ad ad

खेल


दशरथ रंगशालामा ‘डेब्यु’ गर्दै महिला राष्ट्रिय फुटबल टोली

दशरथ रंगशालामा ‘डेब्यु’ गर्दै महिला राष्ट्रिय फुटबल टोली

महिला राष्ट्रिय फुटबल टोली। तस्बिरः एन्फा


लक्ष्मी जि.सी
भदौ २४, २०७८ बिहिबार ७:४२, काठमाडौँ

महिला राष्ट्रिय फुटबल टोलीले स्वदेशमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलेको पाँच वर्ष भयो। 

सन् २०१६ मा मलेसियाको राष्ट्रिय टोलीविरुद्ध सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलेको थियो। 

त्यसपछि दक्षिण एसियाका दुई प्रतियोगिता साफ च्याम्पियनसिप र १३औँ दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गर्यो। दुवै प्रतियोगितामा नेपाली टोली फाइनल पुगेको थियो।

तर ती दुवै प्रतियोगिता काठमाडौंबाहिर भएका थिए।

महिला फुटबलले अन्तर्राष्ट्रिय फुटबल खेलेको लामो समय भइसक्दा पनि देशकै एकमात्र अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भनिएको दशरथ रंगशालामा महिला टोलीले खेल्ने अवसर जुरेको थिएन। 

यसपटक भने त्यो अवसर जुरेको छ। 

महिला सिनियर टोलीले बिहीबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै दशरथ रंगशालामा डेब्यु गर्नेछ। 

सन् २०१९ को साफ च्याम्पियनसिप विराटनगर र १३औँ सागको महिला फुटबल पोखरामा आयोजना भएको थियो। 

महिला हुन् वा पुरुष खेलाडी हुन् दशरथ रंगशालामा खेल्ने इच्छा सबैको हुन्छ नै। 

राष्ट्रिय टोलीमा रहेका खेलाडीको देशकै प्रतिष्ठित रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सपना हुनु स्वाभाविक हो। यसपटक महिला टोलीले त्यो अवसर पाएको छ।

युवा खेलाडीको प्रवेश  
एएफसी एसियन च्याम्पियनसिपको छनोटअघि नेपाल र बंगलादेशले दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछन्। 

पहिलो बिहीबार र दोस्रो आइतबार हुनेछ। खेल साँझ ५ बजे सुरु हुनेछ। 

नेपाल र बगंलादेशी दुवै टोलीमा युवा खेलाडीको बाहुल्य छ।

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टोलीमा एकैपटक ७ नयाँ खेलाडीलाई समेटेका छन्। 

गत माघ फागुनमा भएको राष्ट्रिय महिला लिगलाई आधार मानी फिलिप्सले टोली तयार पारेका थिए।

टोलीमा मिडफिल्डर प्रिती राई, फरवार्ड सविता राना, रश्मी घिसिङ, रजनी थोकर, डिफेन्डर निशा थोकर, सृजना सिंह र विमला विकले पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश पाएका छन्। 

त्यसको अर्थ बगंलादेशसँगको खेलमा नयाँ खेलाडीले डेब्यु गर्ने सम्भावना छ। 

बंगलादेशसँगको खेलले नयाँ खेलाडीका लागि अनुभव बटुल्नेसँगै एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीको स्तर मापन पनि हुनेछ। 

असोजको पहिलो साता नेपालले उज्बेकिस्तानमा हुने छनोटमा फिलिपिन्स र हङकङको सामना गर्नेछ। 

त्यही छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

पहिलो खेलमा प्रिती राई, रश्मी घिसिङ, सविता राना र विमला विकले डेब्यु गर्ने सम्भावना छ। नियमित फरवार्ड सावित्रा भण्डारी साम्बा चोटका कारण अहिले टोलीमा छैनन्। 

उनको ठाँउ रश्मी घिसिङले लिने सम्भावना छ।

प्रशिक्षक फिलिप्सले नियमित सदस्य अनिता बस्नेतलाई विश्राम दिएर उनको ठाउँमा सविता रानालाई परीक्षण गराउन सक्नेछन्। सविताले राष्ट्रिय टोलीमा डेब्यु गरेमा ९ नम्बरको जर्सीमा उनलाई देखिनेछ।

साम्बा टोलीमा नहुँदा आफ्नो टोलीलाई राहत महसुस भएको बगंलादेशी टोलीका मुख्य प्रशिक्षक गोलम रोबानी चोटनले बताएका छन्।

मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा प्रशिशक चोटनले भने, ‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी भोलि (बिहीबार)को खेलमा नहुनु दुःखद कुरा हो तर यसले हाम्रा डिफेन्डरलाई केही राहत महसुस भएको छ।’

बंगलादेशी टोलीमा उमेर समूहका खेलाडीहरु छन्, लामो समयपछि खेल्न पाउँदा खेलाडी उत्साहित रहेको प्रशिक्षक चोटनले बताए।

नेपाली टोलीका प्रशिक्षक फिलिप्सले मैत्रीपूर्ण खेलबाट खेलाडीले धेरै कुरा सिक्ने विश्वास लिएका छन्। 

टोलीमा केही खेलाडी चोटग्रस्त रहे पनि मैत्रीपूर्ण खेल एएफसी छनोटको तयारीका लागि ठूलो मौका भएको उनको भनाइ छ। फिलिप्सले सावित्राको अभाव रहे पनि टोलीमा रहेका २३ खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताएका छन्। 

राष्ट्रिय लिगका दौरान घुँडामा चोट लागेपछि साम्बा अहिले उपचारका लागि कतारमा छिन्। उनलाई मैदान फर्किन अझै ७ महिना लाग्न सक्ने बताइएको छ।

सरु लिम्बुबाट फिलिप्स अलि बढी आशावादी रहेको फिलिप्सको भनाइबाट अनुमान गर्न सकिन्छ। 

उनले भने, ‘सुरु सधैँ बलको वरपर नै रहन्छिन् त्यसैले पनि उनलाई कुनै रणनीतिमा नभई स्वतन्त्र खेल्न दिनेछौँ। आक्रमणसँगै डिफेन्सिभ लाइनमा पनि उनको प्रभाव रहनेमा आशावादी छु।’

बंगलादेशकी कप्तान सविना खातुनले आफूहरु मैत्रीपूर्ण खेलका लागि तयार रहेको बताइन्। 

उमेर समूहबाट धेरै खेलाडी भएपछि टोलीमा राम्रो तालमेल रहेकाले खेल प्रतिस्पर्धात्मक हुने आशा व्यक्त गरिन्। 

खातुन अनुभवी खेलाडी हुन्। उनले ३४ अन्तर्राष्ट्रिय खेलमा १८ गोल गरेकी छिन्। बंगाली टोलीका लागि सर्वाधिक गोल उनकै नाममा छ।


  
हेड टु हेड
नेपाल र बंगलादेशबीचको ‘हेड टु हेड’लाई हेर्दा नेपाली टोली बलियो छ। यसअघि एसियन च्याम्पियनसिप र साफमा मात्र यी दुई टोलीबीच भेट भएको छ।

यी दुई टोली पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

नेपाल र बगंलादेशबीच सन् २०१० पछि हालसम्म ६ पटक मात्र भेट भएको छ। त्यसमा ५ खेल नेपालले जितेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो। बगंलादेशविरुद्ध १२ गोल गरेको नेपालले १ गोल खाएको छ।

नेपाल र बगंलादेशबीच पहिलो भेट सन् २०१० को ११औँ सागमा भएको थियो। 

बंगलादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा भएको सो खेलमा नेपालले १–० ले विजयी भएको थियो। 

जमुना गुरुङले उक्त खेलमा गोल गरेकी थिइन्। सोही वर्ष साफ च्याम्पियनसिपमा भएको अर्को भेटमा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो।

नेपालले बंगलादेशलाई सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा १–० र २०१६ मा भारतमा भएको १२औँ सागमा ३–० ले हराएको थियो। 

सन् २०१८ मा म्यान्मारमा भएको ओलम्पिक छनोटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। यी दुई टोलीबीच पछिल्लो भेट दुई वर्षअघि विराटनगरमा भएको साफ च्याम्पियनसिपमा भएको थियो। त्यति बेला नेपाल ३–० ले विजयी भएको थियो।

२३ सदस्यीय अन्तिम टोली
अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, बिमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ (योञ्जन), निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, सृजना सिंह

सबै तस्बिरः एन्फा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .