ad ad

खेल


वाचा पूरा गर्न नसकेपछि राष्ट्रिय टोलीबाट अलग भएका थापा

वाचा पूरा गर्न नसकेपछि राष्ट्रिय टोलीबाट अलग भएका थापा

कुमार थापा।


लक्ष्मी जि.सी
असोज ८, २०७९ शनिबार ९:३३, काठमाडौँ

कुमार थापाले वाचापुरा गर्न नसकेपछि सोही पदमा नबस्ने भन्दै राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। यसै साता दशरथ रंगशालामा साफ च्याम्पिनयसिपको फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भएलगत्तैको पत्रकार सम्मेलनमा थापाले राजीनामाको घोषणा गरेका हुन्। 

‘हामीले साफ च्याम्पिनयसिपमा जुन वाचा गरेको थियौं। त्यसमा सफल हुन सकेनौं। त्यसैले अब मुख्य प्रशिक्षकबाट राजीनामा दिन्छु,’ उनले भनेका थिए, ‘सफल नभएपछि चुइंगम जस्तो तन्किएर बसिरहन उपयुक्त हुँदैन। अर्को आउने प्रशिक्षकका लागि ठाँउ खाली गर्नुपर्छ।’

साफ च्याम्पिनसिपअघि नै पनि उनले आफ्नो लागि महिला टोली हेर्ने यो नै अन्तिम मौका भएको बताइसकेका थिए।

‘मैले दोस्रो पटक महिला टोलीको जिम्मेवारी पाएको छु,’ उनले साफ च्याम्पियनसिपअघि भनेका थिए, ‘यस्तो मौका सबैले पाउँदैनन्। मैले पाएँ। यो मेरो लागि अन्तिम मौका हो।’ 

थापाले आफ्नो लागि आफैँ लक्ष्य प्रष्ट गरेका थिए। लक्ष्यमा सफल नभएपछि उनले असफलताको जिम्मेवारी लिँदै पद त्याग्ने निर्णय गरेका हुन्।

यसअघि सन् २०१६ मा पनि थापाले महिला टोलीको प्रशिक्षण सम्हालेका थिए। भारतसँग सेमिफाइनलमा पराजित भएर टोली पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भएको थियो। छैटौं संस्करणमा आइपुग्दा नेपालले पाँचौं पटक फाइनल खेलेको थियो। पहिलो पटक टोली सम्हाल्दा सेमिफाइलनबाट बाहिरिनु परेको पीडा थापामा थियो। 

त्यसअघि वा पछि हरेक संस्करण फाइनल पुग्दा आफ्नै समयमा नपुग्दा एउटा प्रशिक्षकलाई नैतिक रुपमा दबाब पक्कै हुन्छ नै। यसपटक विगतको नतिजालाई बिर्साउने र टोलीलाई च्याम्पियन बनाउने अवसर थापासँग थियो। दुईमध्ये एउटामा थापा सफल भए तर मुख्य लक्ष्य उपाधि जिताउन भने फेरि पनि असफल भए। यसपटकको एउटा ठूलो सफलताका रुपमा भारतमाथि सेमिफाइनलमा १–० को जितलाई मान्नुपर्ने हुन्छ। 

पाँच पटकको च्याम्पियन रहिसकेको भारतलाई सेमिफाइनलमा रोक्नु नेपाली महिला टोलीका लागि ठूलो सफलता हो। त्यसअघि नेपालले साफ च्याम्पिनसिपमा भारतलाई हराउन सकेको थिएन। यसअघिका सबै फाइनल र एउटा सेमिफाइनलमा नेपाल भारतसँग नै निराश भएको थियो। यसपटक त्यो सिलसिला तोड्न थापा सफल भएका छन्। चौथो संस्करणको हारलाई बिर्साउनेगरी भारतलाई हराएर फाइनल पुग्दा थापा मात्र होइन नेपाली समर्थक नै खुसी भए। 

तर, अन्तिम लक्ष्य पुरा गर्न नसक्दा भने थापासँगै सबै निराश हुनु स्वाभाविक थियो। साफ च्याम्पिनसिपमा भारतमाथि पहिलो जित दिलाउन सफल प्रशिक्षकका रुपमा नाम लेखाउन सफल भए पनि थापा टोलीको उपविजेता छविलाई बदल्न भने चुकेका छन्। पहिलो पटक टोली सम्हाल्दा ६ खेलाडीलाई डेब्यु दिएका थापाले यसपटकको साफमा पनि ४ खेलाडीलाई डेब्युको अवसर दिएका थिए। उनको प्रशिक्षणमा मिडफिल्डर दीपा शाही, फरवार्ड अमिशा कार्की तथा डिफेन्डरद्वय समीक्षा घिमिरे र निशा थोकरले डेब्यु गरे। 

सफल खेलाडी
प्रशिक्षक थापा आफ्नो समयका उत्कृष्ट मिडफिल्डर मध्येका एक हुन्। २०७३ सालमा महिला टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थापा त्यसको ५ वर्षपछि ए डिभिजन क्लबको प्रशिक्षकको रुपमा घरेलु फुटबलमा फर्किएका थिए। २०६३ देखि २०७१ सम्म एपीएफ क्लबबाटै खेलेका उनले ए डिभिजन क्लब नेपाल एपीएफ फुटबल क्लबको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै घरेलु फुटबलमा फर्किएका थिए।

आफ्नो समयका सफल खेलाडी रहेका थापा झण्डै ५ वर्षको अन्तरालपछि गत वर्ष प्रशिक्षणमा फर्केका थिए। उनले प्रशिक्षणमा गत वर्ष एपीएफ फुटबल क्लबले ए डिभिजन लिग खेलेको थियो। सुरुवाती ३ खेल गुमाएपछि टोली दबाबमा पर्दा पनि थापा भने पुनरागमन गर्नेमा विश्वस्त थिए। अन्ततः टोलीले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो। 

खेलाडी जीवनमा क्रिएटिभ मिडफिल्डर रहेका थापा नेतृत्वदायी भूमिकामा पनि सफल थिए। २०६१ सालमा उनकै कप्तानीमा मनाङ मस्र्याङ्दीले सहिद स्मारक ए डिभिजन लिगसहित देशका प्रतिष्ठित ५ वटा उपाधि जितेको थियो। राष्ट्रिय टोलीबाट पनि उनले केही समय खेले। 

मनाङ छाडेपछि सशस्त्र प्रहरी बलमा निरीक्षक बनेका थापाले केही वर्ष एपीएफको फुटबल टोलीको कप्तानी पनि गरे। लिगकै बीचमा भएको आहा रारा गोल्ड कपमा थापाले पहिलो पटक टोलीलाई च्याम्पियन बनाएका थिए। 

२०६३ देखि २०७१ सम्म एपीएफको कप्तानी गरेका उनी महिला राष्ट्रिय टोलीको प्रशिक्षक रहेकै अवस्थामा युरोपेली फुटबल महासंघ (यूईएफए) ले सञ्चालन गरेको फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको तीन वर्षे कोर्सका लागि छनोट भएका थिए। सन् २०१७ देखि २०१९ सम्मको त्यो कोर्सका लागि त्यति बेला छनोट हुने थापा एसियाका एक्लो थिए। एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक थापाले महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि एपीएफमा निरन्तरता दिने छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .