ad ad

खेल


मञ्जुश्री ट्रेल रेसको उपाधि रक्षा गर्ने दाउमा धावक जीवन लामा (भिडिओ)

मञ्जुश्री ट्रेल रेसको उपाधि रक्षा गर्ने दाउमा धावक जीवन लामा (भिडिओ)

धावक जीवन लामा। तस्बिर : विजय सिंह


लक्ष्मी जि.सी
बैशाख १५, २०७९ बिहिबार १५:४२, काठमाडौँ

नेपालको पहिलो एक सय माइलको ट्रेल रेसको दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ। ​कालुपाण्डे मार्गबाट सुरु हुने ट्रेल रेसमा सहभागी हुन सबै धावकहरु काठमाडौ आइसकेका छन्। 

यो पटकको ट्रेल रेसमा ३६ जना धावक सहभागी हुँदै छन्। १ सय ७७ किमिको ट्रेल रेसमा २७ जना पुरुष र ९ महिलाले स्पर्धा गर्दै छन्। यो रेसमा विदेशीभन्दा स्वदेशी धावकको संख्या बढी छ। 

१ सय माइल ट्रेल रेसमा २५ जना नेपाली र ११ जना विदेशी धावकले स्पर्धा गर्नेछन्। यो रेसको पहिलो संस्करण नेपाली धावक जीवन लामाले जितेका थिए। उनले ३३ घण्टा १५ मिनेटमा दूरी पार गरेका थिए। 

यो पटक विदेशी धावकहरुको संख्या बढी भएका कारण पनि उपाधि रक्षाको चुनौती उनीमाथि छ। तर दोस्रो संस्करणमा दौडको समय कम गर्दै उपाधि रक्षा गर्नका लामाले लामो समयदेखि तयारी गरिरहेको बताएका छन्। 

उनले भने, ‘उपाधि जित्नको लागि केही मानसिक दबाब भने हुने रहेछ। पहिला कोभिड–१९ को महामारीका कारण धावकहरु केही कम थिए। त्यसैले पनि केही सहज थियो। यो पटक धावकहरु धेरै छन्। नेपाली धावकहरु पनि छन्।’ 

पहिलो संस्करणमा लामालाई आफूले उपाधि जित्छु भन्ने एकीन थिएन। उनी मात्र दौड पूरा गर्छु भन्ने सोचमा थिए। 

त्यसैले दौडको बीचमा नै १ घण्टा आराम पनि गरेका थिए। तर अहिले नयाँ धावकहरु पनि आएका कारण केही कठिन हुने उनले देखेका छन्। 

यद्यपि प्रतिस्पर्धामा उत्रेपछि उपाधि नै उनको लक्ष्य हो। धावक लामाले लामो दूरीको दौड सुरु गरेको लामो समय भएको छैन। 

सन् २०१८ बाट ट्रेल रेस सुरु गरेका लामा सुरुवातमा रोड रेस र छोटो दूरीको दौडमा सहभागी भए। १६ किमि ट्रेल रेसमा दौडिएपछि उनलाई लामो दौडमा नै मन लाग्यो। 

उनले थपे, ‘५० माइल र १ सय माइलको दौडमा फरक हुन्छ, ५० माइलमा अलि छिटो दौडन पर्छ। १ सय माइलमा आरामले आफ्नो शरीरले के मागिरहेको छ, त्यो बुझ्दै अगाडि बढ्ने हो।’ 

दोस्रो संस्करणका लागि लामाले हेलम्बु, रुवी भ्याली, हाइ अल्टिच्युटमा दौडेर तयारी गरिरहेका छन्। योसँगै क्लाइम्बिङ पनि गरिरहेका छन्। जसले शरीरको मसल्सलाई फिट राख्न मद्दत गर्छ।

ट्रेल रेस सुरु गरेका लामा प्रशिक्षकविना नै दौडिरहेका छन्। 

उनले युट्युबमा प्रोफेसनल रनर (व्यावसायिक धावक) ले भनेका कुराहरु सुन्ने गरेका छन्। त्यहीअनुसार अहिले दौडिरहेको उनको भनाइ छ। 

उनले भने, ‘मान्छेमा इच्छाशक्ति चाहिने रहेछ जसले अगाडि बढ्न सकिन्छ। कहिलेकाहीँ साथीहरुसँग सल्लाह लिन्छु त्यहीअनुसार गर्छु।’ 

प्रशिक्षकसँग प्रशिक्षण गर्दा अझै राम्रो गर्नसक्छु होला भन्ने उनलाई पनि लागेको छ। 

तर कहिलेकाहीँ उनी आफैँ सोच्छन्, ‘सोलो (एकल) गर्दा अझ बलियो हुन्छु जस्तो पनि लाग्छ।’

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .