ad ad

खेल


सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

नेपालखबर
माघ १२, २०७९ बिहिबार १७:४७, काठमाडौँ

१२ सातौँ वरीयताका दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता 'सूर्य नेपाल एनपीजीए म्याच प्ले'को उपाधि जित्न सफल भएका छन्।  

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा १३ औँ वरीयताका रमेश अधिकारीलाई ७-६ ले हराउँदै दिनेशले उपाधि जितेका हुन्।

उपाधिसँगै दिनेशले ६० हजार रुपैयाँ पनि प्राप्त गरे। उपविजेता रमेशले ४२ हजार रुयैयाँ पाए। 

सूर्य नेपाल गल्फ टुरमा पहिलो उपाधि जित्ने क्रममा दिनेशले पहिलो नौ होलको खेलमा ४ होलको अग्रता बनाए।

१८ होलको समाप्तिमा दिनेश आठ होलको फराकिलो अग्रता बनाउन सफल रहे।

खेलमा फर्किने संकेत देखाएका रमेशले १९औं, २०औं, २१औं र २२औं होल लगातार जित्दै दिनेशको अग्रता चार होलमा घटाए। 

दिनेशले २३औं होल जित्दा रमेशले २४औं र २५औं होल आफ्नो पक्षमा पार्दै अग्रतालाई तीन होलमा झारे।

तर २६औं र २७औं होल आफ्नो पक्षमा पार्दै दिनेशले ५ होलको अग्रता बनाए। यसपछि दिनेशले २९औं र ३०औं होल जित्दै ६ होल बाँकी रहँदा  सहज जितका साथ उपाधि जिते। 

प्रतियोगितामा आठौं वरियताका धन बहादुर थापा तेस्रो भए। १८ होलको प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि धनले प्ले–अफको पहिलो होलमा १०औं वरियताका भुवन कुमार रोक्कालाई पराजित गरे। तेश्रो भएका धनले ३२ हजार र भुवनले २४ हजार रुपैयाँ प्राप्त गरे।

क्वार्टरफाइनलमा पराजित नेपाल नम्बर एक प्रो शुक्रबहादुर राई, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो वरीयताका जयराम श्रेष्ठ र पाँचौ वरीयताका रवि खड्काले समान ११ हजार रुपैयाँ पाए। 

पहिलो चरणबाट बाहिरिएका टंक बहादुर कार्की, सञ्जोक मोक्तान, कृष्णमान राजबाहक, प्रदीपकुमार लामा, सञ्जय लामा, सूर्यप्रसाद शर्मा, बलभद्र राई र रामे मगरले समान ६ हजार पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .