ad ad

खेल


युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

ललित राजवंशीले लिए ५ विकेट
युएईविरुद्ध नेपालको शानदार जित, एक दिवसीय मान्यता पनि जोगायो

त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीको खुसी। तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
फागुन २८, २०७९ आइतबार १५:२७, काठमाडौँ

घरेलु मैदानमा आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाल्दै नेपालले आगामी ४ वर्षका लागि सोझै एक दिवसीय मान्यता जोगाएको छ। 

युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।

लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ। 

ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ। शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ। 

नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ। 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भयो। 

घरेलु मैदानमा हाबी बनेको नेपालले युएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले पाँच विकेट झारे। ७.५ ओभर बलिङ गरेका ललितले २ मेडन राख्दै २० रन खर्चे। 

सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १४ रन दिए। सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र गुलसन झाले एक एक विकेट आफ्नो नाममा गरे। 

युएईले छैटौं ओभरमा नै ४ विकेट गुमाएर दबाबमा आएको थियो। युएईका लागि आयान आफ्जल खानले २९ र अस्वन्त वान्तवाले १४ रन बनाए। कार्तिक मैयाप्पनले १५ बलमा ११ रन थपे। अनय ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भयो। 
पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रनको अवस्थामा थियो। 

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए।

३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे। युएईका रोहन मुस्तफाले २१.६ ओभरमा भिमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। 

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ अघि बढेको थियो।

कप्तान रोहित ३७.३ ओभरमा ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट हुन पुगे। रोहितले ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौ अर्धशतक पूरा गरेका थिए। 

आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। लामो सट खेल्ने धुनमा रहेका अरिफले ५२ बलमा ५ चौका हाने। 

सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए। 

दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने।   सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे। 

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु धरापमा परे। आशिफ शेख शून्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए। 

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .