खेल


अलमुताइरी भन्छन्ः अन्य देशले पनि प्रस्ताव गरेका छन्, एन्फाले बोलाए नेपाल नै फर्किन्छु

अलमुताइरी भन्छन्ः अन्य देशले पनि प्रस्ताव गरेका छन्, एन्फाले बोलाए नेपाल नै फर्किन्छु

अब्दुल्लाह अलमुताइरी (फाइल तस्बिर)


लक्ष्मी जि.सी
कात्तिक ३, २०७८ बुधबार १६:४८, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि अहिले सबैको चासो उनी प्रशिक्षणमा फर्किन्छन् कि फर्किँदैनन् भन्नेमा छ।

माल्दिभ्समा सम्पन्न साफ च्यम्पियनसिपमा नेपालले बगंलादेशसँग बराबरी गर्दै फाइनलमा पुगेपछि अलमुताइरीले अब कहिल्यै नेपाल नफर्किने भन्दै राजीनामा घोषणा गरेका थिए।

साफपछि नेपाली टोली स्वदेश फर्कियाे तर उनीचाहिँ विदा मनाउन कतार लागे।

कतारमै आज मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पासँग उनको भेट भएको छ। नेपाली फुटबलको विकासका लागि भएको भनिएको भेटबारे अध्यक्ष शेर्पाले नेपाल आएपछि बोल्ने बताए।


कतारमा शेर्पासँग भेटवार्ता गर्दै अलमुताइरी। तस्बिर: कर्माछिरिङ शेर्पा/फेसबुक

‘नेपालले प्रस्ताव गरे फर्किन्छु’
त्यसाे त प्रशिक्षक अलमुताइरी नेपाल फर्किन तयार देखिएका छन्। 

फेरि नेपाल नफर्किने नै हो त भन्ने नेपालखबरको प्रश्नमा उनले नेपालले प्रस्ताव गरेमा आफू फेरि नेपाल आउन सक्ने बताए।

‘कहिले आउने त?’, उनले भने, ‘अहिले म विदामा छु, मैले प्रस्ताव पाइसकेको छु र विदापछि मात्रै यसबारे निर्णय गर्नेछु।’ 

आफ्नो प्राथमिकता पनि नेपाल नै भएको उनले स्पष्ट पारेका छन्। 

‘मलाई अरु देशबाट पनि प्रस्ताव आइरहेको छ, मेरो प्राथमिकता नेपाल नै हो तर नेपालले चाहन्छ कि चाहँदैन भन्ने कुरा हो’, उनले भने।   

यता अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधर अलमुताइरी र एन्फाबीचको सम्बन्ध सन् २०२२ को सेप्टेम्बरसम्म रहेको बताउँछन्।

महासचिव तुलाधरले भने, ‘उहाँसँग ६ महिनाको सम्झौता सकिएपछि २०२२ को सेप्टेम्बरसम्मको सम्झौता थपेका छौँ। उहाँले पछिल्लोपटक राजीनामा घोषणा गरेपछि एन्फा अध्यक्ष (कर्मा छिरिङ शेर्पा) र म गएर भेट गरेका थियौँ। उहाँँ नेपाल फर्किन सकारात्मक हुनुहुन्छ। म आउँछु भन्नुभएको छ।’

त्यसो त अलमुताइरीले राजीनामा घोषणा गरेको यो पहिलोपटक भने होइन। यसअघि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई कारण देखाउँदै सामाजिक सञ्जालमार्फत समर्थकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए।

कुनै पनि कुरामा चाँडो प्रतिक्रिया देखाउने अलमुताइरीले उपाध्यक्षसँगको विवादपछि छानबिन समितिको प्रतिवेदन आएपछि ‘राजनीतिलाई काम गर्न दिऊँ’ भनेका थिए। 

‘नेपाली समर्थकलाई माया गर्छु’
साफ च्याम्पियनसिपपछि कतार पुगेका अलमुताइरी नेपाली फुटबल समर्थकलाई धेरै माया गर्छन्। 

अलमुताइरीले बुधबार समर्थकहरुबारे नेपालखबरसँग भने, ‘म उनीहरुलाई धेरै माया गर्छु, उनीहरु भनेका मेरो योजनाका मुख्य पाटा हुन्। यदि म नेपाल फर्किएँ भने उनीहरुको मायाले मलाई राम्रो महसुस गराउनेछ।’

कुवेती नागरिक अलमुताइरी कतार सरकारको चाहनामा नेपाली फुटबल हेर्न आइपुगेका हुन्। अलमुताइरीलाई मासिक पारिश्रमिकलगायतका सुविधा कतारले नै उपलब्ध गराउँदै आएको छ। 

अलमुताइरीले चैतमा भएको थ्री नेसन्स कप र जेठमा सकिएको नेपाल सुपर लिग (एनएसएल) का खेललाई नजिकबाट नियाल्दै युवा खेलाडीलाई प्राथमिकता राखेर नयाँ टोली बनाए। 

उनले आफ्नो प्रशिक्षणको ६ महिनामा नै ८ नयाँ युवा खेलाडीलाई डेब्यु गराए। 

अलमुताइरीले जुन विश्वासमा नयाँ खेलाडीलाई मौका दिएका थिए। त्यसमा उनीहरुले आफूलाई अब्बल साबित पनि गरे। 

अलमुताइरीकै प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनल यात्रा तय गर्दै इतिहास बनाउन सफल भयो। 

फाइलनमा भारतसँग पराजित भए पनि नेपालले साफको फाइनलमा पुग्दै नयाँ इतिहास भने लेखाउन सफल भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .