खेल


पीएसजी अध्यक्ष भन्छन् : मेस्सीसँग अब छलफल गर्छौं

पीएसजी अध्यक्ष भन्छन् : मेस्सीसँग अब छलफल गर्छौं

नेपालखबर
पुस ४, २०७९ सोमबार १९:३, काठमाडौँ

फ्रेन्च क्लव पीएसजीका अध्यक्ष अल खेलाइफीले मेस्सीसँग सम्झौता नवीकरण गर्ने बारेमा अब छलफल गर्ने बताएका छन्।

विश्वकप फुटबलको फाइनल पछि सञ्चारमाध्यमसँग कुरा गर्दै खेलाइफीले भने मेस्सीलाई क्लबले राख्न चाहने बताए। एम्बाप्पे र मेस्सीलाई क्लबले गुमाउन नचाहने उनले प्रस्ट पारे।

‘अवश्य पनि हामी लियोनल मेस्सी र एमबाप्पे दुवैलाई राख्न चाहन्छौं। मेस्सी विश्वकपका उत्कृष्ट खेलाडी र एम्बाप्पे उत्कृष्ठ गोलकर्ता हुन्’, खेलाइफीले भने। 

विश्वकपको फाइनलमा ह्याट्रिक गर्दै एम्बाप्पेले गोल्डेन बुट जिते। त्यो भन्दा एक गोल कम गरेका मेस्सीले राष्ट्रलाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाए। आफूले दोस्रो पटक गोल्डेन बल जिते। विश्वकपमा मेस्सी दोस्रो पटक सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।  

खेलाइफीले भने कि, ‘म मेस्सीको बारेमा धेरै बोल्दिन किनकि हामीसँग विश्वकप पछि छलफल गर्ने योजना छ।’ 

गएको सिजन स्पेनिस क्लब बार्सिलोना छाडेर पीएसजी पुगेका लियोनल मेस्सीको यो सिजनपछि सम्झौता सकिँदैछ। सम्झौता नवीकरण नभएमा उनी अन्य क्लबमा आवद्ध हुन खुल्ला हुनेछन्। 

तर, त्यसअघि नै पीएसजीले मेस्सीसँग सम्झौता नवीकरण गर्न चाहेको छ। यस्तै पूर्व क्लब बार्सिलोना पनि मेस्सीले फर्काउन इच्छुक छ।

खेलाइफीले विश्वकप जितेपछि मेस्सीलाई भेटेरै बधाई दिएका थिए।

दुई वर्षअघि आर्थिक संकटका कारण मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकेको बार्सिलोनाले पछिल्लो वर्ष खेलाडीमा ठूलो खर्च गरेको छ। 

बार्साले खेलाडी भित्र्याउने आफ्ना खेलाडी बिक्रि गर्यो भने क्लवको सम्पत्ति समेत विक्रि गरेको थियो। अहिले बार्सा मेस्सीलाई भित्र्याउन सक्ने अवस्थामा पुगेको छ। क्लव अध्यक्ष र प्रशिक्षकले मेस्सीलाई भित्र्याउन चाहेको बताउँदै आएका छन्। 

पीएसजीले भने एम्बाप्पेसँग सिजनको सुरुमै सम्झौता बढाइसकेको छ। उनले २०२५ सम्म पीएसजीमा सम्झौता गरेका छन्। 

यता ब्राजिलियन स्टार नेयमार पनि पीएसजीमा आवद्ध छन्। अहिले विश्वकै उत्कृट फरवार्ड पीएसजीमा एकसाथ खेलिरहेका छन्। 

पीएसजीका ३ सटार लिग १ मा गोल र असिस्ट दुवैमा अगाडि छन्। एम्बाप्पेले १२ र नेयमारले ११ गोल गर्दा मेस्सीले १० गोलमा असिस्ट गरेका छन्। नेयमारको असिस्ट ९ गोलमा छ। 

गत सिजन खराब अवस्थामा रहेका मेस्सी यो सिजन भने क्लबमा पनि उत्कृष्ठ प्रदर्शन गरिरहेका छन्। पीएसजीले च्याम्पियन्स लिगमा अन्तिम १६ मा बार्यन म्युनिखसँग खेल्नेछ। लिग १ मा शीर्षस्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .