नेपालको वेसबल खेल विकास गर्न २० वर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरुको संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन्।
जापानी नागरिकहरुको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो। यसअघि ब्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यवसायीक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन्।
यस्तै, क्लबको साधारणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ। सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरिरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल चयन भएका हुन्। थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन्। क्लबको सल्लाकारमा २० वर्षदेखी क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन्।
२१ वर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए। हाल संस्थाले जापानमा बसि नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउँदै आएको छ।
यस्तै, संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ। वेसबलको खेल साम्रागी निकै महंगो पर्ने गर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैनन्। यो खेल जापान, अमेरिका लगायत विकसित राष्ट्रमा निकै प्रख्यात छ।

प्रतिक्रिया