ad ad

खेल


संकटाका प्रशिक्षक गुरुङको योजनाबद्ध प्रशिक्षण यात्रा

संकटाका प्रशिक्षक गुरुङको योजनाबद्ध प्रशिक्षण यात्रा

संकटा क्लबका प्रशिक्षक विष्णु गुरुङ। उनी नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक पनि हु्न्। तस्बिर : विक्रम राई/नेपालखबर


लक्ष्मी जि.सी
माघ ९, २०७८ आइतबार ८:३१, काठमाडौँ

सक्रिय खेल जीवनमा रहँदा कमैले मात्र भविष्यको बारेमा कुनै योजना बनाएका हुन्छन्। खेल जीवन सकिएपछि प्रशिक्षणमा जाने वा अर्को बाटो लिने निर्णय लिने गर्छन्। तर विष्णु गुरुङ त्यस्ता फुटबल प्रशिक्षकमा पर्छन्, जो खेलाडी हुँदै भविष्यमा प्रशिक्षक बन्छु भन्नेमा दृढ थिए। त्यसैले खेलिरहँदै उनले एएफसी कोचिङको सी र बी लाइसेन्स प्राप्त गरिसकेका थिए। 

घरेलु फुटबल ठप्प भएका बेला गुरुङ केही समय फुटबलबाट अलग रहनुपर्यो। तर, फुटबलकै विभिन्न कोर्स गरिरहेका गुरुङले पछिल्लो समय भने ए डिभिजन क्लब संकटाको प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्। अहिले उनी एएफसी ए लाइसेन्सप्राप्त प्रशिक्षक हुन्। 

ए डिभिजन लिगमा उनको मेहनत र क्षमता देखेर नै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्नो सहायकका रुपमा टोलीमा आबद्ध गराएका छन्। ए डिभिजन लिग खेलाडी र प्रशिक्षक दुवैका लागि आफ्नो स्तर जाँच्ने र क्षमता देखाउने थलो हो। गुरुङले त्यसलाई राम्ररी बुझेका छन्। राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाउनुलाई उनले अवसरको रुपमा लिएका छन्। अलमुताईरीबाट आफूले धेरै सिक्ने बताएका प्रशिक्षक गुरुङ भविष्यमा उनकै ठाउँ लिने योजना सुनाउँछन्। 

खेलाडी हुँदा थ्रीस्टार र संकटा क्लबबाट ए डिभिजन लिग खेलेका गुरुङले पहिलो पटक ए डिभिजन क्लबको प्रशिक्षण अहिले नै सम्हालेका हुन्। आफ्नै क्लबको प्रशिक्षणको जिम्मेवारी लिँदा व्यक्तिगत रुपमा चुनौती त छ नै, उनले यसलाई ठूलो अवसरको रुपमा पनि लिएका छन्। 

नेपाली फुटबल अझै व्यावसायिक भएको छैन। त्यसैले प्रशिक्षक आफैँ क्लबसम्म पुग्नुपर्ने अवस्था छ। लिग सुरु हुनुअघि प्रशिक्षक गुरुङले पनि दुईतीन वटा क्लबसामु आफैँले प्रस्ताव राखेका थिए। तर, उनकै पूर्वक्लब संकटाले उनको प्रस्ताव स्वीकार गर्यो। संकटालाई त्यसअघि पूर्वखेलाडी सल्यान खड्गीले प्रशिक्षण दिँदै आएका थिए। खड्गी एन्फाको बुटवलस्थित टेक्निकल सेन्टरमा प्रशिक्षकका रुपमा नियुक्त भएपछि संकटाले गुरुङलाई नयाँ प्रशिक्षकको जिम्मेवारी दिएको थियो। 

गतसाता लिगमा नौ चरणको खेल खेलिसक्दा संकटाले ३ खेलमा जित, ५ खेलमा बराबरी र एक खेलमा हार बेहोरेको छ। नयाँ प्रशिक्षकका लागि त्यो नतिजा पक्कै लोभलाग्दो नै छ। अहिलेसम्मको नतिजाले उनी गौरवान्वित महसुस गरिरहेका छन्। 

‘क्लबमा प्रशिक्षण सुरुवात गर्नुअगाडि एउटा प्लान गरेको थिएँ। खेलाडी हुँदा जे कुराको कमी थियो त्यसलाई सुधार गर्दै लिगमा प्रस्तुत गर्ने कोसिस गरेँ,’ उनले भने, ‘त्यसमा टिम म्यानेजमेन्ट, खेलाडी सबैको सहयोग रह्यो। हामीले सामूहिक रुपमा यो सफलता प्राप्त गरेका हौँ।’ 

खेलाडी र प्रशिक्षकको रुपमा फरक भूमिका निर्वाह गरेका गुरुङले खेलाडी हुँदाभन्दा प्रशिक्षक हुँदा धेरै चुनौती भएको महसुस गरेका छन्। 

‘खेलाडी हुँदा आफूलाई मेन्टेन गर्ने र आफ्नो प्रदर्शनमा मात्र ध्यान दिए पुग्थ्यो। अहिले व्यक्तिगतदेखि टिमसम्म सबैमा ध्यान दिनुपर्छ। प्रर्दशनलाई ध्यान दिनुपर्छ। त्यो चुनौतीलाई फेस गर्न तयार भएरै आएको हुँ,’ उनले भने।

संकटा क्लबबाट नुवाकोटमा गोल्डकप खेल्ने क्रममा घाइते भएका गुरुङ मिनिस्कस च्यातिएपछि तीनचार महिना मैदानबाहिर रहे। 

‘त्यो बेला संकटा र मनाङले बोलाएका थिए। तर मैले अब खेलाडी हुन्नँ, म प्रशिक्षणमा जान्छु भनेर सोचिसकेको थिएँ,’ पुराना दिन सम्झिँदै उनले भने, ‘त्यहीअुनसार मैले दुई वर्ष सहारा एकेडेमी पनि हेरेँ। त्योबीचमा ए लाइसेन्स पनि गरेँ। अब म अगाडि जानुपर्छ भनेर संकटालाई एप्रोच गरेँ। संकटाले मलाई विश्वास गर्यो। र, अहिले ए डिभिजनमा लिग हेर्नै मौका पाएको छु। यो मेरो लागि ठूलो अवसर हो।’ 

सी लाइसेन्स प्राप्त गरे पनि बनेपा ब्वाइज क्लब (बीबीसी) को सी डिभिजन छनोट, आइडिएल कपमा कलेज टोली हुँदै ललित स्मृतिमा थ्री स्टारको युवा टोलीलाई प्रशिक्षण दिएका गुरुङले राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन्। गत असोजमा पोखरामा भएको राष्ट्रिय फुटसल लिगमा स्पोट्र्स क्यासललाई उनले च्याम्पियन बनाए। 

तनहुँ बन्दीपुर गाउँपालिका ६ मा जन्मेका गुरुङले पोखरालाई कर्मभूमि बनाएका छन्। गुरुङले केही वर्षअघि पोखराको मालेपाटनमा एकेडेमी सञ्चालन गरेका थिए। त्यहाँका तीन खेलाडी अहिले एन्फाको बुटवल एकेडेमीमा छन्। राष्ट्रिय टोलीको जर्सी लगाउने सपना पुरा गर्न नसकेका गुरुङ आफूले उत्पादन गरेका खेलाडीले जर्सी लगाउन सके सपना पुरा भएको ठान्ने सुनाउँछन्।

‘विविध कारणले मैले त राष्ट्रिय टोलीबाट खेल्न सकिनँ,’ उनले भने,‘ मैले उत्पादन गर्ने खेलाडीले त्यो सफलता प्राप्त गरेको दिन मैले आफैँले खेलेको अनुभव गर्नेछु।’
 
पछिल्लो समय उनले सम्हालेको क्लबले राम्रो नतिजा ल्याए पनि अहिले नै आफू सफल भइनसकेको उनको भनाइ छ।

‘अबको १० वर्षमा कस्तो काम गर्न सकिन्छ, त्यसको आधारमा मात्र सफल र असफल भन्न मिल्छ,’ उनले भने, ‘एक वर्ष भाग्यले साथ दिएर राम्रो भएको हुन पनि सक्छ। बाँकी समय परीक्षाको रुपमा लिएको छु।’ 

जारी लिगमा उनलाई त्रिभुवन आर्मी फुटबल क्लबका नवीन न्यौपाने, च्यासल युथ क्लबका बालगोपाल साहुखल र हिमालयन शेर्पा क्लबका युगलकिशोर राई मनपर्ने प्रशिक्षक हुन्। उनीहरु तीनै प्रशिक्षक एउटै पुस्ताका हुन्। राईको टोलीले पछिल्लो समय नतिजा दिएरहेको भए पनि साहुखलको टोलीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। 

‘बालगोपाल साहुखलको नतिजा नआएको मात्र हो तर उनी राम्रो प्रशिक्षक हुन्,’ उनी भन्छन्। 

खेलाडीहरुले स्वदेशमा राम्रो भविष्य नदेखेपछि विदेशिने गरेका घटना नेपाली खेलकुदमा नौलो हैन। त्यसैमा गुरुङ पनि पर्छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) आन्तरिक विवादमा फसेपछि २०६३/६४ मा घरेलु फुटबल प्रभावित भयो। लिगलगायतका प्रतियोगिता हुन सकेन। अस्थिर घरेलु फुटबलका कारण गुरुङ पनि विदेशिए। करिब २ वर्षपछि स्वदेश फर्केका गुरुङ फुटबलबाट भने टाढा रहन सकेनन्। स्वदेश फर्किएपछि उनी पुनः फुटबलमा सक्रिय भए।। 

अबको दिनमा पनि उनको लक्ष्य स्पष्ट छ। कुनै दिन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अलमुताईरीको स्थान लिने। 

‘धेरै सिक्न बाँकी छ। त्यही अनुसार मेहनत पनि गर्छु। सफल हुन्छुहुन्नँ त्यो पछिको विषय हो,’ ३७ वर्षे गुरुङ योजना सुनाउँछन्, ‘मेरो लक्ष्य भनेको कुनै दिन राष्ट्रिय टोलीको प्रशिक्षक बन्नु हो। त्यसका लागि वर्षौँ लाग्छ। म निरन्तर प्रयास गर्ने छु। त्यसैको पहिलो कदमको रुपमा उहाँको सहायक प्रशिक्षक बन्ने मौका पाएको छु। यो मेरो करिअरका लागि ठूलो मौका हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .