ad ad

खेल


राष्ट्रिय टोलीमा प्रवेश पाउँदा उत्साहित प्रिती

राष्ट्रिय टोलीमा प्रवेश पाउँदा उत्साहित प्रिती

लक्ष्मी जि.सी
भदौ १५, २०७८ मंगलबार ८:३७, काठमाडौँ

उज्बेकिस्तानमा हुने एएफसी एसियन कप छनोटका लागि राष्ट्रिय टोलीमा नयाँ ७ खेलाडीले पहिलो पटक प्रवेश पाएका छन्। तीमध्ये परिचित अनुहार हुन् प्रिती राई।

उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेकी प्रिती सानै उमेरमा नेपाल एपीएफ क्लबमा आबद्ध भएकी थिइन्। 

योसँगै राष्ट्रिय महिला लिगमा खेल्दै अहिले उनी राष्ट्रिय टोलीको ढोका खोल्न सफल भएकी हुन्। 

झण्डै दुई वर्षअघि स्वदेशमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि पनि उनी प्रारम्भिक चरणको छनोटमा परेकी थिइन्। तर अन्तिम चरणमा पर्न असफल रहिन्। 

यसपटक भने मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय टोलीमा प्रितीसहित ७ खेलाडीलाई एकै पटक टोलीमा समेटेका छन्।  

गत वर्ष भएको लिगको प्रदर्शनलाई मुख्यतः छनोटको आधार मानिएकोले प्रितीका लागि यात्रा सहज बन्यो। 

उनले खेलेको त्यो पहिलो लिग थियो। प्रितीमा भएको प्रतिभालाई देखेर नै एपीएफले उनलाई अनुबन्ध गरेको थियो।

उज्बेकिस्तानमा असोजको सुरुवातमै हङकङ र फिलिपिन्सजस्ता बलियो टोलीसँग नेपालले प्रतिस्पर्धा गर्दा प्रितीले मौका पाउँछिन् वा पाउँदिनन् अहिले भन्न सकिँदैन। 

तर यतिचाहिँ भन्न सकिन्छ– प्रिती र उनको पुस्ताका खेलाडी टोलीका भविष्य हुन्। उनीहरु भरपर्दा खेलाडी बन्ने पर्याप्त सम्भावना छ।

मिहिनेतको फल 
प्रिती राष्ट्रिय टोलीमा समेटिनुलाई मिहिनेतको फल भन्न मन पराउँछिन्। 

जारी प्रशिक्षणले उनमा उत्साह भरेको छ। 

‘पहिलो पटक विदेशी कोचसँग प्रशिक्षण गरिरहेका छौँ। उहाँसँग प्रशिक्षण गर्दा सुरुको एक दुई दिन गाह्रो भयो’, उनले भनिन्, ‘अहिले सजिलो लाग्छ।’

राष्ट्रिय टोलीमा एपीएफका खेलाडीको बाहुल्य छ। त्यसैले टोलीमा घुलमिल हुन प्रितीलाई झन् सहज बनाएको छ।

उमेर समूह र क्लब फुटबलमा अनुभव बटुलिसकेकी प्रितीलाई राष्ट्रिय टोलीको खेललाई लिएर भने केही कौतूहलता पनि छ। 

उनले भनिन्, ‘क्लबमा हुँदा ढुक्कले खेल्न पाइन्थ्यो। राष्ट्रिय टोलीमा फरक जस्तो लाग्यो। मानसिक रुपमा पनि केही दबाब महशुस गरेकी छु।’ 

हरेक खेलाडीको अलग क्षमता हुने भएकाले टिमसँग मिलेर खेल्नुपर्ने बताउँछिन् उनी।

‘हामीजस्तो खेलाडीका लागि यो मौका पनि हो। आफ्नो प्रदर्शनमा सुधारका लागि प्रयास गर्नेछु’, उनले भनिन्। 

पहिलो रोजाइ अबको प्रयास 
अन्तिम छनोटमा परेकी उनको अबको प्रयास भने पहिलो रोजाइमा पर्ने हुनेछ। 

हरेक पोजिसनमा प्रतिस्पर्धा हुने भएकाले नै उनले आफूलाई प्रमाणित गर्नुपर्नेछ। 

प्रिती भन्छिन्, ‘हामी हरेकले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ। डेब्यूको अवसर पाएको खण्डमा त्यसलाई पूरापूर उपयोग गर्ने योजनामा छु।’

टोली मुख्य र नियमित फरवार्ड सावित्रा भण्डारी साम्बा पहिलो पटक चोटका कारण यसपटक टोलीमा छैनन्। 

क्लबमा पनि उनीसँगै खेल्दै आएकी प्रितीलाई साम्बाको अभाव भने महसुस भएको छ। 

साम्बाको ठाउँ लिने सम्भावना कति छ त भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म साम्बा दिदीको स्थान लिनभन्दा पनि आफ्नो ठाउँ बनाउँछु।’

विभागको यात्रा
उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेकै कारण एपीएफले उनलाई अनुबन्ध गरेको हो। 

सम्झौताको केही समयमा नै कोरोना महामारीले खेल गतिविधि स्थगित भयो। त्यसपछि उनले क्लब फुटबलमा डेब्यूका लागि केही समय कुर्नुपर्यो। 

गत वर्ष भएको महिला लिगमा उनले एपीएफबाट डेब्यू गरेकी थिइन्। त्यही प्रदर्शनले अहिले राष्ट्रिय टोलीसम्मको उनको यात्रा तय गराएको छ।

कप्तान रेनुका नगरकोटेलाई प्रिती आफ्नो रोलमोडल मान्छिन्। क्लबमा पनि सँगै खेल्दै आएकी रेनुकासँगै राष्ट्रिय टोलीको जर्सीमा मैदान उत्रिने उनको धोको छ।

प्रितीको खेलयात्रा
आठ वर्षकै उमेरबाट प्रितीले फुटबल खेल्न सुरु गरेकी हुन्। तर, उमेर समूहलाई कप्तानी गर्ने मौका नै मिल्ला भनेर उनले फुटबल खेल्न सुरु गर्दा सोच्ने विषय पनि भएन। 

गाउँमा हुँदा रमाइलोको लागि फुटबल खेल्ने गरेकी उनले नेपाल युथ प्रोग्राममा प्रशिक्षण गर्ने मौका पाएकी थिइन्।

त्यो नै उनका लागि फुटबलमा अगाडि पहिलो खुट्किलो बन्न पुग्यो। 

‘त्यहाँ सहभागी नभएको भए यहाँसम्मको यात्रा तय गर्न सक्दिनथेँ होला। २०७३ सालमा उर्गेन शेर्पा दाइले कोकाकोला कप खेल्न लानुभयो’, प्रीतिले आफ्नो सुरुवाती फुटबल यात्रा सम्झिइन्, ‘त्यहाँ टोलीमा परेँ र राम्रो प्रदर्शन पनि गरेँ। जिल्ला हुँदै क्षेत्रीय टोलीमा छनोटमा सहभागी भएँ। सातौँ राष्ट्रिय खेलकुदका लागि क्षेत्रको टोलीमा पनि परेँ। तर त्यहाँ खेल्न भने पाइन।’ 

सातौं राष्ट्रिय खेलकुदमा खेल्न नपाउँदा उनलाई नमज्जा लागेको थियो। उनले भनिन्, ‘मैले राम्रो गर्दागर्दै पनि प्लेइङ सेटमा ठाउँ बनाउन सकिनँ।’

त्यसपछि पाल्पामा जिल्ला फुटबल प्रतियोगिता भएको थियो। त्यहाँको प्रदर्शनको आधारमा ३० जनालाई छनोट गरेर तीनवटा विभागीय टिममा पठाइने कुरा भयो।

‘म पनि त्यसभित्र पर्न सफल भएँ। तर पहिला भनेजस्तो विभागमा पठाइएन’, उनले भनिन्। 

कलिलो काँधमा छिटै जिम्मेवारी
नियमित फुटबल खेल्न थालेको वर्ष दिनमा प्रितीले महिला टोलीको उमेर समूहमा स्थान मात्र बनाइनन्, टोलीको कप्तानी नै सम्हाल्ने मौका पाइन्।

मिडफिल्डमा खेल्दै आएकी प्रितीलाई २०७४ मा यू–१५ मा प्रवेश पाएपछि प्रशिक्षणमा राम्रो गरेको छु भन्नेमा ढुक्क थिइन्। 

कप्तानकै जिम्मेवारीबारे भने उनले अपेक्षा गरिसकेकी थिइनन्। तर उनको कलिलो काँधमा छिटै जिम्मेवारी प्राप्त भयो।

‘कप्तान बनेपछि थप जिम्मेवारीको महसुस हुने रहेछ’, उनले अनुभव सुनाइन्, ‘खेलाडी मात्र हुँदा आफ्नो प्रदर्शनमा मात्र ध्यान दिए पुग्छ। कप्तान भएपछि टोलीकै बारेमा सोच्नुपर्छ। अरुलाई पनि प्रोत्साहित गर्नुपर्छ।’

भुटानमा गत वर्ष भएको साफ च्याम्पियनसिपअघि नै २०७४ मा बंगलादेशमा भएको सोही प्रतियोगितामा पनि प्रिती टोलीको सदस्य थिइन्। 

उनले अहिलेसम्म ३ वटा यू–१५ प्रतियोगिता यू–१६, यू–१९ एएफसी फुटबल प्रतियोगिता र भुटानसँगको यू–१८ मैत्रीपूर्ण खेल खेलेकी छिन्।

उमेर समूहमा तीन गोल गरेकी प्रितीले यू–१६ एएफसी प्रतियोगितामा मलेसियाविरुद्ध गोल गरेकी थिइन्। गत वर्ष नेपालमा भएको भुटानसँगको मैत्रीपूर्ण खेलमा उनले दुई गोल गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .