ad ad

खेल


ब्याटिङ नचल्ने समस्याबाट उम्किन सकेन नेपाल

खस्किँदै टी–२० वरीयता, टाढा बन्दै विश्वकप खेल्ने सपना!
ब्याटिङ नचल्ने समस्याबाट उम्किन सकेन नेपाल

केन्याविरुद्ध खेलेपछि।


लक्ष्मी जि.सी
भदौ १५, २०७९ बुधबार १६:२६, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ५ खेलको टि–२० आई सिरिज ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो। 

नेपालले सिरिज आफ्नो पक्षमा पारे पनि टोलीमा लामो समयदेखि देखिँदै आएको ब्याटिङको समस्या यो पटक पनि उस्तै रह्यो। सिरिजको पहिलो खेल ५ विकेटले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेल भने १८ रनले गुमाउन पुग्यो। 

तेस्रो खेल ४ विकेटले जित्दै सिरिजमा २–१ को अग्रता बनाएको नेपालले चौथो खेलमा भने केन्याले ४ विकेटले खेल जित्दै सिरिज बराबरी गर्यो। पाँचौँ तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको हो। 

नेपालले अब केन्यासँग ३ एक दिवसीय खेल खेल्ने तालिका छ। एक दिवसीय सिरिज शुक्रबारबाट सुरु हुनेछ। 

केन्याविरुद्ध खेल्दै। तस्बिर : क्यान

कसको कस्तो प्रदर्शन? 
टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको सर्वाधिक योगदान दिए। रोहित पौडेलले ४७ रन बनाए। पूर्वकप्तान मल्लले बनाएको ५९ रन सिरिजमा कुनै खेलाडीले बनाएको सर्वाधिक रन रह्यो। 

खेलाडीको वरीयतालाई लिएर भएको विवाद उत्कर्षमा पुग्दा पूर्वकप्तान ज्ञानेन्द्र लामो समय टोली बाहिर रहे। पुनरागमनपछि आफूलाई साबित गर्नका लागि पनि पूर्वकप्तानमाथि एक किसिमको दबाब थियो। जुन दबाबमा उनी खरो रुपमा उत्रिने प्रयास गरे। 

चौथो खेलमा रोहित पौडेलले ४७ रन बनाउनेबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

तेस्रो खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन बनाए। अर्जुन साउदले ३५ रनको योगदान दिए। दोस्रो खेलमा आरिफ शेख २५, आदिल खान २०, रोहित पौडेल २० र पवन सर्राफले १९ रन जोडे। पहिलो खेलमा दिपेन्द्रसिंह ऐरीले जोडेको ३३ रन नै सर्वाधिक रह्यो। 

टी–२० सिरिजको पाँच खेललाई हेर्ने हो भने नेपालको ब्याटिङलाई कमजोर बन्दै गइरहेको छ। नेपालले केन्याले दिएको १०२ रनको सामान्य लक्ष्य पनि भेट्टाउन सकेन। 

फाइल तस्बिर

ब्याटिङमै समस्या, कहिले होला सुधार? 
भनिन्छ सफलताले कमजोरीलाई लुकाउने काम गर्छ तर नेपाली क्रिकेटमा देखिँदै आएको ब्याटिङ समस्या थप गहिरिँदै गएको छ। यसको चाँडो समाधान गर्न ध्यान दिन जरुरी भइसकेको छ। नेपालको सफलतामा पनि ब्याटिङ समस्या छर्लङ्ग देखिने गरेको छ। नेपालको यस्तै अवस्था रहे नेपालले एक दिवसीय खेलमा केन्यासँग कस्तो प्रदर्शन गर्छ त्यो हेर्न जरुरी छ। 

नेपालको ब्याटिङ समस्या तत्काल देखिएको समस्या भने हैन। लामो समयदेखि ब्याटिङको समस्या नेपाली टोलीमा देखिए पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोर आएपछि त्यो समस्या कम हुँदै गएको थियो। उनले नेपाली टोलीमा आशाको दियो बाल्ने काम गरेका थिए। 

छोटो समय नेपाली टोलीलाई हेरे पनि ह्वाटमोरले नेपाली क्रिकेटमा देखिएको ब्याटिङको समस्या एक किसिमले हटाएका थिए। उनले भरपर्दा ओपनरको खोजी गरे र टोलीमा नयाँ आशा जगाए। तर जसै ह्वाटमोरले नेपाली टोली छाडे नेपालको समस्या जहाँको त्यहीँ देखिएको छ। उनले सुधार गरेको ब्याटिङ लाइनअप नै कमजोर बन्दै गएको छ। 

खेलाडीमा प्रतिभा नभएर टोली कमजोर देखिएको पक्कै हैन टोलीमा देखिने गरेको गुटबन्दीको शिकार यतिबेला राष्ट्रिय टोली परेको छ। 

वरीयता खस्किँदै
नेपालले सिरिज आफ्नो पक्षमा पारे पनि टी–२० वरीयता भने खस्कँदै गएको छ। वरीयता खस्किँदै जाँदा नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १५औँ स्थानमा पुगेको छ।

नामिबियाले नेपाललाई पछि पार्दै १४औँ स्थानमा उक्लेको हो। स्कटल्यान्ड १६औँ स्थानमा छ। ओमान १७, नेदरल्यान्ड्स १८, पपुवा न्युगिनी १९ र हङकङ २०औँ स्थानमा छ। 

सन् २०२४ को टी–२० विश्वकपमा सहभागी हुने २० टोलीमध्ये १२ टोलीले छनोटमा सिधै स्थान बनाउनेछन्। आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टि–२० विश्वकपबाट शीर्ष ८ टोली सोझै छनोट हुनेछन्। 

विश्वकपका लागि अमेरिका र वेस्टइन्डिज आयोजकको हैसियतमा स्वतः छनोट भइसकेका छन्। २०२२ को विश्वकपका शीर्ष ८ टोली तथा वरीयताअनुसार त्यसपछिका शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन्।

केन्याविरुद्धको टी२० शृंखला जितेपछि ट्रफीसाथ कप्तान सन्दीप लामिछाने

बाँकी ८ देशले पाँच क्षेत्रको छनोटबाट स्थान बनाउनेछन्। छनोट हुनका लागि सन् २०२२ को १४ नोभेम्बरसम्मको वरीयतालाई आधार मानिनेछ। 

यदि वेस्टइन्डिज यस वर्ष हुने टी–२० विश्वकपमा शीर्ष ८ मा परेमा वरीयताका आधारमा थप तीन टोलीले २०२४ को विश्वकप खेल्ने मौका पाउनेछन्। एसिया क्षेत्र छनोटबाट दुई टोलीले ठाउँ बनाउनेछन्। ८ मध्ये अफ्रिका, युरोप र एसिया क्षेत्रको छनोटबाट समान २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

अमेरिका र इएपि क्षेत्रबाट १–१ टोली आउने छन्। नेपाल विश्वकपका लागि सिधै छनोट हुन नसके एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ। त्यस्तोमा वरीयता खस्किँदै जाँदा विश्वकपको सपना पनि नेपालका टाढिँदै जानेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .