खेल


विश्वकपमा भारतसँग लज्जास्पद हार भएपछि श्रीलंका क्रिकेट बोर्डका सचिव डि सिल्भाले दिए राजीनामा

विश्वकपमा भारतसँग लज्जास्पद हार भएपछि श्रीलंका क्रिकेट बोर्डका सचिव डि सिल्भाले दिए राजीनामा

रासस/एएफपी
कात्तिक १९, २०८० आइतबार १५:९, कोलम्बो

श्रीलंका क्रिकेटका एक शीर्ष अधिकारीले आइतबार पदबाट राजीनामा दिएका छन्। विश्व कपमा रेकर्ड हारपछि खेलमन्त्री रोशन रणसिङ्घेले क्रिकेट बोर्डविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै राजीनामा दिन भनेपछि ती अधिकारीले राजीनामा दिएका हुन्। 

श्रीलंका क्रिकेट बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले आफूले अस्ट्रेलियाबाट आफ्नो राजीनामा पठाएको बताए। उनलाई अस्ट्रेलियामा हृदयाघात भएको पत्ता लागेको थियो। 

गत साता विश्वकप आयोजक भारतसँग श्रीलंकाको तीन सय दुई रनको शर्मनाक हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा आक्रोश व्यक्त गर्दै श्रीलंका क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए। ‘तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ’, उनले भने। 

डि सिल्भाले अस्ट्रेलियामा नियमित मेडिकल जाँचका क्रममा आफूलाई हृदयाघात भएको थाहा भएको भन्दै बोर्डमा आफू निर्वाचित पदबाट राजीनामा दिने निर्णय गरेको बताए। उनले आफ्नो चिकित्सा अवस्था ‘स्पष्ट रूपमा क्रिकेट विवादसँग सम्बन्धित तनाव र चिन्ताका’ कारण भएको उल्लेख गर्दै परिवारले आफूलाई पदबाट राजीनामा दिन भनेको बताए। 

बिहीबार मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलंका एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो। यो विश्वकपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो। 

शनिबार मन्त्री रणसिङ्घेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का पूर्ण सदस्यहरूलाई पत्राचार गरेर उनीहरूको समझदारी र समर्थनका लागि आग्रह गरेका थिए। 

‘श्रीलङ्का खेलाडीहरूको अनुशासनको मुद्दा, व्यवस्थापन भ्रष्टाचार र म्याच फिक्सिङको आरोपमा श्रीलङ्का क्रिकेट घेरिएको छ’, पत्रमा रणसिङ्घेको भनाइ उद्धृत गर्दै श्रीलङ्काली मिडियाले बताएका छन्। 

आईसीसीले राजनीतिक हस्तक्षेप भएको भन्दै बोर्डमा भएको भ्रष्टाचारको छानबिन गर्न गत महिना नियुक्त गरिएको तीन सदस्यीय प्यानल फिर्ता लिन मन्त्रीलाई बाध्य पारेको थियो। 

भारतसँगको शर्मनाक हारको व्याख्या गर्न कोचिङ स्टाफलाई बोलाइएको बोर्ड स्रोतले बताएको छ। श्रीलङ्काले सन् १९९६ यता विश्व कप जित्न सकेको छैन। 

विश्वकप विजेता कप्तान अर्जुना रणतुङ्गाका भाइ एवं अर्का क्याबिनेट मन्त्री प्रसन्ना रणतुङ्गाले अगस्टमा संसद्लाई सन् १९९६ को जीत ‘हाम्रो क्रिकेटका लागि सबैभन्दा ठूलो अभिशाप भएको’ बताएका थिए। उनले भनेका थिए, “सन् १९९६ पछि क्रिकेट बोर्डमा पैसा आउन सुरु भयो र सँगै चोर्न चाहनेहरू पनि क्रिकेट बोर्डमा आए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .