समाज


उखुखेतीसँगै जुसको व्यवसाय, दिनमै कमाउँछन् ६ हजार

उखुखेतीसँगै जुसको व्यवसाय, दिनमै कमाउँछन् ६ हजार

गोकुल जोशी
जेठ ३, २०८३ आइतबार २०:२४, कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ का नथ्थु रानाले एक वर्षअघिसम्म पनि आफूले उत्पादन गरेका उखु चिनी मिललाई बेच्दै आएका थिए। तर यस वर्षबाट भने उनले चिनी मिललाई उखु बेच्न छाडेका छन्।

एक बिघा जमिनमा उखु खेती गरेका उनले अहिले जुसको व्यवसाय थालेका छन्। समयमै उखुको पैसा र उचित मूल्य नपाउने समस्या भएपछि उनले मिललाई उखु बेच्नुको साटो आफैँ व्यवसाय थालेका हुन्। यसले उनको आम्दानी मात्र बढाएको छैन, उखु बेचेको पैसा लामो समयसम्म नपाउने समस्या पनि हटेको छ।

नथ्थुले उखु पेल्ने मेसिन जडान गरिएको गाडी लिएका छन्।  त्यही  गाडीको अगाडि उखु पेल्ने मेसिन छ। नजिकै घुमाउन मिल्ने ‘स्टेरिङ’ जोडिएको छ। पछाडि उखु राख्न मिल्ने ‘ट्रली’ छ। अहिले यही मेसिन जडान गरिएको गाडी गाउँघर डुलाउँदै जुस बिक्री गर्छन्, नथ्थु।

उनका छोरा कैलाशले युट्युबमा हेरेर उखु पेल्ने मेसिन जडान गरिएको गाडी बनाउन लगाएका हुन्। जसले नथ्थुलाई उखु पेलेर जुस निकाल्न र गाउँगाउँ डुल्न सहज भएको छ।

‘पहिले चिनी मिललाई उखु बेच्थ्यौँ। अहिले त्यो बाध्यता हटेको छ। छोराले युट्युबमा उखु पेल्ने मेसिन जडान गरिएको गाडी देखेको थियो,’ नथ्थु भन्छन्, ‘अनलाइनबाट यसबारे जानकारी लिएपछि भारतको पञ्जाबबाट बनाएर ल्याएका हौँ।’

उनका अनुसार यसमा साढे तीन लाखको लगानी लागेको छ। जुस बिक्री गर्न नथ्थुलाई उनका छोरा कैलाशले पनि सघाउँछन्।

कक्षा ८ मा अध्ययन गर्ने कैलाश विद्यालय बिदाको समयमा बुबासँगै शुक्लाफाँटाका गाउँगाउँ डुल्छन्। नथ्थुको सात जनाको परिवार छ। उखु खेती र त्यसको जुस बिक्री गरेर उनले परिवारको गुजारा चलाएका छन्।

‘अरूको मेसिन एउटै ठाउँमा सेट गरिएको हुन्छ। यसमा हामी एक ठाउँबाट अर्को ठाउँ डुल्दै व्यापार गर्न सक्छौँ,’ नथ्थु भन्छन्, ‘जसले धेरै सहयोग पुगेको छ, छोराछोरीको पढाइ खर्च सबै यसबाट जुटेको छ।’

दैनिक ६ हजार बचत हुने गरेको नथ्थुको भनाइ छ। तराईमा गर्मी बढ्दै गएपछि उखुको जुसको माग पनि बढिरहेको छ। नथ्थुलाई माग पूर्ति गर्न भ्याइनभ्याइ छ।

‘गाडी बनाउँदा लागेको खर्च असुल गर्न सफल भएका छौँ,’ उनले भने, ‘अबको व्यापारबाट संकलन हुने सबै फाइदानै हुन्छ।’

अहिले उखुको जुस बेच्नेहरूको संख्या पनि बढ्दै गएको छ। गर्मी बढेसँगै भीमदत्त नगरपालिका–१८, सालघारीका ३० वर्षीय नीमबहादुर चौधरीलाई पनि उखुको जुस बेच्न भ्याइनभ्याइ छ।

महेन्द्रनगरमा उखुको जुस बेच्ने काम गरिरहेका नीमबहादुरले राम्रो आम्दानी गरिरहेका छन्। तीन सदस्यीय परिवारको घरखर्च उनकै आम्दानीमा चलेको छ। खर्च कटाएर दैनिक १ हजार ५ सयभन्दा बढी बचत हुने गरेको उनी बताउँछन्।

‘गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक दुई हजार ५ सयदेखि ३ हजार रूपैयाँको कारोबार भइरहेको छ,’ उनले भने, ‘स्वदेशमै ठीकै आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता आएको छैन।’

५० रूपैयाँ प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ। ‘प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सबै सकिन्छ,’ नीमबहादुरले भने, ‘प्रतिक्विन्टल एक हजारमा उखु पाइन्छ।’

उनले ९३ हजार रूपैयाँमा उखु पेल्ने मेसिन किनेर यो व्यवसायमा हात हालेका थिए। यो व्यवसायमा आउनुअघि उनलाई विदेश जाने सोच पनि नआएको होइन। तर एकपटक आफ्नै देशमा केही गरौँ भनेर व्यवसायमा आएको उनले बताए। ‘अर्काको देशमा दु:ख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ,’ उनले भने।

यसअघि नीमबहादुरले घर बनाउने मिस्त्रीको काम गर्थे। ‘कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्लाजस्तो भएन,’ उनले भने, ‘त्यही भएर विदेश जानुभन्दा यहीँ केही गर्छु भनेर यो व्यवसायमा लागेको हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad