ad ad

खेल


सात केन्द्रीय सदस्यले फेरि दोहोर्‍याए : क्यानलाई दुर्घटनाबाट जोगाउन नेतृत्वले राजनीनामा देऊ

सात केन्द्रीय सदस्यले फेरि दोहोर्‍याए : क्यानलाई दुर्घटनाबाट जोगाउन नेतृत्वले राजनीनामा देऊ

नेपालखबर
माघ १७, २०७९ मंगलबार १८:४३, काठमाडौँ

नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेपाल क्रिकेट संघ (क्यान) का ७ केन्द्रीय सदस्यले नृतत्वको पुनः राजीनामा माग गरेका छन्।

पोखरामा मंगलबार बोर्ड बैठक सुरु हुनुअघि निर्वाचित ५ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मनोनित गरि ७ जनाले कार्यसम्पादन समितिको राजीनामा माग गरेका हुन्।

दुई दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राजीनामा माग गरेका केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, सन्जय राज सिंह, करन महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले पुनः राजीनामा माग गरेका हुन्। 

उनीहरुले लिखित माग पत्र बुझाउँदै कार्यसम्पादन समिति र गभर्निङ काउन्सिल सदस्यहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने माग राखेका छन्। 

क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौता पश्चात गत महिना भएको नेपाल टी–२० लिगमा भएका विभिन्न अवान्छित गतिविधिबाट नेपाल क्रिकेटको बदनाम र संघको दुर्गती भएकोबारे क्यानका अध्यक्ष, कार्यबाहक सचिव र कोषाध्यक्षले पत्रकार सम्मेलनमार्फत गल्ती स्वीकार गरेको स्मरण गराएका छन्। 

केन्द्रीय सदस्यहरुले पत्रमा भनेका छन्, ‘कार्यसम्पादन समितिको बैठकबाट नै सम्पूर्ण निर्णय गरी बोर्डलाई जानकारी नगराई सम्पूर्ण कार्य गरेको हुँदा आज नेपाल क्रिकेट संघको ठूलो बद्नाम भई संघ नै दुर्घटनाको संघारमा पुग्न लागेको छ।’ 

काठमाडौंमा पत्रकार सम्मलेन गरी सार्वजनिक रुपमा बोर्ड बैठकमा असहमति र नोट अफ डिसेन्ट लेखेर विरोध गर्दा पनि बारम्बार गल्तीमाथी गल्ती गरि नेपाल क्रिकेटको राष्ट्रिय र अन्तर्राष्ट्रिय बदनाम गरि क्यान विघटन र निलम्बनको खतरा भइरहेको उनीहरुले पत्रमा उल्लेख गरेका छन्। 

‘त्यसकारण हामीहरुले कार्यसम्पादन समिति र गभर्निङ सदस्यहरुको राजीनामा मागिरहेका छौं’ पत्रमा भनिएको छ। 

राष्ट्रिय खेलकुद परिषदले गठन गरेको छानबिन समितिको प्रतिवेदनमा पनि क्यानले गल्ती गरेको राष्ट्रिय खेलकुद विकास खेलकुद ऐन २०७७ अनुसार क्यान विघटन गर्न समेत सिफारिस गरिसकेको पत्रमा स्मरण गराइएको छ। 

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको आरोपमा सीआईबीले दुई जना खेलाडीलाई पक्राउ गर्नुका साथै साझेदार कम्पनी सेभेन थ्रीनै त्यसमा संलग्न भएको सार्वजनिक गरिसकेको छ। यस्ता घटनाले क्यान निलम्बनको खतरा बढेकोले कार्यसम्पादन समिति र गभर्निङ काउन्सिल सदस्यहरुले राजीनामा दिनुपर्ने माग राखेका छन्। 

क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्का छन्।

यस्तै, नेपाल टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त विक्रम मल्लसँगै सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन अहलुवालिया रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .