ad ad

खेल


विश्वकप फुटबल हेर्न थप ६ सय शुल्क तिर्नुपर्ने

विश्वकप फुटबल हेर्न थप ६ सय शुल्क तिर्नुपर्ने

दीपक भट्ट
असोज ३०, २०७९ आइतबार १८:४१, काठमाडौँ

विश्वकप फुटबल सके ग्राउन्डमै गएर नसके टेलिभिजनमा नै हेर्न रुचाइन्छ। 

यस वर्षको फिफा विश्वकप फुटबल आगामी महिनादेखि कतारमा सुरु हुँदै छ। 

यसअन्तर्गत हुने खेलहरु नेपाली टेलिभिजनमा पनि प्रसारण गरिने तयारी भइरहेको छ। 

विगतमा पनि नेपाली टेलिभिजनहरुबाट खेलको प्रत्यक्ष प्रसारण हुने गरेको थियो। 

तर यो वर्षको प्रसारण केही महँगो हुने निश्चित भएको छ। यो वर्ष विश्व फुटबल महासंघ (फिफा) ले केही यससम्बन्धी नियम परिवर्तन गरेकोले नेपालमा प्रसारणको केही कठिनाइ समेत भएको छ। 

सब्सक्रिप्सन लिनुपर्ने नयाँ व्यवस्थासँगै नेपालमा उपभोक्ताले खेल हेर्न अतिरिक्त शुल्क पनि तिर्नुपर्ने भएको हो।   

नेपालमा आउँदै गरेको विश्वकप खेल प्रसारणको अधिकार यो वर्ष मिडिया हब प्रालिले पाएको छ। अब यसले कुन–कुन टेलिभिजन च्यानलमा प्रसारण गर्न दिने वा नदिने सर्वाधिकार यही कम्पनीसँग छ। 

यो कम्पनीले दुई टेलिभिजनलाई प्रसारण गर्न दिने वा एक टेलिभिजनले मात्रै प्रसारण गर्ने गरी काम अघि बढाएको जनाएको छ। तर त्यसको आधिकारिक निर्णय हुन बाँकी रहेको बताएको छ। 

मिडिया हबले विश्व फुटबल महासंघसँग प्रसारण अधिकार लिँदा ‘टेरिटरी लक’ हुने प्रावधानको समेत अधिकार लिएको छ। जुन फिफाले यो वर्षदेखि लिएको नीतिअनुसार नै भएको हो। 

अर्थात् विश्वको कुनै पनि देशको च्यानल नेपाली केबल नेटवर्कमार्फत आउँछ भने त्यसमा विश्वकप प्रसारण हुँदैन। यसले विदेशी च्यानलबाट विश्वकप नदेखिने र नेपाली च्यानलले नेपाली भूमिमा मिडिया हबले अनुमति दिएबाहेकका टेलिभिजन च्यानलमा प्रसारण हुँदैन। 

मिडिया हबले अहिलेसम्म ४० करोड रुपैयाँ खर्च भएको बताएको छ। उक्त पैसा विज्ञापनबाट नउठ्ने भएपछि टेलिभिजन ग्राहकसँग पैसा लिने तयारी भइरहेको मिडिया हबको दाबी छ। 

कति पैसा लिने विषयमा मिडिया हब र केवल व्यवसायीबीच छलफल भइरहेको छ। मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले अहिले ५ सय ९९ सय रुपैयाँ थप शुल्क ग्राहकसँग लिनेबारे छलफल भएको जानकारी दिए। यो निर्णय एक/दुई दिनमा हुने उनको भनाइ छ।

उनले भने, ‘अहिलेसम्मको छलफलमा प्रतिसेटअप बक्स ५ सय ९९ सय रुपैयाँ अतिरिक्त शुल्क ग्राहकसँग लिने भन्ने छलफल भएको छ। त्यसमा केबल व्यवसायी तथा अन्य टेलिभिजन नेटवर्कहरु सहमत देखिएका छन्।’ 

मिडिया हबका अनुसार यो वर्षको एक्सक्लुसिभ अधिकारको सबै गरेर ४० करोड खर्च भएको छ। 

त्यसमा १२ करोड रुपैयाँ नेपालको विज्ञापनबाट आउने देखिएको छ। बाँकी रकम टेलिभिजनको उपभोक्ता र नेट प्रणालीबाट उठाउने तयारी मिडिया हबले गरेको छ। 

अब टेलिभजन उपभोक्ताले अहिले तिरिरहेको शुल्क थप गर्नुपर्ने गरी केवल च्यानलले थप ६ सय रुपैयाँ उपभोक्तासँग माग गर्नेछन्। 

थप पैसा नतिरे विश्वकप आउने समयमा उक्त च्यानल बन्द हुनेछ। सेटअप बक्स अनुसार केवल व्यवसायीहरुले उपभोक्ताहरुबाट पैसा उठाउनेछ। 

एनसेल र एनटीसी ओटीटीबाट पनि विश्व कप हेर्न मिल्ने गरी मिडिया हबले व्यवस्थापन गर्न लागेको जनाएको छ। त्यसको लागि एनसेल वा एनटीसीमध्ये एक मिडिया हबले छान्नेछ। 

त्यसको लागि अहिले मिडियाहबले छलफल सुरु गरिसकेको छ। जसमार्फत अनलाइनबाट विश्वकप हेर्न पाउने व्यवस्था गरिनेछ। त्यसको लागि टेलिकम्युनिकेसन कम्पनीले पैसा बुझाउनुपर्नेछ। 

अहिले नेपालका हिमालयन टेलिभिजन र कान्तिपुर टेलिभिजनले खेल प्रसारणको तयारी गरिरहेका छन्। 

स्रोतका अनुसार उनीहरुले अहिले मिडिया हबसँग प्रसारणको छलफल गरिरहेका छन्। तर यी दुवै टेलिभिजनबाट प्रसारण हुने वा कुनै एकलाई लिनेबारे निर्णय भने भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .