ad ad

खेल


आर्मीको उतारचढावपूर्ण लिग यात्रा

आर्मीको उतारचढावपूर्ण लिग यात्रा

फाइल तस्बिर


लक्ष्मी जि.सी
फागुन १५, २०७८ आइतबार १०:२१, काठमाडौँ

त्रिभुवन आर्मी फुटबल क्लब घरेलु फुटबलमा स्थापित नाम हो। जो सहिद स्मारक ए डिभिजन लिग होस् वा नकआउट– सबै खाले प्रतियोगितामा उपाधि दाबेदारमध्ये एक हुने गरेको छ। कुनै समय तीव्र गति र बलिया खेलाडीकै भरमा चुनौती पेस गर्ने छवि बनाएको आर्मी टोलीले पछिल्ला केही वर्षयता प्राविधिक रूपमा पनि अब्बल प्रदर्शन गरिरहेको मानिन्छ। तर उसले अहिलेसम्म लिग जित्न सकेको छैन। 

२०६१ यता लिगमा सहभागी भइरहेको आर्मी दुईपटक उपाधिको नजिक पुगेर पनि विजेता बन्न सकेन। २०६३ र २०७६ दुवैपटक आर्मी उपाधिनजिकै पुगेर पनि लिग च्याम्पियन बन्न नसकेको हो। दुवैपटक उस्तै खाले अवस्था थियो। फरक थियो त केवल प्रतिद्वन्द्वी। अन्तिम खेलमा बराबरी गर्दा मात्र आर्मीका लागि लिग जित्न पर्याप्त थियो भने प्रतिस्पर्धी क्लबलाई जित्नैपर्ने बाध्यता। २०६३ मा प्रतिद्वन्द्वी नेपाल पुलिस क्लब थियो भने २०७६ मा मछिन्द्र फुटबल क्लब। दुवै अवसरमा आर्मी चुक्यो, अर्थात् हार्यो। २०६३ मा पहिलोपटक पुलिस र २०७६ मा मछिन्द्र च्याम्पियन बन्यो। आर्मी भने दुवैपटक उपविजेतामा सीमित भयो। 

यसपटक आर्मीले दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ। यसपटक भने आर्मीको लिग यात्रा उतारचढावपूर्ण रह्यो। टोली अपराजित त रह्यो, तर उपाधिका लागि भन्दा पनि दोस्रो स्थानको लागि प्रतिस्पर्धा गरिरहेको थियो। ११औं चरणमै मछिन्द्रले उपाधि रक्षा गरिसकेको थियो। यसअघि दुईपटक अन्तिम खेलसम्म उपाधिको दौडलाई कायम राखेको आर्मीले यसपटक अन्तिम दिन दोस्रो स्थानका लागि त्यस्तै प्रतिस्पर्धा गर्नुपर्यो। 

मछिन्द्रले ३५ अंकका साथ लिगको अन्त्य गर्दा आर्मी र न्युरोड टिम (एनआरटी) ले समान २३ अंक बनाए। हेड टु हेडका आधारमा एनआरटीलाई पछि पार्दै आर्मी बल्लतल्ल दोस्रो बन्न सफल भएको हो।  लिगको अन्तिम दिन शनिबार पुलिसलाई ३–१ ले हराउँदै २३ अंक पुर्याएको थियो। अन्तिम खेलअघि नै २२ अंक जोडेको आर्मीले शनिबार नै मनाङ मस्र्याङ्दी क्लबलाई मुस्किलले १–१ मा रोक्दै २३ अंक बनाएको हो। यसपटक लिगमा आर्मीको यो आठौं बराबरी हो। आर्मीले लिगमा जम्मा ५ खेल मात्र जित्यो।  

आर्मीको यात्रा यसपटक सुरुवातबाट केही लडखडाएको थियो। क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये सात चरणको अन्त्यमा शीर्षस्थानमा रहने टोली एएफसी कप छनोटका लागि पठाइने निर्णयको पनि आर्मीले फाइदा उठाउन सकेन। पाँचौं चरणको खेलमै आर्मी एएफसी कप छनोटबाट लगभग बाहिरिसकेको थियो। त्यसपछि टोलीसँग लिग जित्ने सम्भावना थियो। तर, टोली त्यसमा पनि खरो उत्रन सकेन।  

लिगको अन्तिम खेलपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भने, ‘गत सिजन अन्तिमसम्म पनि उपाधिको आशा थियो। यसपटक दोस्रो हुनका लागि पनि निकै कठिन भयो। यसपटक अन्य क्लबको प्रदर्शन कमजोर भएकै कारणले मात्र हामी दोस्रो हुन सफल भएका हौं। अरूले राम्रो खेलेको भए हामी दोस्रो हुने पनि सम्भावना रहन्न थियो। लिगका सुरुवातका दुई खेलमा बराबरी गरेको आर्मीले तेस्रो खेलमा पुगेर मात्र जितको स्वाद लिन पाएको थियो। त्यसपछिका दुई खेल जितेको आर्मीले फेरि यसपछिका दुई खेलमा जित र २ खेलमा बराबरी गर्यो। 

खेलाडीलाई चोट लागेका कारण सुरुवातबाटै आर्मीलाई यो सिजन गाह्रो भयो। 

‘मैले पहिला पनि भनेको थिएँ– स्टेबल र कन्स्याटन्ट खेल खेल्न सकेनौं। कहिले एकदम राम्रो र कहिले खराब खेल्यौं’, उनले भने, ‘धेरै खेल बराबरीमा चित्त बुझाउनुपर्यो। अन्य टोलीले खेल बिग्रनुले पनि हामीलाई फाइदा भयो। त्यस अर्थमा मात्रै हामीलाई भाग्यमानी मान्नुपर्छ।’ 

आर्मीलाई यो पटक खेलाडीलाई चोट सबैभन्दा ठूलो टाउकोदुखाइ बन्यो। लिग सुरु नहुँदै टोलीका मुख्य फरवर्ड नवयुग श्रेष्ठ घाइते भए। लिगका दौरा सुदिल राई, सन्तोष तामाङलाई चोट लाग्यो। त्यसको असर टोलीको प्रदर्शनमा पर्यो। 

प्रशिक्षक न्यौपानेले नेपालखबरसँग भने, ‘यसपटक हाम्रा धेरै खेलाडीलाई चोट लागेकाले सोचेजस्तो प्रदर्शन गर्नै सकेनौं। सुदिल घाइते हुँदा टोलीको फिनिसिङमा समस्या भयो। प्लेयर सन्तोष नहुँदा पनि उनको स्थानमा खेल्न अर्को खेलाडीको अभाव भयो।’

यसपटक लिगमा आर्मी र पुलिसबाहेक सबै टोलीले विदेशी खेलाडी सहभागी गराएका थिए। एएफसी क्लब लाइसेन्स लिएकै कारण नेपाल एपीएफ फुटबल क्लबले लिगका तीन खेलपछि विदेशी खेलाडी राख्यो। टोलीलाई त्यसको भरपूर फाइदा पनि भयो। लिगमा सुरुका ३ खेल गुमाएर दबाबमा रहेको एपीएफले ३ विदेशी खेलाडी आबद्ध गराएपछि टोली ९ खेलमा अपराजित रह्यो। रेलिगेसनको दबाबबाट आफूलाई सुरक्षित अवस्थामा पुग्याे। 

विदेशी खेलाडी राख्न पाउने बाटो खुला भए पनि आर्मीले त्यसमा आवश्यक ठानेन। न्यौपाने भने लिग उपाधिका लागि चुनौती पेस गर्ने हो भने भविष्यमा विदेशी खेलाडी भित्र्याउन आवश्यक देख्छन्। 

‘हामी कमजोर छौं भन्ने अर्थमा होइन, हाम्रा खेलाडी सक्षम छन्’, उनले भने, ‘तर, अन्य टोलीले विदेशी खेलाडी राखेर प्रतिस्पर्धात्मक टोली बनाउँदा अब हामीले पनि त्यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ।’ 

यो सिजन लिग च्याम्पियन मछिन्द्र र आर्मी मात्र अपराजित टोली रहे। त्यसको श्रेय न्यौपाने टोली भित्रको आपसी तामेललाई दिन्छन्। 

उनले थपे, ‘खेलाडी, म्यानेजमेन्ट र कोचको तालमेल मिलेर नै अपराजित रहन सफल भएका हौं।’ 

तर लिग जित्न अपराजित यात्रा तय गरेर मात्र नहुनेमा उनी प्रस्ट छन्। 

‘जुन जुन खेल खेल्नपर्ने त्यो त्यो दिन हामी असफल भएका हौं’, उनले अगाडि भने, ‘मछिन्द्रले सबै खेलमा एकै खाले प्रर्दशन गरेका कारण उपाधि रक्षा गर्न सफल भएको हो। अरू टोलीमा एकरूपताको प्रदर्शन देख्न पाइएन।’ 

खेलाडीको रूपमा न्यौपानेले मनाङबाट चारपटक लिगको उपाधि जितेका छन्। तर प्रशिक्षकका रूपमा विजेता बन्न उनले अझै प्रतीक्षा गर्नुपर्ने भएको छ। 

उनले अन्त्यमा भने, ‘खेलाडीका रूपमा चारपटक उपाधि जिते, अब प्रशिक्षकका रूपमा लिग जित्ने लक्ष्य छ, त्यसका लागि आफूलाई तयार पार्दै लैजाँदै छु। हेरौं, अर्को सिजन पूरा हुन्छ कि?’ 

यसपटक लिगको सुरुवातबाटै फिनिसिङमा चुकेको आर्मीले दाबेदार छवि कायम राख्न आउने वर्षमा अझै मेहनत गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .