खेल


साफ गेमभन्दा धेरै फुटबल मिस गरे विमलले

साफ गेमभन्दा धेरै फुटबल मिस गरे विमलले

लक्ष्मी जि.सी
कात्तिक ८, २०७८ सोमबार ७:१०, काठमाडौँ

चोटका कारण लामो समय मैदान बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले शहीद स्मारक ‘ए’ डिभिजन लिगमार्फत पुनरागमन गर्दैछन्। 

‘ए’ डिभिजन लिग कात्तिक २९ गतेदेखि दशरथ रंगशालामा हुँदैछ। ‘ए’ डिभिजन लिगमार्फत पुनरागमन गर्न लागेका विमलले साविक विजेता मच्छिन्द्र क्लबसँगको सम्झौता १ वर्ष बढाएका छन्। 

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष तथा टिम म्यानेजर अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

‘लामो समयपछि मैदान फर्कँदैछु, लिगबाट राम्रो पुनरागमन गर्ने आशा गरेको छु’, क्लबसँग सम्झौता गर्दै विमलले भने, ‘पहिलो सिजन अन्तिम खेल मात्रै खेल्न पाएको थिएँ। अन्तिममा पनि विश्वास गर्नु भएकोमा क्लबलाई धन्यवाद दिन चाहन्छु।’ 

टोली पहिलेभन्दा अझै बलियो भएकाले मनोबल पनि बढेको विमलले बताए। ‘मछिन्द्र साविक विजेता भएकाले उपाधि रक्षा गर्नु मुख्य लक्ष्य हो’, विमलले भने।  

लामो समयपछि मैदान फर्किन लागेका विमल उत्साहित छन्। तर भावी दिन जति उत्साहपूर्ण छन्, त्यति नै चुनौतीपूर्ण पनि रहेको विमल स्वीकार्छन्। 

गत पुसमा राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा विमलको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो। कतारस्थित अस्पेटार अस्पतालमा गत फागुन २५ गते उनले घुँडाको सफल शल्यक्रिया गराए।

शल्यक्रियाका लागि कतारमा ९ महिना बिताएका उनले स्वदेश फर्केर व्यक्तिगत प्रशिक्षण समेत सुरु गरिसकेका छन्। 

खेल जीवनमा धेरै उतारचढाव भोगेका विमलले भने, ‘इन्जुरीपछि पनि राम्रो कमब्याक गर्न सक्छ भन्ने गरि खेल्नुछ।’ 

नेपालमा एसिएल इन्जुरीलाई ठूलो रुपमा लिने गरिएको छ। ‘एसिएल गएपछि खेल जीवन नै सकिए जस्तो गर्छन् तर बाहिर यो सामान्य कुरा हो’, उनले भने। 

उनी चोटले मैदान बाहिर रहँदा नेपालले साफ च्याम्पियनसिप खेल्दै इतिहास रच्यो। विमलले टिभीमा हेरे। यसबीचमा उनले साफभन्दा फुटबल धेरै मिस गरेको सुनाए। 

‘जति प्रतियोगिता भए, सबै सम्झेँ, साफको फाइनलमा आफु भएको भए केही गर्न सक्थेँ भन्ने महसुस भयो’, उनले भने, ‘तर खेल हो, हार जीत त भइरहन्छ।’

विमलले गत सिजन मछिन्द्र क्लबबाट खेलेका थिए। त्यसबेला उनले लिगको अन्तिम खेल मात्रै खेले। अनुशासन उल्लङ्घन गरेकाले अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमलसहित ४ खेलाडीलाई अनुशासनको कारवाही गरेको थियो। 

गत मंसिर ३ गते कुवेतविरुद्ध विश्वकप छनोट खेलका लागि भुटान जाने अघिल्लो रात अबेरसम्म डिस्कोमा बसेकाले विमलसहित ४ खेलाडी अनुशासनको कारवाहीमा परेका थिए। 

त्यही घटनालाई लिएर एन्फाले विमल र दिनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन निलम्बन गरेको थियो। चारै जनाले ५० हजार रुपैयाँ जरिवाना पनि तिरे।

 ९० दिन निलम्बनपछि विमल फागुनमा फुकुवा भएर ‘ए’ डिभिजन लिगमा मछिन्द्रबाट खेले। विमलले त्यसअघि थ्री स्टारबाट पनि खेलिसकेका छन्। उता भारतको मोहन बगान र माल्दिभ्सको टिसी स्पोट्र्सबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। 

१४ वर्षको उमेरमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका  देशका लागि ९ गोल गरिसकेका छन्।  

टोलीका प्रशिक्षक प्रवेश कटुवालले विमलको आगमनले टोली अझै बलियो भएको बताए। ‘हामी साविक विजेता भएकाले पनि उपाधि रक्षा गर्नुछ’, उनले भने, ‘त्यसैले टोलीमा स्ट्राइकर थपेका हौँ।’

गत संस्करणमा क्लबका केही खेलाडी बीचमा नै बाहिर गए। यो संस्करण अझै राम्रो गर्ने सोच रहेको उनले बताए। ‘यो पटक राम्रा तीन जना फरवार्डलाई सेटमा खेलाउने मौका पाएको छु’, उनले भने।  

मच्छिन्द्रले यो सिजनका लागि मनीष डाँगी र सुनिल बलसँग सम्झौता गरेको छ। यस्तै अभिषेक रिजाल, रेजिन सुब्बा, विशाल राई र विशाल श्रेष्ठ लगायतसँगको सम्झौता पनि नवीकरण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .