइदिन अनुरोध गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ।
उक्त टोली नआउँदासम्म शव नबुझ्ने अडान परिवारले लिएको छ। माग पूरा नभएमा न्यायका लागि आन्दोलन गर्ने चेतावनी पनि परिवारजनले दिएका छन्।
परिवारले बुडालको हत्या भएको दाबी गर्दै आएको छ। बुडाल पत्नी अनिषाले कर्तव्य ज्यान मुद्दामा सँगै पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरीसमेत दिइसकेकी छन्।
राष्ट्रिय अनुसन्धान विभागका सहायक सुचक बुडालको शव गत शनिबार राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा फेला परेको थियो।
उनी बझाङमा कार्यरत थिए। त्यो दिन सँगै पिकनिङ खान गएका १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएपनि परिवारजन अझै विश्वस्त हुन सकेका छैनन्।
१२ जनामा केही राजनीतिक दलका कार्यकर्तासमेत भएकाले अनुसन्धान कार्य प्रभावित भइरहेको उनीहरुको बुझाई छ।
बुडाल महाकालीको किनार खडेनीका बासिन्दा थिए। उनी पौडी खेल्न सिपालु थिए। उनी चौलानी नदीमा डुबेको भनिएपनि त्यसो नभई कर्तब्य गरी ज्यान लिएको दाबी परिवारजनको छ।
शनिबार दिउसो १ बजे घटना भएपनि प्रहरीलाई त्यसको जानकारी सँगै गएकाहरुले राति ६ बजेमात्र गरेको देखिएको छ।
मृतक बुडालको मोबाइल पनि साथीहरुसँगै भेटिएको थियो। नियन्त्रणमा लिइएका १२ जनाको पनि बयान एक आपसमा बाझिएको प्रहरी स्रोतले जनाएको छ।
बुडाल पत्नी अनिषाले ज्यानसम्बन्धी कसुरमा १२ जनाविरुद्ध किटानी जाहेरी दिएपछि बैतडी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।
बुडाल साथी र इष्टमित्रहरुसँग शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक खान भन्दै सेरा हुँदै जाडाबगड पुगेका थिए। सेरासम्म म १ ज २२२ नम्बरको जिपमा गएको उक्त टोली त्यहाँबाट पैदलै जाडाबगरस्थित चौलानी किनार पुगेको थियो।
जाडाबगर एकान्त र सुनसान स्थल भएकाले पिकनिकका लागि धेरैले यो गन्तब्य रोज्ने गरेका छन्। माछा मार्दै पिकनिकमा रमाइलो गर्ने उद्धेश्यले बुडालसहितका १२ जना त्यहाँ पुगेका थिए।
प्रतिक्रिया