ad ad

खेल


खेलाडीको कुकुर प्रेम (भिडिओ)

खेलाडीको कुकुर प्रेम (भिडिओ)

लक्ष्मी जि.सी
कात्तिक १७, २०७८ बुधबार १०:१५, काठमाडौँ

हरेक मानिसका फरक फरक रुचि हुन्छन्। हरेकले आफ्ना रुचि र शोख पूरा गर्ने कोसिस गर्छन्। मानिस सबैभन्दा चेतनशील प्राणी पनि हो। त्यही चेतनशील प्राणीले अन्य जनावरप्रति देखाउनले लगाव र माया चर्चाको विषय बनिरहन्छ।

कतिपय मानिस जनवारप्रति औधी लगाव देखाउँछन्। जनावरप्रति लगाव देखाउनेमध्ये कैयौँ खेलाडी पनि छन्। उनीहरुले जनावरप्रति देखाउने माया अरुका लागि प्रेरणाका स्राेत बनिरहेका हुन्छन्। 

गत भदौ २९ गते कीर्तिपुरको त्रिवि मैदानमा पुग्ने नेपाली क्रिकेटरहरुसँग लगाव देखाउँदै आएको एउटा कुकुरको मोटरसाइकलको ठक्करमा ज्यान गयो। क्रिकेट ग्राउन्ड स्टाफसँग बस्दै आएको त्यो कुकुरसँगको गहिरो भावनात्मक सम्बन्ध थियो- राष्ट्रिय क्रिकेटका पूर्वकप्तान पारस खड्कासँग।

कालु नाम राखिएको उक्त कुकुर पारसलाई त्रिवि क्रिकेट मैदानमा देख्नेबित्तिकै लुटपुटिन आइहाल्थ्याे। पारस पनि त्यसलाई औधी माया गर्थे।

आफूसँग माया देखाउँदै आएको कालुले दुर्घटनामा ज्यान गुमाएको थाहा पाएपछि पारसलाई पीडा भयो। उनले कालुको फोटो राखेर भावुक शब्दसहित फेसबुकमा आफ्ना कुरा राखे। 

‘भारी मनका साथ हामीले हाम्रो संरक्षकमध्येको एकलाई त्रिवि मैदानबाट बिदा गर्दै छौँ। किनकी दुर्घटनामा उसको मृत्यु भयो। काले हामी तिमीलाई माया गर्छौँ र तिमीलाई मिस गर्नेछौँ।’

यही भावुक शब्दसहितको पोस्टले कुकुरप्रति पारसको लगाव र माया उनका फ्यानसम्म पुग्यो। कालुलाई गुमाएका उनले घरमा पनि कुकुर पालेका छन्।

उनी जस्तै राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी पनि कुकुरलाई निकै माया गर्छन्। कालुको मृत्युको अर्को महिना त्रिवि मैदानमा एभरेस्ट प्रिमियर लिग (ईपीएल) फाइनल भएको थियो। 

फाइनलमा आफूले कप्तानी गरेको चितवन टाइगर्सलाई उपाधि जिताएपछि सोमपालले भावुक हुँदै कालुलाई सम्झिए। उनले टोलीलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिँदा कालुलाई स्मरण गरे। ‘यहाँ कालु नामको कुकुर थियो। दुर्घटनामा परेर अहिले हामीसँग छैन, उपाधि जित्दै गर्दा उसलाई सम्झिन चाहन्छु।’

कुकुरलाई सबैभन्दा वफादार घरपालुवा जनावर भनिन्छ। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। वफादार स्वभावकै कारण तिहारमा कुकुरको विशेष पूजा गरिन्छ। कतिपयले शोख पूरा गर्न पनि कुकुर पाल्ने गर्छन्।

पारस र सोमपाल जस्तै अरु खेलाडी पनि कुकुरलाई माया गर्छन्। १३औँ दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्य र अर्की स्वर्ण विजेता संगीता बस्यालले पनि कुकुर पालेका छन्। 

संगीता आफूले पालेको कुकुरलाई मात्रै होइन, अरु कुकुरलाई पनि उत्तिकै माया गर्छिन्। कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गर्दा साथीसँग मिलेर सडकका कुकुरलाई खाना खुवाइन्। 

आयशा र ओलम्पियन पति दीपक विष्टको घरमा दुईवटा कुकुर छन्। सुरुमा दीपकलाई कुकुर पटक्कै मन पर्थेन। आयशाको रहरले पालेपछि अहिले दीपकलाई पनि उनीहरुको माया लाग्न थालेको छ। 

कुकुरको हाउभाउबाट आयशा उनीहरुलाई बुझ्ने कोसिस गर्छिन्। प्रतियोगिताका क्रममा लामो समयपछि घर फर्किँदा केही दिन कुकुर आफ्नो नजिक नपरेको उनको अनुभव छ।

कुकुरप्रतिको माया र सद्भाव व्यक्त गर्ने हरेकका फरक तरिका हुन्छन्। १२ औँ  र १३औँ सागका स्वर्ण विजेता फुटबलर विक्रम लामा पनि सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै कुकुरप्रतिको सद्भाव प्रकट गर्छन्। 

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .