ad ad

खेल


इतिहास रच्ने दाउमा एपीएफ, ​पुरानै लयमा मनाङ

इतिहास रच्ने दाउमा एपीएफ, ​पुरानै लयमा मनाङ

लक्ष्मी जि.सी
माघ १४, २०७८ शुक्रबार १४:२१, पोखरा

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार नेपाल एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दै छन्।

शनिबार हुने फाइनल खेलसहित मनाङले १२ औँ पटक आहा राराको उपाधि भिडन्त गर्न लागेको हो।

उता १४ वर्षपछि फाइनलमा पुगेको एपीएफ पहिलो उपाधिको खोजीमा मैदान उत्रिनेछ।

मनाङ सातौँ पटक उपाधि जित्ने लक्ष्यसहित उत्रिने मुख्य प्रशिक्षक प्रशिक्षक फुजा तोपेले बताए।

खेलअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक फुजाले भने, ‘पछिल्लो समय एपीएफ लयमा देखिएको छ, त्यसैले भोलिको खेलबारे अहिले नै आँकलन गर्न सकिँदैन। त्यसका लागि भोलि नै कुर्नुपर्छ।’

मनाङका कप्तान विमल रानाले आफूहरु उपाधि उचाल्ने योजनामा रहेको सुनाए। उनले भने, ‘सेमिफाइनलमा पेनाल्टी मिस गर्दा कुनै दबाब छैन। आफ्नो ठाउँमा दबाब त छैन तर भाग्यले साथ दिएन।’

एपीएफका प्रशिक्षक कुमार थापाले राम्रो तयारी गरेकाले उपाधि जित्न सक्ने बताए। ‘जसरी पोखरामा सहाराले व्यवस्थित रुपमा प्रतियोगिता गरिरहेको छ’, उनले भने, ‘हामीले पनि त्यसै अनुरुप नतिजा निकाल्ने योजनामा छौँ। हाम्रो तयारी राम्रो छ, खेलाडीहरु सबै उत्साहित छन्। हाम्रा खेलाडीहरु उपाधि उचाल्न तत्पर छन्।’

एपीएफका ४ जना खेलाडीहरु दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल गुमाउने छन्। तर यसबारेमा कुनै जानकारी नआएको प्रशिक्षक थापाले बताए।

‘अहिलेसम्म हामीलाई कुनै जानकारी छैन। हामी सबैजना भोलिको तयारीमा लागेका छौँ। फाइनल खेल हुने ३० घण्टा अघिसम्म कुनै जानकारी आएको छैन’, उनले भने, ‘त्यसैले आफ्नो रणनीति अनुसार नै तयारी गरिरहेको छु। मनाङ बलियो टोली हो। मनाङले एनआरटीबाट विदेशी खेलाडी लोनमा पनि ल्याएको छ। त्यो कुन नियम अनुसार भयो, थाहा भएन।’

एपीएफका कप्तान नवीन लामाले आफूहरुका लागि उपाधि महत्वपूर्ण रहेको सुनाए।

‘१४ वर्षपछि प्रतियोगिताको फाइनलमा पुगेका छौँ। दबाब त छ हामीलाई तर जितेर जानेछौँ’, उनले भने, ‘मनाङ राम्रो टोली हो। तर हामी उपाधिका लागि नै खेल्नेछौँ।’

सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई ३–१ ले तथा मनाङले त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन्।  

प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजेपछि सुरु हुनेछ। प्रतियोगितामा विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

क्याराभान गोल्डकपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा वचत भएकौ रकम क्लबद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च हुनेछ। 

आहा! राराका विजेताहरू
क्याराभान गोल्डकप २०५८– नेपाल पुलिस क्लब– मनाङ मर्स्याङ्दी क्लब २–१
आहा रारा गोल्डकप २०५९– नेपाल पुलिस क्लब– फ्रेन्ड्स क्लब १–०
आहा रारा गोल्डकप २०६०– मनाङ मर्स्याङ्दी क्लब–नेपाल पुलिस क्लब ३–१ 
आहा रारा गोल्डकप २०६१– मनाङ मर्स्याङ्दी क्लब – नेपाल पुलिस क्लब ३–२
आहा रारा गोल्डकप २०६२– अफ्रिकन युनाइटेड क्लब–नेपाल पुलिस क्लब २–०
आहा रारा गोल्डकप २०६३– थ्रीस्टार क्लब– मनाङ मर्स्याङ्दी क्लब १–१ (४–३)
आहा रारा गोल्डकप २०६४– नेपाल पुलिस क्लब–एपीएफ क्लब २–०
आहा रारा गोल्डकप २०६५– पुलिस क्लब– त्रिभुवन आर्मी ५–०
आहा रारा गोल्डकप २०६६– नेपाल पुलिस क्लब–त्रिभुवन आर्मी १–०
आहा रारा गोल्डकप २०६७– थ्रीस्टार क्लब–मनाङ मर्स्याङ्दी क्लब १–०
आहा रारा गोल्डकप २०६८– मनाङ मर्स्याङ्दी क्लब–जावलाखेल युथ क्लब २–०
आहा रारा गोल्डकप २०६९– थ्रीस्टार क्लब–सहारा क्लब १–०
आहा रारा गोल्डकप २०७०– सहारा क्लब– मनाङ मर्स्याङ्दी क्लब १–०
आहा रारा गोल्डकप २०७१– थ्रीस्टार– मनाङ मर्स्याङ्दी क्लब १–०
आहा रारा गोल्डकप २०७२– मनाङ मर्स्याङ्दी क्लब– त्रिभुवन आर्मी १–०
आहा रारा गोल्डकप २०७३– मनाङ मर्स्याङ्दी क्लब– सहारा १–०
आहा रारा गोल्डकप २०७४– नेपाल पुलिस क्लब– थ्रीस्टार १–०
आहा रारा गोल्डकप २०७५– थ्रीस्टार–त्रिभुवन आर्मी २–२ (सडेन डेथमा थ्रीस्टार विजयी)
आहा रारा गोल्डकप २०७६– मनाङ मर्स्याङ्दी क्लब– नैपाल पुलिस क्लब ४–३ 
आहा रारा गोल्डकप २०७७– संकटा क्लब–अफ्रिकन रुट्स–  ४–३ (पेनाल्टी सुटआउटमा विजयी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .