खेल


रोहितको बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपालको हार

रोहितको बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपालको हार

यज्ञराज जोशी
चैत ११, २०७८ शुक्रबार १७:१६, काठमाडौँ

पपुवा न्यूगिनी(पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला(ओडिआई) शृंखलाको पहिलो खेलमा नेपालले ६ रनको हार ब्यहोरेको छ। 

रोहित पौडेललको बहादुरीपूर्ण शतकीय इनिङ्स खेलेपनि पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रनमा रोकियो। 

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहेका बेला क्रिजमा रहेका सोमपाल कामी र कमलसिंह ऐरीले ३ रनमात्रै जोड्न सकेपछि नेपालले हार आत्मसात गर्यो। सोमपाल र कमल समान १८–१८ रनमा नटआउट रहे। 

एकसमय ७३ रनमा ४ विकेट गुमाएपछि नेपालको पारी रोहित पौडेलले सम्हालेका थिए। मुख्य ब्याटरहरु कुशल भुर्तेल(३२), अनिल साह(६), देव खनाल(०) र दीपेन्द्रसिंह ऐरी(१५) सस्तैमा आउट भएपछि कीर्तिपुर मैदानमा खेल हेर्न पुगेका दर्शक र नेपाली डगआउटमा पनि निराशा छाइरहेका बेला रोहितले शतकीय पारी खेलेका थिए। 

नवौं ओभरको अन्तिम बल(देव) र दशौं ओभरको पहिलो बल(कुशल)मा लगातार दुई बलमा दुई विकेट गुमाएपछि भने नेपालमाथि दबाब थपिएको थियो। 

त्यहीबेला क्रिजमा आएका रोहित पौडेलको बहादुरीपूर्ण प्रदर्शनमा नेपाल इनिङ्स अघि बढ्यो। चौथो विकेटका लागि रोहित दीपेन्द्रसिंह ऐरीसँग २८ रनको साझेदारी गरे। 

१२ औं ओभरको पहिलो बलमा जोसन किलालाई छक्का प्रहार गद्र्रै रोहितले हात खोले। नोबलमा पाएको फ्रीहिटमा उनले स्ट्रेटमा छक्का प्रहार प्रहार गरेका थिए। 

अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीलाई खिलाले क्याच गरेपछि रोहितमाथि थप जिम्मेवारी थपियो। क्रिजमा आएका आरिफ सेखले भरपुर साथ दिए। 

२८ औं ओभरको दोस्रो बलमा १ रन जोड्दै रोहितले ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरे। ५४ बलमै अर्धशतक पूरा गर्दा उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए। 

उक्त अर्धशतकसँगै रोहित ओडिआईमा नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बनेका थिए। उनीपछि ज्ञानेन्द्र मल्लले नेपालका लागि चार अर्धशतक प्रहार गरेका छन। 

३६औं ओभरमा भालाले आरिफ(३४)लाई कट एण्ड बोल्ड पार्दा उनीहरुबीच पाँचौं विकेट १०४ रनको साझेदारी भएको थियो। जुन ओडिआईका लागि कुनैपनि विकेटका लागि नेपाली खेलाडीहरुबीच भएको सर्वाधिक साझेदारी पनि हो। यसअघि एकहप्ताअघि यूएईमा भएको विश्वकप क्रिकेट लिग २ मा आरिफ र रोहितबीच नै पाँचौं विकेटका लागि १०० रनको साझेदारी भएको थियो। 

३९.५ ओभरमा एक रन हिर्काउदै रोहितले आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरे। उनले ९१ बलमा ७ चौका र २ छक्काको मद्दतमा शतक पूरा गरेका थिए।

ओडिआईमा शतक प्रहार गर्ने रोहित दोस्रो नेपाली खेलाडी हुन। यसअघि पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको इनिङ्स खेलेका थिए। 

एकचालिसऔं ओभरको चौथो बलमा छक्का प्रहार गरेका भीम सार्की(१७) पाँचौं बलमा आउट भएपछि रोहित दबाब झनै बढ्यो। त्यसपछिका दुई ओभरमा दुई छक्का प्रहार गर्दै रोहितले नेपालको आवश्यक रनरेट घटाए। 

४४औं ओभरको चौथो बलमा नयाँ ब्याट्सम्यान पवन सर्राफ(७) पनि पवेलियन फर्किए। अर्को इनिङ्स सम्हालेका रोहितलाई अमिनीले ४२औं ओभरको दोस्रो एकहाते उत्कृष्ट क्याच गर्दै निराश बनाए। 

१०७ बलमा ७ चौका र चार छक्कासहित सानदार १२६ रनको इनिङ्स खेलेका रोहित खेल जिताउँन नसकेकोमा निराश देखिन्थे। डगआउटमा उनलाई गडगडाहट तालीका साथ नेपाली टोलीले स्वागत गरेको थियो। 

यसै खेलमार्फत रोहित ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउँने खेलाडी समेत बने। रोहितले ओडिआईका १६ खेलमा ५८८ रन बनाइसकेका छन्। यसअघि ज्ञानेन्द्र मल्लले ओडिआईमा नेपालबाट सर्वाधिक ४८० रनको स्कोर बनाएका थिए। 

नेपालले शृंखलामा पीएनजीविरुद्ध अर्को खेल शनिबार खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .