ad ad

खेल


साम्बा भोलि स्वदेश फर्किँदै, मैदानमा छिट्टै फर्किनेमा विश्वस्त

साम्बा भोलि स्वदेश फर्किँदै, मैदानमा छिट्टै फर्किनेमा विश्वस्त

लक्ष्मी जि.सी
माघ २४, २०७८ सोमबार ११:४७, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ फुटबल क्लबकी फरवार्ड साबित्रा भण्डारी साम्बा लामो उपचारपछि मंगलबार कतारबाट स्वदेश फर्किँदै छिन्। 

कतारस्थित विश्वप्रसिद्ध अस्पताल अस्पेटारमा करिब ६ महिनाभन्दा लामो समयको उपचारपश्चात् साम्बा स्वदेश फर्कन लागेकी हुन्। 

कतारमा घुँडाको शल्यक्रिया, फिजियोथेरापी र ग्राउण्ड रिह्याबपछि निको भएर उनी फर्किन लागेकी हुन्। आइतबार भएको अन्तिम परीक्षणमा उनको घुँडामा कुनै समस्या नदेखिएपछि अस्पतालले उनलाई स्वदेश फर्कन अनुमति दिएको हो। 

नेपालखबरसँगको कुराकानीमा साम्बाले भनिन्, ‘आइतबार भएको परीक्षणमा सबै कुरा नर्मल आएपछि मलाई डिस्चार्ज दिएको हो। नेपाल आएर केही साता ग्राउण्ड रिह्याब गर्नुपर्ने हुन्छ। त्यसको लागि के के गर्ने भनेर डाक्टर र फिजियोले सबै सल्लाह दिइसक्नु भएको छ। अबको केही सातामा नै मैदान फर्कने छु।’

घुँडामा चोट लागेको झन्डै पाँच महिनाभन्दा लामो समयपछि उनी उपचारका लागि गत असार १२ गते कतार प्रस्थान गरेकी थिइन्। साम्बाको चाहनामा नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा उनको उपचारको व्यवस्था मिलाएको थियो। 

उनले भनिन्, ‘पुरानै अवस्थामा फर्किन कति समय लाग्छ थाहा छैन तर मेरो प्रयास भने छिटोभन्दा छिटो मैदान फर्कनु हुनेछ। नेपालको जर्सी लगाएर धेरै गर्न बाँकी छ। आगामी दिनमा त्यसलाई पूरा गर्ने प्रयत्नमा हुनेछु।’

चोटको समयमा आफूलाई मानसिकरुपमा बलियो बनाइराख्न सहयोग गर्ने सबैलाई सम्झिरहेको साम्बाले सुनाइन्। उनले भनिन्, ‘यो समय मेरो लागि निकै पीडादायी थियो। तर, जसरी सबैको साथ, सहयोग र हौसला पाएँ, त्यसले मेरो मनोबल कहिल्यै कम हुन दिएन। सायद त्यसको कारण पनि पुरानै अवस्थामा मैदान फर्कनेमा विश्वस्त छु।’

चोटकै कारण साम्बाले एएफसी महिला एशियन कप २०२२ को छनोट खेल गुमाएकी थिइन्। 

राष्ट्रिय महिला लिगका दौरान गतवर्षको फागुन ३ गते साम्बाले दायाँ घुँडामा गम्भीर चोट बोकेकी थिइन्। नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा घाइते भएपछि उनले ७९औं मिनेटमा मैदान छाडेकी थिइन्। विपक्षी गोलकिपर अघि बढेको बेलामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङमा समस्या हुँदा साम्बाको घुडाँमा चोट लागेको थियो।  

चोटपछि बिएण्डबी अस्पतामा एमआरआई गर्दा उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल), मिनिस्कससहित अन्य चोट देखिएको थियो। नेपालमा नै करिब ५ महिना फिजियो गराएपछि उनी कतार पुगेकी थिइन्। 

 उनले शल्यक्रियापछि कतारमा रहँदा ग्राउण्ड रिह्याब ७ साता र फिजियो ६ महिना ३ साता गरेकी थिइन्। शल्यक्रियापछि पनि पहिलाकै अवस्थामा आउन निकै गाह्रो हुने भएकाले अझै २ महिना कठिनरुपमा अभ्यास गर्नुपर्ने साम्बाले बताइन्। 

नेपाल फर्किएपछि साम्बाले आफैं ४ साता अभ्यास गर्नेछिन् भने त्यसपछिको २ साता टोलीमा अभ्यास गर्न उनलाई फिजियोले सल्लाह दिएका छन्। ‘केही समय छोटो समयका लागि खेलमा सामेल हुन सकिन्छ। पूरा ९० मिनेट नै खेलमा बिताउन भने केही समय लाग्छ’ उनले भनिन्।

एन्फाको पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो। कतार फुटबलको सहयोगमा पछिल्लो समय विमल घर्तीमगर र विक्रम लामाको उपचार अस्पेटारमा भएको थियो। उपचारपछि विक्रम र विमल मैदान फर्किसकेका छन्। 

चोट लाग्नुअघि लिगको १० खेलमा ४३ गोल गरेकी साम्बा लिगको उत्कृष्ट फरवार्ड घोषित भएकी थिइन्। राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी साम्बा नेपालको मात्र नभएर दक्षिण एसियाकी उत्कृष्ट फरवार्डका रुपमा परिचित छिन्। 

उनले इन्डियन लिग (आई लिग) का दुई संस्करण फरक क्लबबाट खेलेकी थिइन्।

दुईपटक नै क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाले दुई वर्षअघि गोकुलम केरला फुटबल क्लबलाई च्याम्पियन बनाउँदा आई लिगको सर्वाधिक गोलकर्ताासमेत बनेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .