ad ad

खेल


एनएसएलका कारण विवादमा घरेलु फुटबल, एन्फा मूकदर्शक

अक्सनले तनाव, प्रतिनिधि फिर्ता लिने चेतावनी
एनएसएलका कारण विवादमा घरेलु फुटबल, एन्फा मूकदर्शक

लक्ष्मी जि.सी
फागुन ३०, २०७८ सोमबार १७:२१, काठमाडौँ

घरेलु फुटबलमा फ्रेन्चाइज लिगको नयाँ अभ्यासस्वरुप नेपाल सुपर लिग (एनएसएल) सुरु भएको १ वर्ष बित्नै लागेको छ। 

अब यसको दोस्रो संस्करणको लागि आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले तयारी थालिसकेको छ। तर यसैबीच केही विवादका संकेतहरु देखापरेका छन्। 

पहिलो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग औपचारिक रुपमा सम्झौता गरेको दुई वर्षपछि ०७८ को वैशाख–जेठमा प्रतियोगिता आयोजना भएको थियो। 

कोरोना महामारीका बीच खेलकुद गतिविधि लगभग ठप्प रहेको अवस्थामा एनएसईएमले सरकारको स्वीकृतिमा विना दर्शक एनएसएल आयोजना गरेको थियो।

टेलिभिजनमा गरिएको एनएसएलको प्रत्यक्ष प्रसारणले घरमै बसेर पनि फुटबलका दर्शकले खेलको मज्जा लिन पाएका थिए। पहिलो संस्करण कसरी आयोजना होला भन्नेमा फुटबलवृत्तमा पनि एनएसएल चासोको विषय थियो।

२०७६ को फागुनमा लिग सकिएपछि खेलाडीहरु पनि कुनै क्लबसँग सम्झौतामा थिएनन्। प्रतियोगिता पनि केही थिएनन्।

त्यस्तोमा एनएसएल आयोजना खेलाडीहरुलाई आर्थिक रुपमा आर्जनको बाटो मिल्यो भने फुटबलका दर्शक पनि घरमै बसेर खेलको आनन्द लिन पाउँदा खुसी हुने नै भए। सामाजिक सञ्जालमा पनि एनएसएलको खुबै चर्चा भएको थियो। 

पहिलो पटक आयोजना भएको फ्रेन्चाइज लिग दशरथ रंगशालाको फ्लड लाइटमा गरिएको थियो। त्यसले घरेलु फुटबलमा एउटा नयाँ स्वाद पस्केको थियो। फुटबलमा ७ वटा नयाँ फ्रेन्चाइज टोलीको आगमनले फुटबलमा उत्साह पनि देखिएको थियो।

त्यतिबेला सहिद स्मारक ए डिभिजन लिग वा अन्य प्रतियोगिता नभएकाले पनि ए डिभिजन क्लबहरुले पनि एनएसएल आयोजनामा मौन समर्थन नै जनाए। विवाद सुनिएन।

यसपटक किन विवाद? 
अहिले फुटबलमा दृश्य फेरिएको छ। यो वर्ष मंसिर ३ देखि फागुन १४ गते सम्म ए डिभिजन लिग आयोजना भयो। लिगका लागि खेलाडीहरुमा अनुबन्धित भए। लिग चल्दै गर्दा एनएसएलले पनि दोस्रो संस्करण आयोजनाको घोषणा गर्यो। 

दोस्रो संस्करणमा नयाँ ३ टोली थपिए। लिग सकिएलगत्तै फ्रेन्चाइज टोलीले मार्की खेलाडीको घोषणा गर्न थाले। आफूहरुसँग सम्झौता रहँदा रहँदै मोफसलका प्रतियोगिता बाँकी रहेकै अवस्थामा एनएसएलले मार्की खेलाडी घोषणा र अक्सन गर्ने घोषणा गरेपछि ए डिभिजन क्लबहरू झस्किए।

आफूहरुसँग अनुबन्ध हुँदाहुँदै एनएसएलको अक्सन हुनु जायज नहुने भन्दै आठवटा ए डिभिजन क्लबले संयुक्त विज्ञप्ति जारी गरेर त्यसलाई सम्बोधन गर्न एन्फासँग आग्रह गर्यो।

क्लबको आग्रहमा एन्फाले अक्सन रोक्न भन्दै एनएसएल आयोजकलाई पत्र लेख्यो। त्यसका बाबजुद एनएसएलको फागुन २० गते अक्सन भयो। क्लबहरू त्यसबाट थप चिढिए।

सुरुका ८ मध्येका ४ क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै फेरि त्यही माग दोहोर्याएका छन्। न्युरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब र संकटा क्लबका पदाधिकारीले संयुक्त पत्रकार सम्मेलन गर्दै अहिले देखिएको विवाद अन्त्य गर्न एन्फा पदाधिकारीलाई आग्रह गरेका छन्।

एन्फाको बुधबार बस्ने कार्यसमितिको बैठकमा आफूहरुले उठाएको माग एजेण्डाका रुपमा प्रस्तुत भएर छलफल हुनुपर्ने उनीहरुको माग छ। 

एन्फाले के गर्ला? 
फुटबलको सर्वोच्च निकाय भएका कारण क्लबहरुले एन्फासँग माग राख्नु स्वाभाविक हुन आउँछ। अब एन्फाले त्यसलाई कसरी सम्बोधन गर्छ त्यो भने चासोको विषय बनेको छ।

विश्व फुटबलमा कहीँ पनि एउटा खेलाडीको दोहोरो सम्झौता हुन नसक्ने तथा एकबाट अर्को क्लबमा जाँदा रिलिज लेटर अनिवार्य पेश गर्नुपर्ने भन्दै क्लबहरुले आफ्नो मागको सुनुवाइ नभए कानुनको सहारा लिनुपर्नेसम्मको अवस्था आउने बताएका छन्।

पत्रकार सम्मेलनमा थ्रीस्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले भनेका थिए, ‘हामी सबै समस्याको हल छलफलबाट होस् भन्ने चाहन्छौँ, तर त्यसको सुनुवाइ कतै भएन भने कानुनी बाटो समात्नुपर्ने पनि हुनसक्छ।

एन्फाले आफूहरुको माग सम्बोधन नगरे त्यसपछि छलफल गरेर आगामी बाटो तय गरिने क्लबहरूको भनाइ छ। एन्फाको यस्तै रवैया रहे आफ्ना प्रतिनिधिहरूलाई एन्फाबाट फिर्ता बोलाउनुपर्ने अवस्था आउन सक्नेसम्मको चेतावनी क्लबका पदाधिकारीले दिएका छन्। 

पत्रकार सम्मेलन गर्ने ४ क्लबमध्ये ३ क्लबकै पदाधिकारी एन्फाको जिम्मेवारी छन्। संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकारले भनेका थिए, ‘आवश्यकता पर्यो भने बोलाउन पनि सकिन्छ। संकटाका अध्यक्ष इन्द्रमान तुलाधर एन्फा महासचिव हुन्। त्यस्तै थ्री स्टारका अध्यक्ष अरुणमान जोशी एन्फा सहमहासचिव र मनाङका सदस्य विजय घले एन्फा सदस्य छन्।  

मनाङका उपाध्यक्ष कर्माछिरिङ गुरुङले एन्फा जाने आफ्नो प्रतिनिधिले पहिला क्लबको समस्या हेर्नुपर्नेमा जोड दिँदै त्यस्तो नभए कार्यसमितिले फिर्ता समेत बोलाउन सक्ने बताएका थिए। 

एनआरटीका अध्यक्ष जोशीले आफ्ना कतिपय खेलाडीको अनुबन्धन २०८० सालसम्म क्लबसँग रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर त्यसलाई पूरै बेवास्ता गरिएको छ। हामी एनएसएललाई मर्कामा पार्ने पक्षमा छैनौँ तर हामीसँग सल्लाह नै नगरी आफूखुसी खेलाडीको अक्सन गरिनु जायज होइन।’

एन्फाले अक्सन नगर्न पत्र कटिसकेपछि पनि अक्सन गर्नु भनेको एनएसएल आयोजकले एन्फाको आग्रहलाई अटेर गरेको प्रस्ट देखिन्छ। 

तर एनएसएल आयोजकले भने ढिला गरेर सूचना पाएकाले अक्सन रोक्न नसकेको जनाएको छ। 

एनएसईएमका सीईओ सुदिप शर्माले भने, ‘केही दिनअघि नै सूचना पाएको भए अक्सन स्थगित गर्न सक्थ्यौँ, अक्सनका लागि भनेर हामी धेरै अगाडिबाट तयारी सुरु गरिसकेका थियौँ।’

पछिल्लो विवादका विषयमा एन्फा बैठकमा छलफल हुने सम्भावना रहेको एन्फा महासचिव तुलाधरले बताए। 

उनले भने, ‘बैठकमा कुनै पनि सदस्यले थप एजेण्डा राख्नुभयो भने अक्सनका विषयमा छलफल हुनेछ। हामी केही न केही गर्छौँ।’

अहिले उत्पन्न परिस्थितिमा एन्फाको पनि केही कमजोरी रहेको तुलाधर स्वीकार्छन्। 

‘एन्फाको पनि केही कमजोरी छ, त्यसलाई पनि सुधार गर्नुपर्छ’, उनले भने, ‘ए डिभिजन क्लबहरूसँग पनि छलफल गर्नुपर्ने थियो। यसमा केही समय लागेको हो, यसलाई हामी समाधान गछौँ।’ 

उनले अहिलेको विवादको दीर्घकालीन समाधानका लागि प्रयास गरिने पनि बताए।

क्लबले खेलाडी रिलिज नगरे संकटमा पर्छौँ : एनएसएल
ए डिभिजन क्लबहरुले खेलाडी रिलिज नगरेको अवस्थामा एनएसएल नै संकटमा पर्ने एनएसईएमका सीईओ शर्माले बताए। 

‘अहिले एनएसएलको अस्तित्व संकटमा छ। क्लबले खेलाडी रिलिज नगरे हामीले खेलाउन सक्दैनौँ। यो विवाद समाधानका लागि एन्फाले पहल गरिदिए हामी सबै एकै ठाउँमा बसेर कुरा गर्छौँ’, उनले भने, ‘एन्फाले पहल गरिदियो भने यो सबै कुरा मिल्छ भन्नेमा विश्वस्त छौँ।’ 

अहिलेको विवाद समाधान गरेर अघि बढ्न सकिने शर्माको भनाइ छ। 

‘अहिले पनि केही बिग्रेको छैन’, उनले थपे, ‘हामीले सबैले एकअर्कालाई सहयोग गर्न सक्छौँ। क्लबले खेलाडी रिलिज नगरे हामीले अर्को रिप्लेसमेन्ट खोज्नेछौँ। तर त्यस्तो अवस्था आउँदैन भन्नेमा हामी ढुक्क छौँ।’

शर्माले आफूहरु पनि आन्तरिक छलफलमा रहेको र केही दिनमा आधिकारिक धारणा सार्वजनिक गर्ने योजनामा रहेको सुनाए। 

‘जसरी ए डिभिजनका क्लबले आफूहरुको अस्तित्व नै संकटमा पर्न लाग्यो भनेर भन्नुभएको छ। त्यो हाम्रो सोच नै हैन’, उनले भने, ‘हामी पनि डेढ वा दुई महिनाको सानो प्रतियोगिता मात्रै गर्ने हो। हाम्रो र उहाँहरुको उद्देश्य फुटबलको विकास गर्ने नै हो। हाम्रोतर्फबाट केही गर्न सक्छौँ भने गर्छौँ भनेका हौँ। हाम्रोतर्फबाट पनि केही कुराहरु राख्न पायौँ भने वातावरण राम्रो हुन्छ, अहिले पनि हामी बसेर छलफल गर्न तयार छौँ।’

फुटबलको कार्यकारी निकाय एन्फाले आवश्यक निर्णय नगर्दा क्लब र एनएसएल आयोजक दुवै अन्योलमा देखिन्छन्।

देखिएको विवाद समाधानका लागि पहल गर्नुको सट्टा बेवास्ता गर्दै एन्फा मूकदर्शक बनेर बस्ने हो भने भविष्यमा अहिलेभन्दा ठूलो विवाद नआउला भन्न सकिन्न। त्यसले अन्ततः घाटा घरेलु फुटबललाई नै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .