विश्वकै सबैभन्दा पुरानो तथा इंग्ल्याण्डको प्रसिद्ध क्लब मार्लिबोन क्रिकेट क्लब (एमसीसी) नेपाल आइपुगेको छ। एमसीसीको टोली शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लिएको हो।
एससीसीको टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वागत गरेको छ।
एक साता नेपालको भ्रमणमा रहने एमसीसीको टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै, यू १९ क्रिकेट टोलीसँग टी–ट्वान्टी, एक दिवसीय र प्रथम श्रेणीको क्रिकेट खेल्ने तालिका तय भएको छ।
एमसीसीले ३ नोभेम्बरमा नेपालको यू १९ टोलीसँग र ४ नोभेम्बरमा राष्ट्रिय टोलीसँग एकदिवसीय खेल खेल्नेछ। यस्तै ६ देखि ८ नोभेम्बर सम्म एमसीसी र नेपाल राष्ट्रिय टोलीबीच तीनदिवसीय प्रथम श्रेणीको क्रिकेट हुनेछ।
तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा नेपालले १४ वर्षपछि पुनरागमन गर्न लागेको हो। सन् २००५ मा यूएईसँग अन्तरमहादेशीय तीनदिवसीय खेल खेलेपछि नेपालले तीनदिवसीय शृंखला खेलेको थिएन। यस्तै एमसीसीले अन्तिम खेलका रुपमा ९ नोभेम्बरमा नेपालको यू १९ र सिनियर टोलीका खेलाडीहरुको मिश्रित टोलीविरुद्ध टी ट्वान्टी खेल्नेछ।

त्यसपछि पोखरा जाने एमसीसीको टोलीले ११ नोभेम्बरमा पोखरा आमन्त्रण–११ र १२ नोभेम्बरमा मुख्यमन्त्री–११ टोलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल भ्रमण टुंग्याउनेछ। एमसीसी फाउन्डेसनले विकासशील देशहरुको क्रिकेटको विकासमा सहयोग पु¥याउने उदेश्यले यो भ्रमण आयोजना गरेको हो।
नेपाल आइपुगेका एमसीसीको टोलीको नेतृत्व जिम्मी एडम्सले गर्दैछन्। १३ सदस्यीय टोलीमा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, विल भेन्दरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् छन्।
यासिर अराफातले यसअघि पाकिस्तानको राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। यस्तै टम वेस्ट्लेले इङ्ल्यान्डबाट ५ टेस्ट खेलिसकेका हुन्। कप्तान जिम्मी इंग्ल्यान्डको काउन्टी क्रिकेट टोली ह्याम्पसायरका पूर्व ब्याट्सम्यान हुन्। यस्तै काउन्टीकै अर्को टोली डर्बीसायरका कप्तान बिली गोड्लीम्यानले पनि नेपालविरुद्ध खेल्नेछन्।
नेपालले शुक्रबारमात्रै तीनै फर्म्याटका लागि नेपाली टोली घोषणा गरेको छ। टी–ट्वान्टीका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिएपनि बाँकी दुई फर्म्याटका लागि १४–१४ सदस्यीय टोलीको घोषणा गरिएको हो। सबै टोलीको कप्तानी राष्ट्रिय टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्।

प्रतिक्रिया