ad ad

खेल


सरस्वतीको ओलम्पिक यात्रा

सरस्वतीको ओलम्पिक यात्रा

त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती चौधरी । तस्बिरः सुजन श्रेष्ठ


लक्ष्मी जि.सी
असार ३०, २०७८ बुधबार ८:४४,

देशको एथ्लेटिक्स परिवार र त्यस खेलसँग रुचि हुनेका लागि त्रिभुवन आर्मी क्लबकी खेलाडी सरस्वती चौधरी नयाँ नाम होइन। 

जति बेला उनको नाम टोकियो ओलम्पिक खेल्नेका रुपमा आयो त्यसपछि भने उनीबारे देशको खेलकुदमा चासो राख्ने अधिकांशलाई थाहा भयो।

ओलम्पिक खेल्ने सपना नपाल्ने खेलाडी सायदै होलान्! सरस्वती छुट्ने कुरै भएन। 

तर, कम्तीमा टोकियो ओलम्पिकमै खेल्न पाउँछु भन्ने आशा भने उनले गरेकी थिइनन्। 

किनभने गत वर्ष नै नेपालगञ्ज म्यारथन जितेका गोपीचन्द्र पार्की ओलम्पिक म्याराथनमा जाने लगभग निश्चित भइसकेको थियो, उनी प्रशिक्षणमा पनि जुटेका थिए। 

तर गोपीले भने जान पाएनन्। ओलम्पिक कमिटीले गोपीको नाम गत वर्ष नै पठाए पनि कोटा पूरा भएका कारण उनले खेल्न नपाएको बताएको छ। 

उनी जान नपाउने भएपछि सरस्वतीलाई पठाउने निर्णय नेपाल ओलम्पिक कमिटी ( एनओसी) र नेपाल एथ्लेटिक्स संघले गरेका थिए। 

दुई साताअघि मात्रै उनको नाम टोकियो ओलम्पिकको महिला एक सय मिटर दौडका लागि दर्ता भएको हो। 

ओलम्पिकमा नाम सिफारिस भएको दुई दिनअघि मात्रै २४ वर्षीया सरस्वती गृहजिल्ला बर्दिया पुगेकी थिइन्। 

बिरामी आमालाई भेट्न घर गएका बेला उनलाई ओलम्पिक खेल्न जानुपर्छ भनेर खबर पुग्यो। 

‘घर जानुअघि ललितपुरको लगनखेलमा नै नियमित प्रशिक्षणमा थिएँ, घर गएका बेला ओलम्पिकमा खेल्न जानको लागि छनोट भएको थाहा पाएँ’, उनले भनिन्, ‘आर्मी क्लबबाट फोनमार्फत जानकारी पाएँ, अनि प्रशिक्षणका लागि आउन भनियो। मेरा लागि एकछिन त्यो सपनाजस्तै भयो, पत्याउनै पनि गाह्रो पर्यो।’  

खुसीको खबर उनले बुबाआमालाई पनि सुनाइन्। 

‘उहाँहरू झन् खुसी हुनुभयो, पहिलेभन्दा राम्रो प्रशिक्षण गर, आफ्नो समय सुधार गर्नु भनेर सुझाव दिनुभयो,’ सरस्वतीले भनिन्, ‘आफूले सक्दो राम्रो गर्ने प्रयास गर्नेछु।’

ओलम्पिक जाने पक्का भएसँगै एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ र उनीसँगै जापान जाने प्रशिक्षक इन्दिराकुमारी मल्लसँगै सरस्वती दशरथ रंगशालामा बिहान र साँझ दुई समय प्रशिक्षण लिइरहेकी छिन्। 



‘ओलम्पिक खेल्ने सबैको सपना हुन्छ। कमैको मात्र त्यो सपना पुरा हुन्छ,’ ओलम्पियन बन्ने सपनाको निकट पुग्नै लाग्दा उनले भनिन्, ‘मैले पनि अहिले नै पूरा होला भन्ने सोचेकी थिइन। नियमित अभ्यासमा भइरहेका बेला यसरी नाम आउला भन्ने अनुमान पनि थिएन।’

ओलम्पिकजस्तो ठूलो खेल मेला नेपालीका लागि अनुभव बटुल्ने थलो मात्रै रहँदै आएको छ। 

यसपटक पनि त्योभन्दा बढी आशा गरिएको छैन। ओलम्पिकमा भाग लिने ५ मध्ये सरस्वती एक हुन्। पौडीकी गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। 

सरस्वतीले भनिन्, ‘मेरो लक्ष्य भनेको आफ्नो टाइमिङ सुधार्ने हो।’ 

एक सय मिटर दौडमा उनको उत्कृष्ट समय १२ः४४ सेकेन्डको छ।

विद्यार्थी जीवनबाटै एथ्लेटिक्समा
सरस्वतीले विद्यार्थी जीवनबाटै एथ्लेटिक्स खेल्न थालेकी थिइन्। 

विद्यालयस्तर हुँदै जिल्ला, क्षेत्र, राष्ट्रिय हुँदै अब अन्तर्राष्ट्रिय स्पर्धा खेल्ने तयारीमा छिन्। 

गाउँका दिदी र अग्रजहरू दौडेको देखेर नै उनलाई पनि दौडने रहर जागेको थियो। 

‘त्यो बेलामा यहाँसम्म पुगिएला भनेर कसले सोचेको हुन्छ र?’, सरस्वतीले हाँस्दै भनिन्, ‘म छिटो दौडिन्थेँ। त्यही देखेर शिक्षकहरूले मलाई विभिन्न प्रतियोगितामा दौडिन भन्नुहुन्थ्यो।’

दौडमा भाग लिदै जाँदा अनुभव पनि हुँदै गयो। सरस्वतीको दौडको गति पनि बढ्न थाल्यो। 

उनलाई कहिलेबाट दौडन थाले भन्ने एकीन छैन तर उनी ०७० बाट मज्जाले दौडिन थालिन्। 

प्रतियोगिता खेल्ने क्रममा विभागका खेलाडीहरूसँग भेट हुने नै भयो। त्यही क्रममा एपीएफका खेलाडीसँग भेट हुन्थ्यो। 

उनीहरूकै सल्लाहमा उनी एपीएफमा करारमा आबद्ध भइन्। त्यसको केही समयमा नै उनी ताइवानमा भएको जुनियर च्याम्पियनसिपमा खेल्न गइन्। 

उनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता त्यही थियो। त्यसपछि सन् २०१९ मा कतारमा भएको वर्ल्ड च्याम्पियनसिपमा पनि उनले देशका प्रतिनिधित्व गरिन्।

त्यसअघि २०७३ मा पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदको तयारीका दौरानमा उनलाई चोट लागेको थियो। 

आफ्नै प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदमा भने उनी दौडिइन्। १२ र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पनि खेलिन्। फर्केर हेर्दा अन्तर्राष्ट्रिय सहभागिता पनि लामो भइसकेको छ। छोटो दूरीको दौडमा सफलता सहज छैन। 

तर उनले हिम्मतचाहिँ बेस्सरी गरेकी छिन्। 

विभागीय क्लबमा निखारियो प्रदर्शन
दौडले नै सरस्वतीलाई विभागको यात्रा तय गराएको हो। 

त्रिभुवन आर्मी क्लबमा आबद्ध हुनुअघि एपीएफमा करारमा रहिन्। २०७२ मा एपीएफमा पुगेकी उनी त्यहाँ दुई वर्ष बसिन्। 

आर्मीमा उनको प्रवेश २०७४ मा भएको थियो। आर्मीमा उनी दौडकै लागि गएकी थिइन्। 

‘एपीएफमा करारमा रहँदा पनि विभागमा जागिर खान्छु भन्ने सोचेकी थिइन’, पुरानो दिन सम्झिँदै उनले भनिन्, ‘आर्मीमा फर्म खुलेको थाहा पाएँ अनि भरेँ। छनोट पनि भएँ र त्यसपछि ढुक्कले दौडिन पाएकी छु।’

एपीएफमा रहँदा अरु खेलाडीसँग उनको खासै घुलमिल थिएन। प्रशिक्षणमा जति भेट भयो त्यति नै हो। 

सरस्वती १ सय मिटरसँगै २ सय मिटरको पनि अभ्यास गर्छिन्। विद्यालयस्तरबाट नै दौडिन थालेकाले उनलाई बाहिर र विभागको खेलाडी दुवैको अनुभव छ।

सिभिलका रुपमा दौडिन आर्थिक रुपमा पनि कठिन छ। 

‘डाइटदेखि जुत्तालगायत अन्य सामानको व्यवस्थापन गर्न गाह्रो हुन्छ’, उनले विगत सम्झिइन्, ‘बेलामा आफैँ पकाउने खाने, प्रशिक्षण गर्ने गर्दा जीवन अलिक अस्तव्यस्त जस्तै हुन्थ्यो। सेनामा आएपछि सबै सहज भएको छ। यसले आफ्नो अभ्यासमा केन्द्रित हुन पाउँछु।’ 

यो पनि–
अन्तिम समयमा ओलम्पिकमा जान नपाउँदाको पीडामा गोपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .