ad ad

खेल


सय मिटर माथि पुगेपछि जब उनको ग्लाइडर खुलेन...

सय मिटर माथि पुगेपछि जब उनको ग्लाइडर खुलेन...

लक्ष्मी जि.सी
कात्तिक १, २०७९ मंगलबार ९:५९, पाेखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ स्पर्धामा मगंलबारसम्म पदक विजेताको छिनोफानो भइसकेको छ। तर आइतबार भएको क्रसकन्ट्री इभेन्टका प्रतिस्पर्धी निसिम थापाको मृत्यु भएपछि अहिले प्याराग्लाइडिङका सबै इभेन्ट रोकिएको छ। 

निसिमको सोमबार अन्त्येष्टि गरिएको छ। निसिम यो स्पर्धामा पदकका दाबेदार खेलाडी थिए। यसअघि उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सोही इभेन्टमा रजत पदक जितेका थिए। 

त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले रजत जित्दा यो पटक स्वर्ण जित्ने सपना देखेका थिए। तर आइतबारको दुर्घटनापछि उनको यो सपना सधैँका लागि अधुरो रह्यो। जीवनमा अनेक संघर्ष गर्दै दशकयता पोखराको आकाशमा हावासँग खेलिरहेका उनी अब फर्केर आउने छैनन्। 

उनको सोमबार अन्त्येष्टि गरिएको छ। उनको शवयात्रामा बुवा प्रकाश थापा फुङग उडेको अनुहार लिएर हिँडिरहेका थिए। आमा सावित्री मोक्तानको बिलौना भने आइतबारदेखि उस्तै छ। बौद्ध अर्घौँ सदनमा लामाले मृत्यु–संस्कार पाठ पढ्दै गर्दा छोरा चुम्न पुगेकी मोक्तानले भगवानलाई पुकार्दै थिइन, ‘तिमीले मेरो प्रार्थना एक सेकेन्ड सुनेनौ, तिमीले सुन्नुपर्थ्याे ....।’ निमिसको अन्तिम संस्कारसँगै उनका सपना पनि हावामा बिलाएर गए। 

निमिस परिवारका एक्ला सन्तान थिए। आइतबारको दुर्घटनाले आमा–बुवाले एउटा सन्तान मात्र गुमाएनन्, देशले एउटा खेलाडी पनि गुमायो।

..........

विसं २०७५ मा राष्ट्रिय खेलकुदमा आठौँ राष्टिय खेलकुदबाट प्याराग्लाइडिङ स्पर्धा समावेश गरिएको थियो। आठौँ खेलकुदमा निमिसले त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै क्रसकन्ट्री टिम इभेन्टमा रजत पदक जिते। त्यतिबेला नै उनले देखेको अर्को सपना थियो - स्वर्ण पदक। 

टेन्डमदेखि सोलो उडानमा पोख्त उनी आइतबार प्रतिस्पर्धाका लागि तयार थिए। क्रसकन्ट्री, क्रसकन्ट्री टिम र अक्युरेसी विधामा प्याराग्लाइडिङ खेल समावेश थियो। उनले क्रसकन्ट्रीतर्फको उडानका लागि ग्लाइडर तयार गरे। अनुभवी निमिस स्वर्ण पदकको सपना बुन्दै पोखरेली आकाशमा उडान भर्न थाले। निसिमले सराङकोटको डाँडाबाट धर्ती छाडे, उनी करिब १०० मिटर माथि पुगे। उनको ग्लाइडर खुलेन। आकाशमा उडेको क्षणभरमै थापा जमिनमा बजारिन पुगे। 

गण्डकी प्रदेशका प्रशिक्षक तथा प्रत्यक्षदर्शी योगेश भट्टराई भन्छन्, ‘हामीले टाक्स बनाएर भ्याएका थियौँ, टेक अफ समय साढे ११ देखि साढे १२ बजेसम्म थियो। उसले टेकअफ गरेको २/३ मिनेटमा घुम्दाघुम्दै हावा वा प्राविधिक कारणले कोल्याप्स हुन पुग्यो। सजिलो गरर बुझ्दा ग्लाइडर खुम्चिएको भनिन्छ। उसले खुम्चिएको ग्लाइडरलाई रिकभर गर्ने समय र डिस्टेन्स एकदम कम भयो। अनि अटो रोटेसन भएर जमिनमा आएर बजारिन पुग्यो। 

दुर्घटनालगत्तै उनलाई मेट्रोसिटी अस्पताल ल्याइयो। उनलाई अस्पताल ल्याउने बेलामा बाटोमै अन्तिम अन्तिम अवस्थामा थिए। अस्पताल आएपछि डाक्टरले मृत घोषणा गरे। 

थापा प्याराग्लाइडिङ खेलतर्फ आइतबारको इभेन्टमा सुरुमा उडेका थिए। उनलाई रेफ्री सुरेन गुरुङले आकाशबाटै हेर्दै थिए। प्रतियोगिता सुरु गर्नुअघि आवश्यक तयारी पूरा भएपछि हावाको चाप र मौसमका अवस्था बुझ्न सबैभन्दा पहिला रेफ्री सुरेन प्याराग्लाइडिङमा उडे। उनले नै हावाको चाप नर्मल भएपछि थापालाई उडान अनुमति दिएका थिए।

तर, आइतबारको दिन सधैँ उडान भर्ने पोखरेली आकाश उनका लागि अनुकूल भइदिएन। 

निमिसले नेपालमा मात्र हैन भारत, इन्डोनेसिया, कोरिया लगायतका देशमा पनि प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिइसकेका थिए। 

पोखरामा व्यवसायिक प्याराग्लाइडिङ गरिरहेका निसिमले विभिन्न प्रतिस्पर्धामा भाग लिएका थिए। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ उडाउन नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति नलिएको पाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्याराग्लाइडिङ उडाउन प्राधिकरणसँग अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ। तर राखेपले प्राधिकरणका कुनै पनि कार्यालयबाट अनुमति नलिएको नागरिक उड्यन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताए। 

यता, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य अन्जन धमलाले नेपाल सरकारकै कार्यक्रम भएकाले अनुमति नलिएको प्रतिक्रिया दिए। 

............

गोरखाको पालुङटारमा जन्मिएका थापा एक्ला सन्तान हुन्। निमिसका बुवा पोखरा र आमा काठमाडौंमा बस्थे। काठमाडौँमा रहेकी निसिमका आमालाई नेपाली सेनाले हेलिकप्टरबाट पोखरा ल्यायो। पोखरा आएर मेट्रोसिटी अस्पतालमा रहेको छोराको शव उनले हेर्न सकिनन्। सकिन् त केवल रुन र भगवान पुकार्न...।

निसमलाई त्यहाँबाट पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगियो। बुबा सम्हालिँदै थिए, आमाले जसरी भए पनि अन्तिमपटक छोराको मुख हेर्ने भनेर रोइरहँदा अस्पताल परिसर नै भावविह्वल बन्न पुग्यो।

पोस्टमार्टम भवनभित्र राखिएको कोल्ड स्टोर्सबाट थापाको मृत शरीर देखाइयो। त्यसलाई अँगाल्दै आमाले भनिन्, ‘छोरा भनेको मान्थ्यौ, तर भगवानले एक सेकेन्ड सुनेनन्, भगवानले सुन्नुपर्थ्याे ...।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .